![]()

पिपुल्स न्युज काठमाडौं : लगातार टुटफुट बेहोरिरहेको जनता समाजवादी पार्टी (जसपा) फेरि संकटमा फसेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादवबीच द्वन्द्व बढेर जाँदा जसपा विभाजनकै नजिक देखिएको छ । भट्टराई र यादवबीच २०७४ को निर्वाचनपछि एकता भएको थियो । २०७२ को संविधान जारी भएपछि माओवादी छोडेर नयाँ दल खोलेका भट्टराईको नयाँ शक्ति पार्टीसँग एकता गरेर समाजवादी पार्टी, नेपाल बनेको थियो ।
त्यसअघि यादव र अशोक राईबीच एकता भएर संघीय समाजवादी फोरम बनेको थियो । मधेशी जनाधिकार फोरमको नेतृत्व गरिरहेका यादव र राईबीच भने २०७० को चुनावपछि एकता भएको थियो । भट्टराई, यादव र राईबीच एकता भएपछि बनेको समाजवादी पार्टी, नेपालको संसदीय संसद्मा १७ सांसद थिए ।
तर २०७७ जेठमा राष्ट्रिय राजनीति पार्टी (राजपा) सँग एकता गरी जसपा बनेको थियो । जसपा पनि ५ पुस २०७७ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि विभाजित भयो । महन्थ ठाकुर र राजेन्द्र महतो पार्टीमा अल्पमतमा परेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बन्यो । लोसपा बनेपछि पनि जसपाभित्र भट्टराई र यादवबीच विवाद बढेको छ । भट्टराईले अर्को अध्यक्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् । जसपा हुँदा ठाकुर र यादव अध्यक्ष थिए । त्यसैअनुसार, अर्को अध्यक्षको प्रस्ताव भट्टराईले राखेका छन् ।
तर यादव भने अर्को अध्यक्ष राख्ने पक्षमा छैनन् । त्यही विवाद बढेर जाँदा नेताहरु समेत विभाजित बनेका छन् । यादवसँग असन्तुष्टि महिन्द्र राय यादव, प्रदीप यादव, मोहमद इस्तियाक राई लगायतले भट्टराईलाई साथ दिएका छन् । अशोक राई सहित उनी पक्षीय नेताहरुले मौन देखिएका छन् । भट्ट्राई र यादवबीच विवाद बढ्दै जाँदा अलग–अलग भेला हुने परिस्थिति बनिसकेको छ । “उच्च स्तरको सहमति नजुटे अब पार्टी एक रहने अवस्था देखिन्न”, एक नेता भन्छन् । राजेन्द्र महतोलाई छोडेर जसपामै रहेका मनिष सुमन, महन्थ ठाकुरको सम्मानका लागि जसपामा दुई अध्यक्षको व्यवस्था गरिएको बताउँछन् । तर अव ठाकुर नरहेकाले दुई अध्यक्षको आवश्यकता नरहेको उनी बताउँछन् ।

भट्टराईतिर उभिएका नेता इस्तियाक राई भने अब उपेन्द्र यादवको एकल नेतृत्वमा पार्टी नचल्ने बताउँछन् । उनी तीन अध्यक्षको आवश्यकता रहेको बताउँछन् । भट्टराईले खसआर्य, जनजाति र मधेश गरी तीन अध्यक्षको व्यवस्था गर्नुपर्ने अडानमा छन् ।