घमण्डले भोकै

Loading

People’s News : गुफामा एउटा स्याल बस्थ्यो। एकदिन सिकारका लागि दिनभर जंगल घुम्दाघुम्दा पनि केही फेला परेन। साँझ निरास भएर गुफातिर फर्कंदै थियो जंगल छेउमा एउटा ठूलो फाँट देख्यो। फाँट सुनसान थियो। यताउता हेर्‍यो केही देखेन। यतै कतै पो दैवले कुनै आहार जुराइदिएका छन् कि भन्दै फाँट चाहार्न थाल्यो। घुम्दै जाँदा पर एउटा कुनामा अंगुरको बोट फेला पर्‍यो। जसमा लटलम्म फल लागेको थियो, पाकेको थियो।  अंगुरको झुप्पो देख्नेबित्तिकै उसको मुख रसायो। भोकले त यसै पनि पहिलेदेखि नै पछ्याएकै थियो ।

बोटतिर हेर्‍यो दुईचार झुप्पा तलसम्म झुन्डिएको पायो। उफ्रेर केही झुप्पा तान्न खोज्यो। दुईचार झम्टा लगायो। तर, सकेन। कारण के थियो भने उसको उफ्राइको शक्तिभन्दा अंगुरको झुप्पा केही माथि थियो। उसले अंगुर खान गरेको प्रयास एउटा बाँदरले सुरुदेखि नै हेर्दै आएको थियो। स्याल निरास भएर फर्कन लागेको देखेर उसले मन थाम्न सकेन र भन्यो, ‘स्याल भाइ ! त्यत्तिकै फर्कन लाग्यौ नि किन ? अंगुर खान खोजेको होइन ? कि सघाउन आउँ ? सहयोग चाहिन्छ भने भन है ।

उसलाई बाँदरको सामु आफ्नो कमजोरी देखाउन मन लागेन । उसको स्वभाव अलि बढी नै घमण्डी थियो। ‘हो, बाँदर भाइ ! नखाइकनै जाने विचार गरेको छु,’ उसले भन्यो। ‘रात पर्नै लागेको छ, यतिबेला अर्को खाना के पाउँछौ र खान्छौ ?’ बाँदरको प्रश्न थियो। ‘केही छैन भाइ ! खान त खोजेको हुँ। एक दुईपटक प्रयास गरेको पनि हुँ। तर, यो अंगुर अमिलो रहेछ। पाए खाउँला। नपाए नखाउँला। यस्तो अमिलो अंगुर खानुभन्दा भोकै सुत्नु वेश,’ स्यालले भन्यो। यति भनेर ऊ यताउता हेर्दै नहेरी गुफातिर लाग्यो। बाँदर मुसुमुसु हाँस्दै अर्को हाँगातिर सर्‍यो। किनभने उसले अहिलेसम्म स्यालले अंगुर अमिलो भएर होइन टिप्न नसकेर नखाएको हो भन्ने बुझिसकेको थियो।

नैतिक शिक्षा : कमजोरी लुकाउनु राम्रो होइन। न कसैको सहयोग लिनु नै शिर झुकाउनु हो। पहिलो कुरा त बुद्धिमानी त्यही हुन्छ जहाँ अन्तिम क्षणसम्म पनि प्रयास गरिन्छ। एकाध पटक असफल हुँदैमा परिश्रम गर्न छाड्नु हुँदैन। अर्को कुरा प्रयास गर्दा पनि सफल भइएन भने पनि केही छैन। तर, कमजोरी लुकाएर हिँड्नु भने हुँदैन। बरु कुनै अनुभवीको सहयोग लिनु राम्रो हुन्छ । नजानेको कुरा सोध्दा सानो हुँदैन। सके सहयोग पाइन्छ, न भए पनि तरिका पत्ता लगाउन सकिन्छ।

Leave a Comment