![]()
Peoples News : पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन् । यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्यो- गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन् । ओपिलको भनाइ छ– सन् २०२४ को सुरुवातमा औषधि पसलहरूमा त्यो औषधि उपलब्ध हुनेछ । अमेरिकासमेत संसारका १०० देशमा औषधि पसलमा गर्भनिरोधक औषधि सिधै किन्न पाइन्छ । यस्ता देशका सूचीमा दक्षिण अमेरिका, चीन, ब्रिटेन र भारत पनि छन् । अमेरिकामा महिला विशेषज्ञहरू भन्छन् गर्भनिरोधक यी औषधिबारे महिला खासगरी किशोरीहरूमा जुन लाजको भावना छ त्यो अब रहने छैन । साथै प्रजननसँग जोडिएका स्वास्थ्य सेवा लिन उनीहरूलाई जे समस्या थियो त्यसमा पनि मद्दत मिल्ने बताइएको छ । न्याशनल लाइब्रेरी अफ मेडिसिनमा छापिएको जानकारीका अनुसार औषधीको इतिहासमा हजारौँको सङ्ख्यामा औषधि उत्पादन गरियो तर सन् १९५० मा गर्भनिरोधक औषधी विकास भएपछि ठूलो परिवर्तन आयो । यसमा लेखिएको जानकारी अनुसार त्यस्तो औषधिले महिलाहरूलाई स्वतन्त्रता र प्रजननको स्वायत्तता पनि दिलायो ।
परिवार नियोजनका चक्कीले कसरी काम गर्छन् ?
भारतमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा एसएन बसु भन्छिन्, ”गर्भनिरोधक औषधि परिवार नियोजनको एउटा प्रभावकारी तरीका हो । यदि सही तरिकाले औषधि खाने हो भने तिनले शत प्रतिशत रोकथाम गर्छन् । यिनै औषधिले एउटापछि अर्को बच्चा कहिले जन्माउने भन्ने स्वतन्त्रता पनि दिएका छन् । गर्भनिरोधक एकथरी औषधिमा दुवै हर्मोनहरू एस्ट्रोजन र प्रोजेस्ट्रोन हुन्छन् जसलाई सीओसी पनि भनिन्छ । त्यसैगरी दोस्रोमा केवल प्रोजेस्ट्रोन मात्रै हुन्छ जसलाई पीओपी भनिन्छ । दिल्लीस्थित अमृता अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा प्रतिमा मित्तल भन्छिन्- “पहिले जुन गर्भनिरोधक खाने चक्की हुन्थे तिनमा एस्ट्रोजनको मात्रा ज्यादा हुन्थ्यो जसको दुष्प्रभाव पनि हुन्थ्यो तर अब त्यस्तो दुष्प्रभाव असाध्यै कम मात्रामा हुन्छ । अर्की स्त्रीरोग विशेषज्ञ डा सुचित्रा देलवीका अनुसार महिलाका शरीरमा एस्ट्रोजन र प्रोजेस्ट्रोन दुवै हर्मोन हुन्छन् त्यस्ता औषधिमा ती हर्मोनको प्रयोग गरिन्छ जसको शरीरमा फरकफरक असर हुन्छ । डाक्टर प्रतिमा मित्तल भन्छिन्, गर्भ निरोधकलाई लामो समय प्रयोग गर्न सकिन्छ। त्यसको ज्यादा दुष्प्रभाव हुँदैन ।

गर्भ निरोधकका फाइदा :
- परिवार नियोजन गर्न सकिन्छ, जुन सबैभन्दा ठूलो फाइदा हो
- महिनावारीलाई नियमित बनाउन मद्दत गर्छ
- महिनावारीको समयमा धेरै रक्तश्राव कम गर्न मद्दत
- गर्भाशयको क्यान्सरको आशङ्का कम हुन्छ
डाक्टर प्रतिमा मित्तल भन्छिन्, कुनै औषधि खाँदा क्यान्सर हुन्छ भन्ने भ्रम रहे पनि त्यो सत्य होइन । डाक्टर सुचित्र देलवीका अनुसार दैनिक यी औषधि लिदाँ तपाईँको शरिरमा हर्मोन जम्मा हुन्छ भन्ने होइन । बरु कलेजोको मद्दतले यो शरीरबाट बाहिर निस्कन्छ । डाक्टर भन्छन् कुनै पनि सुरक्षाको साधन बिना सम्बन्ध राखेको खण्डमा १२० घण्टाभित्र यस्ता चक्की लिने सल्लाह दिने गरिन्छ । त्यसो गर्दा गर्भधारण हुने आशङ्का कम हुने बताइन्छ ।
महिलामाथि किन बोझ : जानकारहरूका अनुसार गर्भ निरोधक चक्कीले महिलाहरूलाई परिवार नियोजनको स्वतन्त्रता दिन्छ । तर त्यसकै कारण कतिपय महिलाहरूले केही जिम्मेवारी पनि उठाउनु परिरहेको छ । हुनत पुरुषहरूका लागि पनि गर्भ निरोध साधन छन् । डाक्टरहरूका अनुसार पुरुषहरूका लागि त्यस्ता निरोधक साधन कम छन् ।
-
कन्डोम र शल्य चिकित्सा पुरुषहरूका लागि उपलब्ध साधन हुन् । तर कन्डोम लगाउँदा यौन सुख कम हुन्छ भन्ने ठान्नेहरू पनि छन् ।

त्यस्तै शल्यक्रियाबाट शरीरमा कमजोरी हुने भय पाल्ने गरिएको छ जसको उल्टो असर महिलाहरूमा हुन्छ । सरकारले विभिन्न जागरुकता अभियान चलाइरहेको छ । तर यी भ्रमहरू हटाउन सकिएको छैन । पुरुषहरूको सोचमा परिवर्तन आइरहेको छ तर त्यो प्रतिशत एकदमै कम छ ।