People’s News : युनेस्कोले खराब भौतिक अवस्थाको कारणले बुद्ध जन्मस्थलका रूपमा प्रतिष्ठित लुम्बिनीको सम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्न सकिने भनेर दिएको चेतावनीको समयसीमा सकिन केही सातामात्र बाँकि रहँदा नेपाल सरकारले नयाँ कार्ययोजना अनुरूप अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पार्न काम भइरहेको बताएको छ । “हामीले मायादेवी मन्दिरमा पानी चुहिने समस्या, अशोक स्तम्भको व्यवस्थापन तथा प्रार्थना कक्षका सम्बन्धमा उनीहरूको गुनासो सम्बोधन हुने गरी विज्ञलाई परिचालन गरेर अवधारणा बनाउँदैछौँ। यसबाट हामीले खतराको सूचीबाट जोगिने आशा गरेका छौँ,” लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताएका छन् । मायादेवी मन्दिरको अवस्था, वरपरको बगैँचा अनि समग्र लुम्बिनी क्षेत्रको विकास र संरक्षणमा उक्त कार्ययोजनाले सुधार ल्याउने संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले विश्वास व्यक्त गरेका छन् ।
गत जुलाईमा भारतको दिल्लीमा भएको विश्व सम्पदा समितिको बैठकमा लुम्बिनीलाई खतरामा परेको विश्व सम्पदाको सूचीमा राख्ने प्रस्ताव गरिएको थियो । तर त्यसलाई तत्कालका लागि थाँती राख्दै संयुक्त राष्ट्रसङ्घ शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन युनेस्कोले नेपाल सरकारलाई केही महिनाको समयसीमा दिएपछि बुद्धको जन्मस्थलको दुर्दशाबारे अन्तर्राष्ट्रिय ध्यान तानिएको हो । सन् २०२५ को फेब्रुअरीसम्ममा नेपालले चित्त बुझ्दो सम्बोधन गर्न नसके के होला भन्ने प्रश्न अहिले टड्कारो बनेको छ ।
‘खै अध्यात्मिक वातावरण ? : “बुद्धको जन्मस्थल – मायादेवी मन्दिरभित्र कुनै आध्यात्मिक वातावरण नै छैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको वर्तमान अवस्था चित्रण गर्दै बौद्ध भिक्षु सागर धम्मले व्यक्त गरेको उक्त भनाइ कठोर सुनिन्छ । ‘मायादेवी मन्दिर र वरपरको पवित्र बगैंचाको अवस्था डरलाग्दो गरी बिग्रँदै गएकाले २०२५ सम्ममा युनेस्कोले त्यसलाई खतरामा परेको विश्व सम्पदा सूचीमा राख्ने’ सम्भावनाका माझ उनको सो भनाइ आएको छ । काठको साँघुरो पैदल मार्ग, उकुसमुकुसपूर्ण वातावरण, पानी चुहावट र पानी जम्ने क्रम, प्राचीन इँटामा लागेका हरियो ढुसी – बुद्ध जन्मस्थलको गर्भगृहको यस्तो अवस्थाबारे युनेस्कोको विश्व सम्पदा समितिले आक्रोश पोखेको छ । सो मन्दिरमा ‘मार्कर स्टोन’ – बुद्ध जन्मेका खास स्थान जनाउने सङ्केत ढुङ्गा – र एक प्राचीन मन्दिरको पुरातात्विक अवशेषहरू छन् ।

तस्बिर स्रोत,LUMBINI DEV TRUST
मन्दिर भित्रको अवस्था हेर्नुस् त! केही मिनेटभन्दा बढी समय बिताउन नसक्दा उपासकहरू निराश भएर बाहिर निस्कनु पर्छ
भक्तजन र आगन्तुकहरूलाई भित्री मन्दिर परिसरमा जान अनुमति छ र विशेष अवसरहरूमा त्यहाँ एकै दिन हजारौँ आगन्तुकहरूको पाइला पर्छ । अघिपछि पनि दैनिक सयौँको सङ्ख्यामा मानिसहरू घुम्न आउने गरेका छन् । भारतबाट आएका पर्यटक प्रशान्तकुमार गौतमले सम्पदाको उचित व्यवस्थापन नभएको भन्दै चिन्ता व्यक्त गरे । “यो एउटा प्राचीन मन्दिर हो । यसलाई अझ सुन्दर बनाउन सकिन्थ्यो,” छिमेकी भारतको उत्तर प्रदेश राज्यको बस्तीका गौतमले भने । अर्का भारतीय पर्यटक सन्त कबीरनगरका प्रभाकर रावले आगन्तुकहरूलाई उपयोगी नक्सा र जानकारी उपलब्ध गराउन अधिकारीहरूलाई आग्रह गरे । उनले भने, “हामी त केही सूचना नपाइ एक ठाउँबाट अर्को ठाउँमा भौँतारिरहेका छौँ । जानकारी दिइएको भए सबैलाई राम्रो हुने थियो ।
पवित्र स्थलको दुर्गति : मायादेवी मन्दिरभित्र झन्डै २६०० वर्ष पहिले (२०२४ मा २५६८ औं बुद्धजयन्ती मनाइएको छ) भगवान बुद्ध को जन्म भएको यकीन स्थान सङ्केत गर्ने ‘मार्कर स्टोन’ छ; राजकुमार सिद्धार्थ गौतम – जो पछि गौतम बुद्ध बने – को जन्मको चित्रण गर्ने नेटिभिटी मूर्ति; र पुरातात्विक अवशेषहरू जनाउने प्राचीन इँट्टा तथा ढुङ्गाहरू छन् । जब सुरुमा उक्त स्थानको भ्रमण गरेको थियो, त्यतिखेर मुख्य मन्दिरको बाहिर बगैँचामा टन्न पानी जमेको थियो र उचित निकासको अभाव स्पष्ट देखिन्थ्यो । मन्दिरभित्र पुरानो संरचना बिगार्ने गरी पानी पसेको थियो र प्राचीन इँट्टामा हरिया ढुसी थिए । एउटा प्रवेशद्वार गेट नम्बर ५ अगाडि अनि लुम्बिनीको परिसरभित्रै दुर्गन्धित फोहोरको थुप्रोले आगन्तुकहरूलाई स्वागत गरिरहेको पनि देखिन्थ्यो । ‘भगवान बुद्धको जन्मस्थललाई खतरामा रहेको विश्व सम्पदाको सूचीमा राखिने चेतावनी आउनु नै लज्जास्पद कुरा हो । यसले अधिकारीहरूलाई तत्काल ठोस कारबाही गर्न उत्प्रेरित गर्नुपर्छ,” भिक्षु शेर्पाले भने ।



प्रमुख चिन्ताहरू के हुन् ? : युनेस्कोले चारवटा प्रमुख चिन्ताहरू अघि सारेको छ – मायादेवी मन्दिरको अवस्था; वरपरको पवित्र बगैँचाको अवस्था; अव्यवस्थित पूर्वाधार परियोजनाहरू; र परिस्थिति सम्बोधन गर्न अधिकारीहरूको पर्याप्त क्षमताको अभाव । उसले ‘मायादेवी मन्दिर क्षेत्र र वरपर रहेका उच्च जलस्तर र मन्दिरभित्र पानी पसेका कारण सिर्जना भएको ओसपूर्ण वातावरणबाट (पुरातात्विक) अवशेषमा क्षति पुग्ने सम्भावना रहेको’ चिन्ता व्यक्त गरेको छ । युनेस्कोको लुम्बिनीमा भएका यसअघिका अनुगमनहरूले पनि ‘(जलस्तर)का कारण, विशेषगरी मार्कर स्टोन वरपर सधैँ भिजिरहने अवस्था आइपरेको र ढुसीका कारण (इँट्टा/ढुङ्गा) हरियो देखिने गरेका’ उल्लेख गरेका छन् ।

लुम्बिनी किन यति महत्त्वपूर्ण छ ? : जुलाई महिनाको अन्तिमतिर भएको युनेस्कोको बैठकमा लुम्बिनीलाई खतरामा रहेको विश्व सम्पदाको सूचीमा राख्ने प्रस्ताव पेश हुँदा एकजना इटालियन प्रतिनिधिले असाधारण टिप्पणी गरेका थिए । यो सामान्य (सम्पदा) होइन । बरु विश्वभरिका बौद्ध वा गैर-बौद्धहरूका लागि यो महत्त्वपूर्ण, अति विशेष छ । त्यसैले यो स्थल जोखिममा रहेका सम्पदा क्षेत्रको सूचीमा अङ्कित भएमा त्यसले विश्वभर नै गलत सन्देश फैलन सक्छ,” उनले भनेका थिए । उनले नेपाललाई समस्या सम्बोधन गर्न थप समय दिनुपर्ने तर्क गरेका थिए । त्यसपछि विश्व सम्पदा समितिका २१ सदस्य राष्ट्रमध्ये २ देशले मात्रै लुम्बिनीलाई खतराको सूचीमा राख्ने विषयको समर्थन गरेका थिए । पछि सम्पदा समितिले संरक्षणको अवस्थाबारे अद्यावधिक प्रतिवेदन उपलब्ध गराउन अर्को वर्षको सुरुसम्म नेपाललाई अनुमति दिने प्रस्ताव पारित गरेको थियो । सोसँगै लुम्बिनीको विश्वव्यापी मान्यता र नेपालको पर्यटकीय सम्भावनालाई ध्यानमा राखि अन्तर्राष्ट्रिय बदनामी हुनबाट जोगिन नेपाली अधिकारीहरूलाई छोटो समय मिलेको छ ।

खतराको सूचीमा परे के हुन्छ ? : बसन्त बिडारी लुम्बिनीको पुरातत्वसम्बन्धी विद्वान हुन् जो विगत चार दशकदेखि यसको संरक्षण र विकास प्रयासमा संलग्न छन् । उनी हाल लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्यापन पनि गर्छन् । लुम्बिनीलाई खतरामा परेको सम्पदाको सूचीमा राख्ने प्रयास भइरहेको कुरा कोट्याउँदा उनका आँखा रसाए । “मसँग मेरो भावना वर्णन गर्न कुनै शब्द छैन । त्यो (खतराको सूचीमा पर्नु) असह्य हुनेछ,’ उनले भने । उनी लामो समयसम्म लुम्बिनीमा प्रमुख पुरातत्वविद् थिए । सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राख्ने क्रममा पनि उनी संलग्न थिए । “हालको मायादेवी मन्दिर निर्माण गर्दा हामीले युनेस्कोसँग निकट समन्वयमा काम गरेका थियौँ। विश्व सम्पदाको रूपमा सूचीकृत हुँदा मन्दिर पहिले नै बनिसकेको थियो । उनले पानी जम्न नदिन मन्दिरभित्र र बाहिर पानीको उचित निकासका लागि पाइप जडान गरिएको पनि स्मरण गरे ।

मलाई आशा छ कि यस्तो (लुम्बिनी खतराको सूचीमा पर्ने काम) नहोस्। यो सबै बौद्धमार्गीहरूलाई पीडादायी हुनेछ
स्थानीय जीप चालक मनोज चौधरी पनि उत्तिकै चिन्तित छन् । “लुम्बिनीमा पर्यटन वृद्धि भयो भने हामी सबैलाई फाइदा हुन्छ । तर यहाँको अव्यवस्थाप्रति म आफैँ पनि आक्रोशित छु । हेर्नुस न, मूल गेट अगाडि थुप्रिएका फोहोर!” उनले भने । स्थानीय भोजनालय चलाउने जीवनाथ बस्यालले थपे, “यो विश्व सम्पदा क्षेत्र भएकाले यहाँको विकास अन्यत्रको विकास जस्तो हुनु हुँदैन । विशेष ध्यान पुर्याएर संरचनाहरू बनाइनु पर्छ । अधिकारीहरू सचेत हुनुपर्छ । उनको सङ्केत युनेस्कोले पनि असहज मानेको मुख्य क्षेत्र नजिकै निर्मित एक विशाल हल तर्फ पनि थियो । (संयुक्त राष्ट्रसङ्घद्वारा स्वीकृत) गुरुयोजनाको डिजाइन उल्लङ्घन हुन सक्ने संरचनाहरू निर्माण गर्दा अधिकारीहरूले युनेस्कोसँग परामर्श गर्नुपर्थ्यो र उनीहरूलाई विश्वासमा लिन सक्नुपर्थ्यो । युनेस्कोद्वारा सम्पदाको प्रभाव मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउनुको कारण पनि यही हो,” विडारीले भने ।
त्यस्तै चिन्ता नेपालबाहिरका बौद्ध धर्मका विज्ञहरूले पनि गर्न थालेका छन् । श्रीलङ्कास्थित बौद्ध तथा पाली विश्वविद्यालयका प्राध्यापक चन्द्रानी मुनासिङ्घेले भने, – “संसारभरिका मानिसहरूले लुम्बिनीको महत्त्व र यस विश्व सम्पदाले बेहोरिरहेका चुनौतीबारे मनन गर्नु पर्छ । अनि तत्काल आवश्यक कार्य गर्नु पर्छ ताकि विश्वको सबभन्दा महत्त्वपूर्ण पुरातात्विक तथा धार्मिक स्थानमध्येको एक लुम्बिनीको संरक्षण सुनिश्चित् होस् ।

के भन्छ नेपाल सरकार ? : नेपालका संस्कृति मन्त्रीले सरकारले लुम्बिनीलाई खतराको सूचीमा पर्नबाट जोगाउन सकिने विश्वास व्यक्त गरे । हामीले युनेस्कोले उठाएका प्रत्येक सरोकारलाई सम्बोधन गर्न कार्ययोजना तयार गर्न थालिसकेका छौँ । हामी यसलाई (खतराको सूचीमा) पर्न दिने छैनौँ,” नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भने । उनले मायादेवी मन्दिरभित्र पानी पस्ने, बाहिर बगैँचामा पानी जम्ने र ढुसी लाग्ने समस्यालाई सम्बोधन गर्ने कार्य उक्त कार्ययोजना समेटिने बताए । लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यका अनुसार केही महिना अगाडि पनि युनेस्कोका विज्ञहरूलाई बोलाएर हरियो ढुसीको रासायनिक उपचार थालिएको छ । हाल, हामीले मन्दिरभित्रबाट एअर कन्डिसन हटाएका छौं किनभने विज्ञहरूले यसले पनि ओसिलोपनमा योगदान पुर्याइरहेको बताए । हामी मन्दिरभित्र हावा आउजाउ हुने गरी भेन्टिलेसन सुधार गर्न र पानी बाहिर निकासीको दिगो तरिका खोज्ने काम गर्नेछौँ,” शाक्यले भने । मूल क्षेत्रभित्र जथाभावी निर्माण र अव्यवस्थाबारे सोधिएको प्रश्नमा मन्त्री पाण्डेले पाँच हजार मानिस अट्ने प्रार्थना हललाई वरपरको शान्तिपूर्ण वातावरणमा प्रतिकूल असर नपर्ने गरी सञ्चालन गर्ने गरी कार्ययोजनामा निर्देशनहरू समेटिने बताए । राष्ट्रको प्रतिष्ठासँग जोडिएको हुनाले हामी ती सबै सरोकारलाई सम्बोधन गर्न प्रतिबद्ध छौँ,” उनले भने ।
तर हाल देखाइएका तदारुकता पर्याप्त नहुन सक्ने डर पुरातत्त्व विभागका पूर्व प्रमुख कोषप्रसाद आचार्यलाई छ । विगतमा लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयासमा संलग्न आचार्य भन्छन्, “पछिल्ला वर्षहरूमा यो क्षेत्रको संरक्षण र सम्बर्द्धनका निम्ति हामीले पर्याप्त संवेदनशीलता तथा गम्भीरता देखाउन सकेनौँ । यो अव्यवस्थाका निम्ति राजनीति पनि उत्तिकै जिम्मेवार रहेको ठान्छन् पूर्व संस्कृति मन्त्री एवं लुम्बिनी क्षेत्रका राजनीतिज्ञ दीपकुमार उपाध्याय । खास विशेषज्ञहरूलाई लुम्बिनी विकास कोषको जिम्मेवारी दिनुको साटो राजनीतिक नियुक्ती गर्ने चलन छ । त्यस्ता व्यक्ति सम्पदा संरक्षणमा पोख्त नहुन सक्छन्,” उनले भने ।

तस्बिर स्रोत,LUMBINI DEV TRUST