![]()
People’s News : असोज ५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभएको छ । बाँकेको कोहलपुरमा बिहीबार आयोजना भएको नेपाल इँट्टा उद्योग महासङ्घको १५ औं वार्षिक साधारणसभामा मन्त्री रिजालले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले इँट्टा उद्योगको समस्यालाई वार्ता र संवादमार्फत टुङ्गो लगाउने उल्लेख गर्दै अहिलेको प्रणाली ठूलो त्याग र बलिदानबाट आएको परिवर्तन भएको बताउनुभो ।
नेपाल इँट्टा उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष शङ्करबहादुर चन्दले इँट्टा उद्योगी पलायन हुने अवस्थामा रहेको उल्लेख गर्दै इँट्टाको विकल्पमा अन्य वस्तुको प्रयोगपछि यसको माग घटेको जानकारी दिनुभयो । “स्वदेशको माग धानिरहेको इँट्टा उद्योग एकाएक पलायन हुने अवस्थाबाट रोक्न राज्यलाई घच्घच्याउन आवश्यक छ” अध्यक्ष चन्दले मन्त्रीसामु भन्नुभयो, “सरकारले बेलैमा हामीलाई सडकमा आउनबाट जोगाओस् ।
अध्यक्ष चन्द इँट्टा उद्योगीले चुनौती झेलिरहेको भन्दै माग घट्दा बजारीकरणको समस्या थपिएको र सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर निर्माणमा परेकाले निर्माणकार्य घट्दा इँट्टाको खपत हुन नसकेको धारणा राख्नुभयो । करिब आठ प्रतिशत ब्याज दिएर कारोबार गरेका उद्योगीले अहिले १५ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो गर्दै अध्यक्ष चन्दले सावाँ र ब्याज तिर्न समय पाए उद्योगी तथा व्यवसायीलाई राहत हुने बताउनुभयो ।
नेपाल इँट्टा उद्योग सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वली क्षेत्रीले इँट्टा व्यवसायीले विभिन्न खालका चुनौती भोगिरहनुपरेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. धवल समशेर राणा, सूर्य ढकाल लगायतले बोल्नु भएको थियो ।