![]()

पिपुल्स न्युज काठमाडौं । महन्थ ठाकुर पक्ष अलग भएको ६ महिना नपुग्दै जनता समाजवादी पार्टी (जसपा) पुनः विभाजनको दिशातिर पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीचको द्धन्द्ध चर्किँदै जाँदा जसपा फुटको संघारमा पुगेको हो । विवाद बढ्दै जाँदा भट्टराई पक्ष पार्टी नेतृत्व नपाए बाहिरिने तयारीमै जुटेको छ ।
केन्द्रीय समितिमा ५१ प्रतिशत पु¥याएर जसपाको नेतृत्व लिने नभए पार्टीबाट अलग हुने भट्टराई समूहको तयारी छ । जसपाका एक नेताले बताएअनुसार केन्द्रीय समिति बैठकमार्फत उक्त विषय छिनोफानो गर्ने तयारी भएको छ ।
जसपामा मन्त्री छनोटदेखि नै विवाद उठेको थियो । जुन विवाद राष्ट्रिय सभा निर्वाचनसँगै बढेको हो । प्रदेश १ मा आफ्ना उम्मेदवार हेमराज राई पराजित भएसँगै भट्टराई पक्ष आक्रोशित भएको थियो । भट्टराई पक्षले निर्वाचनमा यादव पक्षले मत नहालेको निष्कर्ष निकालेको छ ।

विकल्पमा तीन जना अध्यक्षको प्रस्ताव
अहिले जसपाभित्र पार्टी अध्यक्षको जिम्मेवारीमा उपेन्द्र यादव छन् भने केन्द्रीय परिषद् अध्यक्षको रुपमा बाबुराम भट्टराई छन् । तर, यादवले आफुँ मुख्य अध्यक्ष भएको भन्दै निर्णयहरु आफुँ अनुकुल गर्दै आएका छन् ।
भट्टराई पक्षले अहिले विकल्पमा सामूहिक नेतृत्वको मुद्दा उठाईरहेको छ । भट्टराई पक्षले तीन अध्यक्षको व्यवस्था हुनुपर्ने माग राखेको छ । आदिवासी, खसआर्य र मधेशी गरी भिन्न–भिन्न कलस्टरको नेतृत्व हुनुपर्ने माग भट्टराई पक्षको छ । पार्टीको विधानमै संघीय परिषद् अध्यक्ष र दुई वटा कार्यकारी अध्यक्ष व्यवस्था उल्लेख गरिएको भन्दै भट्टराई पक्षले कार्यान्वयनको माग गरिरहेको छ ।
तर, यादव पक्षले भने भट्टराई पक्षले उठाउँदै आएको मागलाई अस्वीकार गरेको छ । जनमत आफ्नो पक्षमा भएको निष्कर्षसहित यादव पक्षले भट्टराई पक्षका मागहरुलाई अस्वीकार गर्दै आएको छ ।
दुई पक्षबीच चर्किँदै आएको द्धन्द्ध अहिले वार कि पारको अवस्थामा पुगेको हो । अहिले दुवै पक्षले सकेसम्म पार्टी नेतृत्व हात पार्ने नभए अलग हुने तयारी गरिरहेका छन् ।
