७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिका जरिवाना रकम तिर्नुपर्नेछ ।
नागरिकमा बढ्दो निराशा र अराजकताका कारण विधिको शासन र कानुनी राज्य कमजोर बनिरहेको निष्कर्ष सहित एमालेले यो सभा गर्नुपरेको बताएको थियो ।
तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सभा मार्फत् नागरिकमा आशा जगाउने नभएर प्रष्टोक्ति दिन समय खर्चिए । प्रधानमन्त्री ओलीको मुख्य जोड यो सरकारको स्थायित्वप्रति विश्वास दिलाउने थियो ।
२०८४ सालको मंसिरसम्म अहिलेको समीकरण रहन्छ, सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ’ प्रधानमन्त्रीले भनेका थिए । तर, यो सरकारको विपक्षमा रहनेहरूले सरकार ढल्ने भाका सारिरहेको बताए ।
सरकार बन्दै बन्दैन, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कट्यो । … तिहार देख्दैन, त्यो पनि देख्यो । ..अब भाका राख्दैछन्, फरवरीको’ प्रधानमन्त्री ओलीले भनेका थिए ।
आफू नेतृत्वको वर्तमान सरकार र एमालेविरुद्ध कसैले केही गर्न नसक्ने प्रधानमन्त्रीले विश्वास दिलाए । ‘नेकपा एमालेलाई कसैले हल्लाउन सक्ने छैन, अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्ने छैन, अहिलेको सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,’ प्रधानमन्त्रीले भने ।
सरकार ढल्दैन भन्ने विश्वास दिलाउन प्रधानमन्त्री ओलीले विदेश भ्रमणको प्रशंग समेत निकालेका थिए । ‘केहीले के–के न व्यवसाय भेटाए जस्तो पहिले कता जानुपर्ने, कता गयो, अपरिपक्क भयो भने,’ प्रधानमन्त्रीले भने, ‘कस्तो हुन्छ परिपक्क भन्या ? कता जानुपर्ने ? .. यो वाहियात, कायर कुराहरु हुन् ।’
सभा सकेर केपी ओली हिडेपछि काठमाण्डौ महानगरले सडक खुल्ला पेटि र सार्बजनिक स्थलमा फोहर गरेको भन्दै रू एक लाख को जरिबाना गराएको पत्र एमाले कार्यालयको नाममा पठाएको थियो भने एमाले कार्यके्ताले राति अबेर सम्म लगाएर कार्यक्रम स्थलको फोहर संकलन गरेर लगेका थिए।