उपत्यकामा ओमिक्रोन फैलिनु सर्बसाधारणको हेल्चक्राई नै

Loading

People’s News : अहिले हामी तेस्रो लहरको मध्यतिर अर्थात् लगभग पिकमा छौं । यो धेरै बढ्न थालेको दुई साता भएको छ । जुन रफ्तारमा मान्छेहरू संक्रमित भइरहेका छन्, त्यसलाई आधार मान्दा पिकमा आएको जस्तो देखिन्छ । काठमाडौंमा विगत दुई हप्तामा देखिएको संक्रमण दरलाई आधार मान्न सकिन्छ । चिकित्सकहाँ धेरै मान्छे आउँछन् । जसलाई कोभिडको लक्षण देखिन्छ तर परीक्षण गरेको हुँदैन त्यस्ता व्यक्ति पनि धेरै आउँछन् । अस्पतलमा समेत चिकित्सक, नर्स, सफाइकर्मी र कर्मचारी लगायतलाई समेत ८० प्रतिशतलाई ओमिक्रोन भएकोजस्तो लाग्छ । यी सबै तथ्यलाई आधार मान्ने हो भने काठमाडौं, ललितपुर र भक्तपुरको कोर सिटीमा बस्नेमध्ये लगभग ८० प्रतिशतलाई ओमिक्रोन भएको भनेर भन्न सकिन्छ । अब यो गाउँतिर जाने क्रममा छ । केही दिनयताको जिल्लाको तथ्यांक हेर्ने हो भने अर्को दुई हप्ता काठमाडौंबाहिर बढ्न सक्ने देखिन्छ । काठमाडौंमा भने ५/७ दिनपछि ओह्रालो लाग्छ । काठमाडौंमा चेनब्रेक हुन्छ भन्ने मेरो अनुमान छ ।

यसको एउटा आधार संक्रमणको दर नै हो । योसँग डेल्टाभन्दा चार गुना बढी संक्रमण गराउने क्षमता छ । जसले गर्दा परिवारमा एउटालाई भयो भने अरूलाई नहुने सम्भावना धेरै कम छ । जुन संक्रमण छिटो फैलिन्छ त्यसले ठूलो संख्यामा मान्छेलाई संक्रमण गराउँछ । ठूलो संख्यामा संक्रमण भइसकेपछि यसले सर्ने ठाउँ पाउँदैन । सार्ने व्यक्ति नपाएपछि चेन ब्रेक हुन्छ । त्यसपछि घट्न थाल्छ । हामी कुरा गरिरहेको समयसम्म १ सय २२ ओमिक्रोनका बिरामी यो अस्पताल भर्ना भएका छन् । यसको संख्या १ सय २२ भने पनि धेरैजसो मान्छेलाई अरू रोगको परीक्षण गर्न आउँदा ओमिक्रोन देखिएको छ । कोभिडको कारणले गर्दा बिरामी छैनन् । आइसियु र अक्सिजनको समस्या परेको छैन ।  पिकमा पुग्दा पनि समस्या नपरेकाले यसकै कारण जटिलता हुन्छजस्तो लाग्दैन ।  

जब भाइरसले स्वरूप बदल्छ कि त बलियो भएर जान्छ, कि त कमजोर भएर जान्छ । यसपछि आउने भेरियन्टहरू कमजोर भएर जान्छ या अझै बलियो हुन्छ अहिले नै भन्न सकिँदैन । दुई वर्ष भइसकेको र अहिले हामी तेस्रो वर्षमा चलिरहेकाले धेरै नै खतरा भएर आउने सम्भावना कम हुन्छ । काठमाडौंमा यसले धेरै असर गरेको देखिएन । जति बिरामी आएका छन् ती सबैलाई सजिलै व्यवस्थापन गर्न सकिएको छ । काठमाडौंबाहिर यहाँजस्तो सुविधा छैन । त्यसैले काठमाडौं बाहिर पनि यसरी नै फैलियो भने काठमाडौंको भन्दा धेरै क्षति पुर्‍याउन सक्छ । अहिले लगाइएको खोप बुस्टर या अतिरिक्त डोज जे भने पनि अहिलेसम्मको अध्ययनअनुसार उस्तै-उस्तै प्रकृतिका लगाउँदा राम्रै हुन्छ भन्ने छ । उस्तै प्रकृतिबाट बनाएका खोप लिन सकिन्छ । अर्को प्रकृतिको खोप पनि लगाइएको छ तर यो अध्ययनकै चरणमा छ । सरकारको नीति उस्तै प्रकृतिको लगाउने भन्ने छ र मेरो सुझाव पनि त्यही छ ।

तीन वटा लहर हामीले अनुभव गर्‍यौं । पहिलो लहरमा मुख्य त्रास रह्यो । हामीकहाँ त्यो बेला धेरै डर त्रास देखियो । ज्वरो आएका बिरामीसमेत छुन डराउने अवस्था थियो । दोस्रो लहरमा आउँदा ती समस्या समाधान भए । कोभिडको बिरामी उपचार गर्न डराउन पर्ने अवस्था थिएन । तर दोस्रो लहरमा आइसियु र अक्सिजनको समस्या भयो । तेस्रो लहरमा भने फरक समस्या भयो । पहिलो र दोस्रोमा भएजस्तो कुनै समस्या भएन तर अस्पताल चलाउन गाह्रो भयो । अस्पतालमा चिकित्सक, नर्स, सफाइकर्मी ठूलो संख्यामा संक्रमित भएर काममा अप्ठेरो भयो । अहिले संक्रमित फर्किने क्रम जारी छ र सहज पनि भएको छ । अहिले सचेत काठमाडौंमा पनि हुनैपर्छ । सचेत भएन भने त नयाँ समस्या आउनसक्छ । किनकी नयाँ भेरियन्ट कतिबेला आउँछ, पत्तै हुँदैन । जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । काठमाडौंमा धेरै क्षति भएन । यता पनि हुँदैन भनेर काठमाडौं बाहिरकाले हेलचक्र्याइँ नगर्नुहोला । जनस्वास्थ्यका मापदण्ड सही तरिकाले प्रयोग गरौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ एवं उपनिर्देशक सहप्राध्यापक डाक्टर सन्तकुमार दास

Leave a Comment