![]()
People’s News : भारत र क्यानडाबीच देखिएको कूटनीतिक विवादको बाछिटा अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नदिन पश्चिमा देशका मन्त्री र अधिकारीहरूले ठूलो मेहनत गरिरहेका छन् । अमेरिका र अन्य पश्चिमा शक्तिहरूले क्यानडासँगको विवादका कारण भारतसँग आफ्नो सम्बन्ध नबिग्रियोस् भन्ने चाहेका छन् । भू-राजनीतिको ठूलो मैदानमा भारत एउटा प्रमुख खेलाडी भइसकेको छ । भारत विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश मात्र नभएर यो उदीयमान शक्ति राष्ट्र र विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र पनि हो । यसलाई पश्चिमा राष्ट्रहरूले चीनसँगको सम्भावित सुरक्षा पर्खालको रूपमा पनि हेरेका छन् । भारतमा हालै भएको जी२० सम्मेलनका क्रममा पनि यो देखियो । युक्रेनका पश्चिमा सहयोगी देशहरूले सम्मेलनपछि जारी गरेको वक्तव्यमा युक्रेनमाथिको आक्रमणबारे भर्त्सना गर्ने क्रममा रुसको नाम लिएनन् । उनीहरूले वक्तव्यमा लेखिने शब्दको विषयमा विवाद गरेर भारतसँगको सम्बन्ध बिगार्न चाहेनन् । बरु यसले किएभमा कतिपयलाई रुष्ट बनायो । पश्चिमा कूटनीतिज्ञहरूलाई अहिले क्यानडा र भारतबीचको विवादमा देशहरूले एउटाको पक्ष लिन सुरु गर्लान् कि भन्ने डर छ ।
भारत र क्यानडाबीचको विवाद के हो ?
क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रूडोले पश्चिमी क्यानडामा गत जुनमा मारिएका एक जना सिख अभियानकर्मीको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि पछिल्लो साता भारत र क्यानडाबीचको विवाद चिसिएको छ । पछिल्लो महिनाहरूमा भारतले विकासशील देशहरूको नेताको रूपमा आफूलाई अघि सारेको छ । यसमा रहेका धेरै देशहरूले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न अस्वीकार गरेका छन् । अमेरिका र युरोपेली देशहरूले युद्धले यी देश र तीनको अर्थतन्त्रमा असर गर्ने भन्दै यी देशहरूलाई आफ्नो पक्षमा ल्याउन ठूलो मेहनत गरिरहेका छन् । कूटनीतिज्ञहरू यो विवादले आफ्नो प्रयासलाई असर नगरोस् भन्ने चाहन्छन् । क्यानडाको विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री ट्रूडोले आफ्नो विषय अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकसँग उठाइसकेका छन् । अहिले क्यानडाका सहयोगी देशहरू उक्त देशप्रति इमानदार देखिए पनि सावधान भएका छन् ।
अमेरिका र यूकेले के भने ?
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले हत्याको आरोपबारे “निकै चिन्तित रहेको” बताउँदै “क्यानडाको अनुसन्धान अघि बढ्ने र दोषीहरूलाई सजाय हुनुपर्ने” बताएको छ । सिखहरूको ठूलो समुदाय बसोबास गर्ने यूके र अस्ट्रेलिया जस्ता देशहरूका लागि यस्तो कूटनीतिक विवादको असर आन्तरिक राजनीतिमा पनि पर्ने जोखिम हुन्छ । यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले ब्रिटेनले “क्यानडाले उठाएको गम्भीर विषय धेरै नै गम्भीर रूपमा लिएको” बताएका छन् । क्यानडाको आरोपबारे आफूले सोमवारै त्यहाँका विदेशमन्त्रीसँग कुरा गरेको उनले बताए । उनका अनुसार “क्यानडाले भनेका कुराहरूलाई यूकेले गम्भीर रूपमा लिएको छ । भारतसँग हुन लागेको व्यापारसम्बन्धी वार्ता स्थगित हुने वा नहुनेबारे उनले केही बताएनन् । तर उनका अनुसार क्यानडेली अनुसन्धान नसकिएसम्म यूकेले कुनै पनि निर्णय गर्दैन । क्यानडा र भारत दुवै यूकेका नजिकका साथी हुन् । उनीहरू (पूर्व ब्रिटिश उपनिवेशहरूको समूह) ‘कमनवेल्थ’का साझेदारहरू हुन्” क्लेभर्ली भन्छन् । अस्ट्रेलियाको विदेश मन्त्रालयले पनि आरोपबारे “निकै चिन्तित” रहेको बताउँदै क्यानबेराले आफ्नो “गम्भीर चिन्ता भारतको उच्च नेतृत्व समझ राखेको” जनाएको छ ।
पश्चिमा देशहरूले के गर्लान् ?
अहिलेका लागि पश्चिमा देशहरूले अनुसन्धान प्रक्रिया नसकिँदासम्म पर्खने मनस्थिति बनाएका छन् । केही सहयोगी देशहरूलाई क्यानडाको गुप्तचरले हालसम्म थाहा पाएका कुराहरूमा पहुँच दिइन सक्छ । यदि अकाट्य प्रमाण भेटियो भने परिस्थिति फेरिन सक्छ । त्यो अवस्थामा पश्चिमा देशहरूले ओट्टावा र नयाँ दिल्लीमध्ये एउटा रोज्नुपर्ने हुनसक्छ । त्यो अवस्था भनेको कानुनी शासन र राजनीतिको आवश्यकता मध्येको एउटा रोजाइ हुनसक्छ । पश्चिमा देशहरूले विगतमा भने रुस, इरान वा साउदी अरब जस्ता देशहरूले अर्को देशमा गराएका हत्याका आरोपहरूमा निन्दा गरेका थिए । भारत पनि त्यो समूहमा परोस् भन्ने उनीहरू चाहँदैनन् । …