![]()
People’s News : एक सिख पृथक्तावादीलाई क्यानडामा हत्या गरेको आरोपमा विवाद चर्किरहँदा भारतले क्यानडाका नागरिकका लागि भिसा सेवा निलम्बन गरेको छ भिसा सेवा प्रदायक बीएलएसले भारतीय नियोगले पठाएको एक सूचना टाँस्दै उक्त निर्णयपछाडि “सञ्चालनसँग सम्बन्धित कारण” रहेको जनाएको छ । क्यानडाले हरदीप सिंह निज्जरको मृत्यु र भारतबीच एउटा “विश्वसनीय” सम्बन्ध पहिचान गरेको बताएपछि यस साता दुई देशबीच तनाव चर्किएको छ । भारतले उक्त आरोपलाई “निरर्थक” को संज्ञा दिएको छ । विश्लेषकहरूका भनाइमा महिनौँदेखि तनावपूर्ण रहेको दुई देशबीचको सम्बन्ध यतिखेर हालसम्मकै न्यून विन्दुमा छ । भिसा दिन रोक्ने सूचना सबैभन्दा पहिले बीएलएसको वेबसाइटमा बिहीवार प्रकाशित भएको थियो ।
जसमा लेखिएको छ: “भारतीय नियोगको महत्त्वपूर्ण सूचना: सञ्चालनसँग सम्बन्धित कारणले गर्दा सन् २०२३ को २१ सेप्टेम्बरदेखि लागु हुने गरी अर्को सूचना लागु नभएसम्मका लागि भारतीय भिसा सेवा रोकिएको छ । भारतको विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गर्दै बीएलएसको वेबसाइट हेर्न भनेको छ । भारतले आफ्ना नागरिकहरूलाई क्यानडा यात्रा गर्न वा त्यहाँ बसोबास गर्न “उच्चतम सजगता अपनाउन” एक जरुरी सूचना जारी गरेको एक दिनपछि यस्तो निर्णय आएको हो । बुधवार दिल्लीले “क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र राजनीतिक रूपमा स्विकारिएको घृणा फैलाउने अपराध र फौजदारी हिंसा”को परिप्रेक्षमा त्यस्तो जरुरी सूचना जारी गरिएको जनाएको थियो । दिल्लीले केही पछिल्ला खतरा आफ्ना कूटनीतिक र “भारत विरोध एजेन्डाको विरोध गर्ने” भारतीयहरूप्रति लक्षित रहेको जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमवार आफ्ना गुप्तचर निकायहरूले क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यामा “भारत सरकारका एजेन्टहरू” संलग्न भए नभएको भनेर अनुसन्धान गरिरहेको जनाएका थिए । भारतले सन् २०२० मा उनलाई एक पृथक्तावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको संज्ञा दिएको थियो । उनका समर्थकहरू ती आरोपलाई “आधारहीन” मान्छन् ।
हत्या प्रकरण
गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो । ट्रूडोले सोमवार क्यानडाको संसद् ‘हाउस अफ कमन्स’मा बोल्दै भनेका थिए: “क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनै खाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो । भारतले यस्तो आरोपको कडा शब्दमा खण्डन गर्दै क्यानडाले त्यहाँ बस्न दिइएका ‘खालिस्तानी आतङ्कवादी र चरम पन्थीहरूबाट ध्यान मोड्न’ त्यसो गरेको जनाएको छ । भारत सरकारले पश्चिमा राष्ट्रमा स्वतन्त्र सिख राज्य खालिस्तान स्थापनाको मागलाई कडा रूपमा प्रतिक्रिया जनाउने गरेको छ ।
हरदीप सिंह निज्जर को थिए
निज्जर क्यानडाको पश्चिमी कुनामा पर्ने प्रान्त ब्रिटिश कोलम्बियाका प्रभावशाली सिख नेता थिए । उनी केही महिनायता अनपेक्षित घटनामा ज्यान गुमाउने तेस्रा प्रभावशाली सिख नेता हुन् । उनले सार्वजनिक रूपमै स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न थिए । उक्त अभियानकै कारण पहिलादेखि नै उनी निसानामा रहेको उनका समर्थकहरूको दाबी छ । क्यानडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू रद्द गरेको छ । विस्तृत जानकारी नदिएको भए पनि उसले “केही राजनीतिक विकासक्रम” कारण त्यसो गर्नुपरेको उसको भनाइ छ । क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन् ।

खालिस्तान आन्दोलन के हो ?
भारतमा खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सिख बहुल पञ्जाब राज्यमा हिंसात्मक विद्रोहको साथ उत्कर्षमा पुगेको थियो । जसलाई बलपूर्वक नियन्त्रण गरिएपछि अहिले भारतमा यसको प्रभाव कम छ । यद्यपि अझै पनि क्यानडा, अस्ट्रेलिया र ब्रिटेनजस्ता देशहरूका सिख समुदायमा यस अभियान केही लोकप्रिय पाइन्छ । भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ जहाँ कैयौँ खालिस्तान पक्षधर विरोध तथा प्रदर्शन देखा परेका छन् । विवरणहरूका अनुसार जुन महिनामा भारतले क्यानडासँग त्यहाँ रहेका आफ्ना कूटनीतिज्ञको सुरक्षालाई लिएर “औपचारिक रूपमा उजुरी” गरेको थियो । ==