![]()
People’s News : नेपालमा सङ्क्रमण वृद्धि भएको भए पनि अहिलेसम्म अस्पतालहरूमा चाप बढिनसकेको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । अधिकारीहरूले कुन भेरिअन्टका कारण सङ्क्रमण वृद्धि भइरहेको छ भनेर स्पष्ट नबताए पनि अघिल्लो साता पौष महिनामा सङ्कलित १,१४६ वटा नमुनाको एस-जीन स्क्रीनिङ गरिएको र त्यसको २२ प्रतिशतमा एस-जीन नभएको पत्ता लागेको थियो । एस-जीन नभएका भनिएका २५० नमुनामध्ये २४ वटालाई जीन सीक्वन्सिङका लागि पठाउँदा सबैमा ओमिक्रोन पाइएको थियो । सरुवा रोगसम्बन्धी विशेषज्ञ डा. अनुप बास्तोला सङ्क्रमण समुदायस्तरमा फैलिएकाले खोप अभियान तीव्र बनाउनुका साथै नयाँ देखिने सङ्क्रमितहरूको निगरानी बढाउनुपर्ने बताउँछन् । उनले भने, “नयाँ भेरिअन्टका कारण खोप लगाएकामा पनि सङ्क्रमण देखिन्छ। पहिला सङ्क्रमित भइसकेका व्यक्तिहरू पनि नयाँ भेरिअन्टका कारण फेरि सङ्क्रमित हुन सक्छन्। हामीले एकदमै नजिकबाट नियालेर अस्पतालमा भर्ना हुनेको दर के छ भनेर हेर्नुपर्छ । रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखेर खोप अभियानलाई तीव्र बनाउनुपर्छ। कोही अस्पताल भर्ना भयो भने खोप लगाएको व्यक्ति हो वा होइन कुनै गम्भीर समस्या थियो या थिएन यस्ता विषयको सूक्ष्म ढङ्गले निगरानी गर्न सकियो भने भावी दिनमा कस्तो असर पर्न सक्छ भनेर आकलन गर्न सकिन्छ ।