अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

Loading

People’s News : अमेरिका र भारतका लगानीकर्ताको मनमा खेलिरहेका कुराको सोझो असर नेपाली सर्वसाधारणको खल्तीमा पनि परिरहेको छ – सायद यसैलाई अर्थतन्त्रको विश्वव्यापीकरण भन्छन् । बुधवार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५४ नेपाली रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै उच्च कीर्तिमान हो । तर नेपालमा डलरको भाउ यसरी बढिरहने प्रवृत्ति कता जोडिएको छ भन्ने तपाईँलाई थाहा छ ? त्यसको भेउ पाइयो भयो भने बल्ल यो प्रवृत्ति अझै जारी रहला कि मत्थर होला भनेर भन्न सकिन्छ । सोझो हिसाबमा डलरको भाउ तलमाथि हुनुमा नेपालको आन्तरिक नीतिको खासै कुनै योगदान छैन । बरु यसको सम्बन्ध अमेरिका र भारतको अर्थतन्त्रसँग छ ।  

किन बढ्यो डलरको भाउ ?

अमेरिकी केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले लिने ब्याजदरसम्बन्धी निर्णयलाई लगानीकर्ताहरूले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका हुन्छन् । केही समययता अमेरिकी अर्थतन्त्र सुधारोन्मुख भइरहेको छ र फेडरल रिजर्भले ब्याज दर बढाइरहेको छ । जुलाई महिनामा उसले गरेको वृद्धिपछि त्यहाँ ब्याजदर २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो। बुधवार उसले ब्याज दर अहिलेको निम्ति स्थिर राख्ने निर्णय गर्‍यो । उसले ब्याजदर लाई ५.२५% र ५.५०% को बीचमा हुने गरी तोकेको छ । तर यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीतिसँग जुझ्न ब्याजदर फेरि बढाउन सक्ने सङ्केत दिएको छ । अमेरिकामा ब्याजदर उच्च हुँदा लगानीकर्ताहरू स्वाभाविक रूपमा डलरतर्फ आकर्षित हुन्छन् । अनि त्यसको भाउ बढ्छ । त्यसो हुँदा भारतबाट लगानीकर्ताहरूले समेत पैसा अमेरिका लैजान सक्छन् । अनि भारुको भाउ घट्छ । भारुको भाउ घट्नु भनेको नेपाली रुपैयाँ स्वत: घट्नु हो ।

नेपालले आफ्नो मुद्राको विनिमय दर भारुसँग स्थिर राखेको छ – १०० भारु बराबर १६० नेरु । भारु तलमाथि हुँदा त्यसको बुई चढेको नेरु पनि सँगसँगै तलमाथि हुन्छ । यो साता भारुको अवमूल्यन भएकै कारण नेपालमा पनि प्रभाव परेको छ । भारु जता जान्छ हामी पनि त्यतै जाने हो । भारतमा पनि अहिले भुक्तानी सन्तुलन र व्यापार सन्तुलनमा घाटा भएको हुनाले भारु अवमूल्यन भएको हो,” नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व कायममुकायम गभर्नर रहिसकेका अर्थविद् कृष्णबहादुर मानन्धरले भने । मलाई लाग्छ भारुको अवमूल्यन जति हुनुपर्ने त्यति अझ भएको छैन, उनले भने । अर्को वर्ष भारतमा चुनाव आइरहेकाले भारुको अवमूल्यन राजनीतिक कारणले केही मत्थर हुनसक्ने उनी ठान्छन् । 

डलरको भाउ बढ्दा नेपालमा कस्तो फाइदा हुन सक्छ ?

अमेरिकी डलरको भाउ बढ्दा नेपालमा कुनै कुनै क्षेत्रमा फाइदा पनि पुग्छ ।

पहिलो नम्बरमा रेमिट्यान्स आय पर्छ । यो साउनमा रेमिट्यान्स आयले नयाँ कीर्तिमान बनाएको छ । यसको परिमाण गएको वर्ष लगातार बढ्नुमा एउटा कारण अमेरिकी डलरको भाउ बढ्नु पनि हो । विदेशी मुद्रामा उति नै आम्दानी गरे पनि विनिमय दरका कारण नेपाली रुपैयाँमा त्यो बढी हुन पुग्छ । दशौँ लाख नेपाली घरपरिवारले रेमिट्यान्स थाप्ने हुँदा त्यसको सकारात्मक असर कम चाहिँ हुँदैन ।

दोस्रोमा पर्यटनमा हुने आम्दानी पर्छ । तर यसको अर्को पाटो पनि छ । यदि इन्भोइसिङ डलरमा गरिएको छ भने फाइदा हुन्छ । तर नेपाली रुपैयाँअनुसार तिर्ने गरिएको छ भने झन् कम डलर आउन सक्छ,” राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले बताए । 

तेस्रो फाइदा भनेको निर्यात हो। उही सामान उही दरमा झिकाउँदा पनि नेपाली निर्यात सस्तो हुन्छ र त्यसले विदेशी आयातकर्ता नेपालबाट सामान झिकाउन थप प्रोत्साहित हुन सक्छन् । निर्यातलाई डलरको भाउ बढ्दा फाइदा हुन्छ तर मुख्य कुरा निर्यात गर्न सक्नुपर्‍यो, पोखरेलले भने । अहिलेसम्मको अवस्था हेर्दा निर्यातबाट फाइदा उठाउन सक्ने अवस्थामा नेपाल देखिँदैन ।

डलरको भाउ बढ्दा नेपालमा कस्तो बेफाइदा हुन सक्छ ?

डलरको भाउ बढ्दा नेपालजस्तो आयातमा निर्भर देशलाई सबभन्दा ठूलो मार महँगीमा पर्न सक्छ । दाल र तरकारीदेखि इन्धन अनि लुगाफाटा सबैसम्म सबै वस्तुको भाउ बढ्छ । चाहे विदेश पढ्न जाने हो वा घुम्न जाने हो हवाईजहाजको टिकटदेखि सबै कुरा महँगिन्छन् । अहिले नेपालमा मुद्रास्फीति ७.५२ प्रतिशत । त्यो धेरै हो र अझै बढ्न सक्छ । अर्को असर देशको व्यापार सन्तुलनमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको आयात र निर्यात दुवै घटिरहेको देखिन्छ । विगत एक वर्षमा आयात र निर्यातबीचको फरक वा व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तमा सकिएको गत आर्थिक वर्षमा नेपालले १६ खर्ब ११ अर्ब रुपैयाँको आयात अनि जम्मा १ खर्ब ५७ अर्बको निर्यात गर्न सक्यो । अनि विदेशी विनिमय सञ्चितिमा पनि असर पर्छ । असार मसान्तमा देशको ढुकुटीमा १५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरका विदेशी मुद्राको भण्डार रहेको छ । केही समययता रेमिट्यान्स वृद्धिसँगै सुधारिएको यो सञ्चितिमा डलरको भाउका कारण फेरि चाप पर्न सक्छ ।

अब डलरको भाउ के होला ?

नेपाली रुपैयाँको अवस्था कस्तो होला भनेर अनुमान गर्न अमेरिकी अर्थतन्त्रको सुधारको अवस्था अनि त्यहाँको केन्द्रीय ब्याङ्कले ब्याज दरमा गर्ने तलमाथिको अवस्था कस्तो होला भनेर पहिला जान्नुपर्छ । फेडरल रिजर्भले फेरि ब्याजदर बढाइदियो भने डलरको भाउ अझ बढ्न सक्छ । किनभने त्यसपछि त्यसको असर भारतको बजारमा पर्छ र त्यहाँबाट नेपालमा सर्छ । 

Leave a Comment