अवस्था भयानक हुनसक्ने भन्दै नागरिकलाई देश छाड्न आह्वान

Loading

पिपुल्स न्युज सामाचार अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न आग्रह गरेका छन् । उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको जनाएका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन् । उनले अवस्था छिट्टै भयानक हुनसक्ने बताए । अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ । अमेरिकी नागरिकहरूले अब छोड्नुपर्छ,” बाइडनले एनबीसी न्युजसँगको एक अन्तर्वार्तामा भने । “हामी विश्वकै सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौँ । यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरू छिट्टै भयानक हुन सक्छन् । अन्तरवार्तामा त्यहाँबाट बाहिरिन चाहने अमेरिकीहरूलाई उद्धार गर्न सेना पठाउन सकिने सम्भावनाबारे गरिएको प्रश्नमा बाइडेनले भने “त्यहाँ छैन । जब अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गर्छन् त्यो विश्वयुद्ध हुन्छ । हामी यसअघि भन्दा धेरै फरक परिवेशमा पुगिसकेका छौँ ।

युक्रेनको रूसमाथि आरोप : युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध पुर्‍याएको आरोप लगाएको छ । उक्त क्षेत्रमा बढ्दो तनावमाझ अर्को साता रुसी नौसेनाले एउटा सैन्य अभ्यास गर्न लागेका बेला युक्रेनका विदेशमन्त्रीले त्यस्तो आरोप लगाएका हुन् । विदेशमन्त्री दिमेत्रो कुलेबाले सी अफ एजोफ पूरै अवरूद्ध पारिएको र ब्ल्याक सीको बाटो समेत लगभग पूरै जस्तो विच्छेद गरिएको बताएका छन् । रुसले युक्रेनको दक्षिणतर्फका ती सागरमा अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै तटीय क्षेत्रका लागि पूर्वचेतावनी जारी गरेको छ । त्यस क्षेत्रमा तनाव चुलिएका बेला रुसी सैन्य अभ्यासले समुद्रमा आउजाउ ‘व्यवहारिक रूपमा असम्भव’ भएको युक्रेनले जनाएको छ । युक्रेनतर्फका सीमामा एक लाखभन्दा धेरै रुसी सैनिक तैनाथ गरिए पनि युक्रेनमा हमलाको योजना बनाएको भन्ने पश्चिमा आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ ।

बेलारुससँग अभ्यास : तर रुसले यसै साता छिमेकी बेलारुससँग एउटा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । बेलारुस रुसको निकट साझेदार हो र उसको युक्रेनसँग लामो सीमा जोडिएको छ ।

के रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो ? : शीतयुद्धयता पहिलोपटक रुसले बेलारुसमा त्यति धेरै सेना पठाएको भन्दै फ्रान्सले त्यसबाट हिंसात्मक सन्देश दिन खोजिएको जनाएको छ । युक्रेनले त्यसलाई आफूमाथि रुसले “मनोवैज्ञानिक दबाब दिन खोजेको” बताएको छ ।

बर्लिनमा वार्ता : रुसी हमला हुनसक्ने भन्दै तीन बाल्टिक देशहरूले नेटोलाई पूर्वी युरोपमा सैन्य सहायता बढाउन आग्रह गरेका छन् । इस्टोनिया र लाट्भियाका प्रधानमन्त्री तथा लिथुआनियाका राष्ट्रपति यतिखेर जर्मन चान्सलर ओलाफ सोल्जसँग छलफलका लागि बर्लिनमा छन् । शान्तिका लागि गाइरहेको युक्रेनी युवाको सङ्गीत समूह चान्सलर सोल्जले अवस्थालाई ‘निकै कठिन’ बताएका छन् ।

Leave a Comment