![]()
Peoples News : तथ्यांकअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति डेंगुबाट संक्रमित भएका छन् । ढाका, १४ पुस । बंगलादेशमा सन् २०२५ मा एक लाख दुई हजार ५६२ जना डेंगुबाट संक्रमित भएका र ४१२ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्यांकअनुसार डिसेम्बरमा आठ हजार १६५ व्यक्ति डेंगुबाट संक्रमित भएका छन् । यो संख्या नोभेम्बर संक्रमित भएको संख्याको एक तिहाई मात्र हो । नोभेम्बरमा कुल २४ हजार ५३५ व्यक्तिमा डेंगु संक्रमण भएको थियो । महानिर्देशनालयकाअनुसार डेंगुका संक्रमितमध्ये डिसेम्बरमा ३०, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्युभएको थियो । बंगलादेशमा सन् २०२४ मा एक लाखभन्दा बढी व्यक्ति डेंगुबाट संक्रमित भएका थिएभने ५७५ जनाको मृत्युभएको थियो ।
बंगलादेशले सन् २०२३ मा डेंगुसँग सम्बन्धित एक हजार ७०५ जनाको मृत्यु भएको रेकर्डमा छ । यो बितेका तीन बर्षमा सबैभन्दा बढी वार्षिक मृत्यु संख्या हो । सामान्यतया बंगलादेशमा मनसुनको मौसममा लाग्ने रोग, डेंगु ज्वरो अहिले सामान्यतया जुन–सेप्टेम्बर अवधिभन्दा बढी समयसम्म फैलिरहेको पाइन्छ । डेंगु रोग एडिस एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान, अत्यधिक मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता र डाबर आउनेजस्ता लक्षणहरु निम्त्याउँछ । डेंगुको बढ्दो संख्यासँग लड्न बंगलादेशी स्वास्थ्य अधिकारीहरुले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्टगर्ने अभियान सञ्चालनगर्न उपायहरु कडा पारेका छन् । रासस, एएफपी