![]()
People’s News : हरि धूर्त थिए। उनका साथी बरी भने सोझो खालका थिए । उनी अन्धविश्वासमा पनि मक्ख पर्र्थे । एक पटकको घटना हो । हरिलाई हरेक खानेकुरा खाइरहनु पथ्र्यो । जति खाए पनि उनी अघाउन्नथ्ये । एक्लो बसाइले पनि उनी दिक्क भइसकेका थिए । कोही साथीसँग कतै गएर मिठो खान पाए हुने भन्ने विचार उनको मनमा आयो। धेरै साथी सम्झिए । अन्ततः बरीलाई साथ लिएर आफ्नो भावी ससुराको घर जाने निर्णय गरे। बरी पनि त्यसका लागि तुरुन्तै तयार भए । त्यसपछि हरि र बरी त्यसतर्फ लागे । केही घण्टाको हिँडाइपछि उनीहरू जंगलको बीचतिर पुगे । हरिले भने, ‘साथी बरी, मैले तपाईंलाई एउटा गम्भीर विषयबारे भन्नु छ । बरीले भने, ‘भन्नुस् साथी, म तपाईंका लागि जे गर्न पनि तयार छु । बरु भन्नुस्, त्यो काम गर्न म सक्छु कि सक्दिनँ ? हरिले काम सामान्य भएकाले सजिलै सक्ने बताए । हरिले भने, ‘के तपाईंले जडीबुटी देख्नुभएको छ ? यसबारे थाहा छ ? बरीले थाहा भएको संकेत टाउको हल्लाएर गरे । उसो भए भरे खाना खाने बेलामा सानो सहयोग गर्नुपर्छ । खाना खान थाल्दा मलाई पेट दुख्छ । त्यसबेला यही ठाउँमा आएर यो जडीबुटी लिन दौडिनु र यसको जरो खनेर पखालेर ल्याएर दिनू । त्यसपछि म सजिलैसँग खान सक्छु । ’बरी साथीका लागि काम गर्न तयार भए ।
दुवैजना जंगलको बाटो हिँडेर घर पुगे । हुन लागेका सम्भावित ज्वाइँ पुगेपछि परिवारले स्वागत गर्यो । उनीहरूको सम्मानमा निकैबेर लगाएर भोज तयार पारियो । खान निम्ता भएपछि दुवै पुगे । जब खान सुरु भयो तब हरिले बरीलाईभने, ‘मित्र, मेरो पेट दुख्न थाल्यो । हतार गर्नुहोस् । ’बरी सुटुक्क बाहिर निस्किए र दौडिए । हरिले सम्पूर्ण भोज स्वादले खाए । खाइसक्दा बरी जडीबुटी लिएर फर्किए । त्यसबेलासम्म खानेकुरा सकिएर भाँडा माझ्ने काम पनि सकिएको थियो । बरीले आफूलाई धोका भएको बुझे ।
नैतिक शिक्षा : जीवनमा केही पात्र धेरै चतुर र धूर्त हुन्छन् । तिनले सधैं तपाईंलाई पछाडि पार्न खोज्छन् । त्यस्ता पात्र चिनेर आफू होसियार हुनुपर्छ । तिनको तरिका नक्कल गर्नु हुँदैन । ताकि अरूलाई त्यसरी दुःख दिने सोच तपाईंमा आयो भने अर्को व्यक्ति तपाईंजस्तै सिकार हुन सक्छन् । अथवा तिनले जस्तो तपाईंले अरूबाट फाइदा लिन सक्नु हुन्छ भन्ने पनि छैन ।