![]()
pnews.com.np : Kathmandu – जुली हेल्म्सका लागि उत्तरी फ्रान्सको स्ट्रासबर्ग विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भएका केही बिरामीबाट यो अवस्था सुरु भयो ।केही दिनमै कक्षमा भएका सबै बिरामीलाई कोभिड-१९ भएको थियो र उनले ध्यान तानेको कुरा श्वासप्रश्वासमा देखिएको असहजता मात्रै थिएन । “उनीहरू ज्यादै उत्तेजनामा थिए र धेरैमा भ्रमित हुने वा नानाथरी कुरा गर्ने जस्ता मस्तिष्कसम्बन्धी समस्या थिए,” उनी भन्छिन् । “यो एकदमै असामान्य थियो। धेरै डरलाग्दो पनि थियो किनभने उपचाररत धेरैजसो बिरामी ३० देखि ५० वर्षसम्मका थिए। एक जना त १८ वर्षका थिए । हेल्म्स र उनका सहकर्मीहरूले न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा एउटा सानो अनुसन्धान प्रकाशित गरेका छन् जसमा उनीहरूले कोभिड-१९ का बिरामीमा देखिएको मस्तिष्कसम्बन्धी समस्याहरूको विवरण छ । ती सबै समस्या मस्तिष्कमा भएको क्षतिसँग सम्बन्धित छन् र फेब्रुअरीमा चीनको वुहानका बिरामीहरूमा अध्ययनकर्ताहरूले देखेको समस्यासँग मेल खान्छ । अहिले विश्वभरि गरिएङ्का ३०० भन्दा बढी अध्ययनमा कोभिड-१९ का बिरामीमा मस्तिष्कसम्बन्धी असामान्य अवस्था रहेको पत्ता लागेको छ । ती अवस्थाहरूमा टाउको दुख्ने, गन्ध सुँघ्ने क्षमतामा ह्रास र झमझम हुने खालका लक्षणदेखि बोल्न असहज हुने, मस्तिष्कघात र छारे रोगका लक्षणसम्म छन् । हालैका दिनमा श्वासप्रश्वाससम्बन्धी रोग लगाउने मानिएको कोरोनाभाइरसले मिर्गौला, मृटु र अन्य लगभग शरीरका सबैअङ्गलाई असर गर्ने थाहा भएको छ । “हामीलाई यो थाहा छैन कि अन्य भाइरसले भन्दा कोरोनाभाइरसले मस्तिष्कलाई बढी क्षति पुर्याउँछ कि पुर्याउँदैन तर हामीले यो धेरै मात्रामा देखिरहेका छौँ,” स्नायुरोग विशेषज्ञ एलिसा फोरीले भनिन् । “सङ्क्रमणका बिरामीहरू बढिरहँदा हामीले सामान्य खाल लक्षण मात्रै होइन, असामान्य खालका लक्षणहरू पनि देखिरहेका छौँ र ती सबै एकै पटक देखिरहेका छौँ जुन हामीले अहिलेसम्म जीवनकालमा देखेका थिएनौँ । कोरोनाभाइरस सङ्क्रमण देखिएका कतिमा मस्तिष्कसम्बन्धी समस्या देखिन्छ भन्ने कुराको तथ्याङ्क फरक छ तर आधा जसो व्यक्तिमा यस्ता समस्या देखिएको बताइन्छ ।
यस्तो समस्याको पहिचान गर्न कतिपय अवस्थामा चिकित्सकहरू सक्दैनन् किनभने यस्ता कतिपय अवस्थाका लक्षण धेरै देखिँदैन र सघन उपचार कक्षको वातावरण एवम् औषधिले पनि भूमिका खेल्छन् । “कोरोनाभाइरस सङ्क्रमण भएका धेरै व्यक्तिको देखिने एउटै लक्षण भनेको भ्रमित हुनु हो,” जोन्स हप्किन्स मेडीसीनका सह-प्राध्यापक रोबर्ट स्टेभेन्सले भने । “हामी मस्तिष्कसम्बन्धी रोगको महामारीको सँघारमा छौँ ।
मस्तिष्कमा लक्षणहरू : अधिकांश अध्ययनकर्ताहरू कोरोनाभाइरसले यस्तो असर कि त मस्तिष्कमा अक्सिजनको मात्रा नपुगेर कि त शरीरको ज्वरोको कारण हुने मान्छन् । फोरी र हेल्म्सको विचारमा स्नायुप्रणालीमा पर्ने असर कोरोनाभाइरससँग शरीरले जुझ्दा उत्पन्न हुने ज्वरोका कारण हो । अन्य अध्ययनकर्ता भने स्पष्ट छैनन्, तर कोरोनाभाइरसले मस्तिष्कमै आक्रमण गर्ने प्रमाणहरू पनि फेला पर्न थालेका छन् । “यदि तपाईँले मलाई एक महिनाअघि कोरोनाभाइरसकले रगत र मस्तिष्कको घेरा नाघ्न सक्छ भनेर सोधेको भए म सक्दैन भन्ने थिएँ तर अहिले धेरै अध्ययनहरूले यसले त्यसो गर्न सक्ने देखाएको छ,” स्टेभेन्सले भने । जापानमा एक २४ वर्षीय पुरुष आफ्नो बान्तामा लडेर बेहोस भएका थिए । उनलाई कामज्वरो आएको कारण अस्पताल लगिँदै थियो । उनको मस्तिष्कको एमआरआईमा भाइरल मेनेन्जिटिस र मस्तिष्क-मेरुदण्डको तरल पदार्थमा कोरोनाभाइरसको उपस्थिति देखिएको थियो ।
चिनियाँ अध्ययनकर्ताहरूले एक ५६ वर्षीय सङ्क्रमितको मस्तिष्क-मेरुदण्डको तरल पदार्थमा पनि भाइरसको निशान भेटेका थिए । इटलीमा कोरोनाभाइरसबाट मृत्यु भएका एक बिरामीको पोस्टमोर्टममा पनि अध्ययनकर्ताहरूले मस्तिष्कको रक्तनलीसँगैको कोषमा भाइरसको अंश भेटेका थिए । अहिले केही वैज्ञानिकहरू कोरोनाभाइरस सङ्क्रमितको मृत्यु फोक्सोमा पुग्ने क्षतिको कारण नभई बेहोस हुँदा पनि श्वासप्रश्वास कायम गर्न निर्देशन दिने मस्तिष्कको भागमा पुग्ने क्षतिका कारण हुनसक्ने बताउँछन् । मस्तिष्क सामान्यतया “रक्त-मस्तिष्क छेकबार” भनिने मस्तिष्क र मेरुदण्डको रक्तनलीमा हुने एक प्रकारको विशेष कोषका कारण सङ्क्रामक रोगबाट सुरक्षित रहन्छ । ती कोषले जीवाणु र अन्य हानिकारण तत्त्वलाई मस्तिष्क प्रवेश गर्न रोक्छ । यदि कोरोनाभाइरसले त्यो छेकबार तोड्न सकेको हो भने यसको अर्थ ती भाइरस स्नायुप्रणालीको केन्द्रमा प्रवेश गर्न सक्यो भन्ने मात्रै होइन कि लामो समयसम्म त्यहाँ रहेका फेरि फर्कन सक्ने सम्भावन रहन्छ । विरलै हुने भए पनि भाइरले यस्ता विशेषता देखिदै नदेखिएको भने होइन। ठेउलाको भाइरसले सामान्यतया स्नायुलाई असर गर्ने पछि दादको रूपमा फेरि सक्रिय हुन सक्ने हुन्छ ।
सामान्यतया बाल्यकालमा ठेउला लागेका ३० प्रतिशत मानिसलाई जीवनको कुनै बेला दाद आउँछ । अन्य भाइरसको असर झन् खतरनाक हुन सक्छ । सन् १९१८ मा महामारी फैलाएको भाइरसले मस्तिष्क र स्नायु प्रणालीलाई स्थायी क्षति पुर्याएका थिए। लगभग ५० लाख मानिसमा निन्द्रा बिरामी भनेर चिनिने चरम थकावट हुने रोग लागेको थियो । बाँचेकामध्ये धेरै जीवनबाट निलम्बितझैँ अवस्थामा रहे । “उनीहरूले न त जीवन महसुस गरे न भावना भन्न सके; उनीहरू भूतजस्ता र पूर्ण निष्क्रिय भए,” सन् १९७३ मा प्रकाशित चर्चित संस्मरणमा प्रसिद्ध स्नायुरोग विशेषज्ञ ओलिभर स्याक्सले लेखेका छन् । एम्पेरिअल कलेज लन्डनका प्राध्यापक डेभिड नटले सन् १९७० र सन् १९८० को दशकमा गम्भीर डिप्रेसनका बिरामीहरूको उपचार गरेको र उनीहरूमा सो रोग सन् १९५७ मा यूकेमा फैलिएको महामारीपछि देखा परेको बताए । “त्यो डिप्रेसन स्थायी प्रकृतिको थियो जस्तो कि उनीहरूको सबै भावनात्मक प्रणाली कसैले बन्द गरिदिएको होस्,” नट भन्छन् ।
नटले कोरोनाभाइरसको महामारीपछि धेरै ठूलो सङ्ख्यामा यस्तै हुन सक्ने चेतावनी दिए ।कोरोनाभाइरसले मस्तिष्कमा गर्ने असर यसले फोक्सोमा गर्ने असरभन्दा धेरै ठूलो र खतरनाक हुन सक्छ । फ्रान्समा हेल्म्स कोरोनाभाइरसको मस्तिष्कमा कति नराम्रो असर हुन सक्छ भने जानकार छिन् । कोभिड-१९ को बिरामी जो दुई महिनाअघि सङ्क्रमणमुक्त भएर अस्पतालबाट घर फर्केका थिए, उनलाई आत्महत्याको जोखिम कम गर्न आपत्कालीन सहयोग चाहिएको थियो । ती व्यक्ति दुई महिनासम्म पनि थकावट र गम्भीर डिप्रेसनबाट बाहिर निस्कन सकेका थिएनन् । र, ती व्यक्ति यस्तो समस्या देखिएका एक्लो व्यक्ति थिएनन्। धेरै निको भएका बिरामीहरूको यस्तै अवस्था थियो । “उनी भ्रमित थिइन्, हिँड्न सक्दैन थिइन् र उनी मर्न चाहन्थिन् । यो साच्चै खराब अवस्था हो,” हेल्म्सले भनिन् । “उनी ६० वर्षकी भइन् तर उनले मलाई भनेकी छन् कि कोभिड-१९ ले उनलाई मृत बनायो अर्थात् उनको मस्तिष्कलाई काम नलाग्ने बनायो। उनी जीवनमा अब थप केही चाहन्नन् । यो साह्रै गाह्रो अवस्था हो किनभने हामीलाई यो क्षति कसरी रोक्ने भन्ने थाहा छैन । हामीसँग मस्तिष्कमा हुने क्षति रोक्न कुनै उपचार नै छैन,” हेल्म्सले भनिन् ।
फोक्सोको समस्या देखिएका बिरामीलाई श्वासप्रश्वास सहज बनाउने मेसिनमा राख्न सकिन्छ र मिर्गौलाको डायलसिस गर्न सकिन्छ । राम्रो भयो भने यी दुवै अङ्ग फेरि पुरानै अवस्थामा फर्कन सक्छन्। तर मस्तिष्कका लागि त्यस्तो कुनै यन्त्र छैन ।
You must be logged in to post a comment.