कालीगण्डकीमा अवैध दोहन

Loading

People’s News असोज ५ गते । पर्वत र बाग्लुङ खण्डमा पर्ने कालीगण्डकी नदी किनारमा वर्षाको भेलमा समेत नदीजन्य पदार्थको अवैध दोहन रोकिएको छैन । नदीमा अवैध ढङ्गले दोहन गर्दै गरेको अवस्थामा ठूला मेसिनलाई स्थानीयवासीले बिहीबार राति नदी किनारबाटै नियन्त्रणमा लिएका हुन् । पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से भन्ने स्थानको कालीगण्डकी किनारबाट स्थानीयवासीले एक्साभेटरसहित तीन वटा बालुवाले भरिएको ट्रिपर नियन्त्रणमा लिएका छन् । फर्से बजारसँगै रहेको कालीगण्डकी नदीमा अवैध दोहन गरिँदा किनारमा रहेको शिवालय चौपारीघाटको संरचना नै हराएको छ भने शिव माध्यामिक विद्यालय, स्वास्थ्य चौकी भवन, कृषि उपज केन्द्रको भवनलगायत मानव बस्तीसमेत जोखिममा छ ।

स्थानीय तारा रेग्मीका अनुसार रातिको समयमा एक्साभेटरसहित बालुवाले भरिएका तीन वटा ट्रिपर नियन्त्रणमा लिइएकोमा एउटा भागेको र दुई वटा जिल्ला प्रशासन र प्रहरीलाई बुझाइएको छ । ट्रिपरको चाबी स्थानीयकै नियन्त्रणमा रहेको रेग्मीको भनाइ छ । यता पर्वत प्रहरी प्रमुख खुमलाल भुसाललाई बालुवा निकाल्दै गरेको एक्साभेटर नियन्त्रणबारे सोधपुछ गरिँदा भने स्थानीयले प्रहरीलाई खबर दिएपछि राति नै प्रहरीले ट्रिपर र एक्साभेटरलाई नियन्त्रणमा लिइएको दाबी गर्नुहुन्छ । प्रहरी प्रमुख भुसालले भन्नुभयो, “सम्बन्धित वडाका अध्यक्ष र सरोकारवालाहरु बीचको रोहवरमा मुचुल्का उठाई कारवाही अगाडि बढाइएको छ । दोहन गर्नेलाई अधिकतम जरिवानासहित कानुन अनुसार कारवाही गरिनेछ ।

स्थानीय सामाजिक अगुवा हरेम बहादुर खत्री भन्नुहुन्छ, “स्थानीयवासीले मरेपछि दाहसंस्कार गर्ने पवित्र   शिवालय घाटबाट एक्साभेटर प्रयोग गरी बालुवा र गिटीसहित ढुङ्गा निकाल्दा जमिनको सतह गहिरो र साँगुरो भई घाट नै हराएको छ । स्थानीय व्यक्तिहरु गई गङ्गास्नान गर्ने ठाउँ अहिले छैन । घाटमा अहिले ढुङ्गा नै देखिँदैन । खत्रीले क्रसर व्यवसायीसँगको मिलेमतोमा स्थानीय भक्त थापाले अवैध ढङ्गले नदीबाट नदीजन्य पदार्थ निकालेर बजार क्षेत्र नै जोखिममा पार्ने काम भएको छ । अवैध दोहनलाई रोक्न खोज्दा धाक र धम्की खानुपरेको गुनासो स्थानीय खत्रीको छ ।

कालीगण्डकी नदी आसपास रहेका क्रसर व्यवसायीले अवैध रुपमा नदीजन्य पदार्थलाई एक्साभेटर, डोजर, लोडर जस्ता ठूला मेसिनको प्रयोग गरी दोहन गर्दै आएका छन् । स्थानीयवासीले बिहीबार फर्से बजारमा प्रशासन, प्रहरी र सरोकारवालाको भेला डाकेर अवैद्य दोहनले निम्त्याएको जोखिम रोक्न माग गरेका छन् । गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिटी, बालुवा उत्खनन तथा सञ्चालन व्यवस्थित गर्न तयार गरेको कार्यविधि, २०७५ अनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा, माटो, चट्टान, दहत्तर, बहत्तर उत्खनन गर्दा डोजर, स्काभेटर, लोडर जस्ता भारी उपकरण प्रयोग गर्न बन्देज लगाइएको छ । अन्य क्षेत्रको हकमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भए बमोजिम मेसिन तथा औजार मात्र प्रयोग गर्न पाइने उल्लेख छ । प्रनिश गिरी जीको लेख साभार

Leave a Comment