गुन्डा नेता बनेर देश चलाए प्रगति भन्दा दुर्गती पथ

Loading

पिपुल्स न्युज : २०४६ सालपछि आर्थिक कारोबार बढ्यो । उद्योग धन्दा बढे, ठेक्कापट्टा र लेनदेनका गतिविधि बढ्न थाले । क्यासिनो पनि शुरू भयो । आर्थिक कारोबार बढेपछि ऋण उठाइदिने बहानामा गुण्डागर्दी शुरू भएको हो ।

त्यतिवेलाका यस्ता गतिविधिमा संलग्नहरू अहिले कोही सांसद बनेका छन्, कोही व्यापारी र ठेकेदार छन् । पोखरा, भैरहवा, विराटनगर जस्ता शहरैपिच्छे फरकफरक समूहमा त्यस्ता टोली सक्रिय थिए ।गुण्डागर्दीले जरो गाडिरहेका वेला द्वन्द्वकाल शुरू भयो । द्वन्द्वकालमा गुण्डाहरूलाई पनि थ्रेट नभएको होइन । तर द्वन्द्वमा नेपाल प्रहरीको उनीहरूसम्मको पहुँच साँघुरो बन्यो । सबैभन्दा सानो हतियार बोक्ने नेपाल प्रहरी ‘फ्रन्टलाइन एजेन्सी’ थियो । उसले लडाइँको अग्रमोर्चामा लड्नुपर्ने भयो ।

‘जनरल पुलिसिङ’ भन्दा बाहेकका काममा प्रहरीले ध्यान दिनुपर्ने भयो । त्यो हुँदा गुण्डागर्दीमा संलग्नहरूले झांगिने ठाउँ पाए । शहरी क्षेत्रमा कुनै न कुनै रूपमा प्रहरीले उनीहरूलाई हेरिरहेको हुन्थ्यो । तर, २०५०/५२ सालबाटै उनीहरूले राजनीतिक छहारी लिन पनि शुरू गरे ।

त्यतिवेलाको अवस्था अनि अस्थिर राजनीतिले उनीहरूलाई नेताको ओत लाग्न सहज भयो । अर्कातिर उनीहरूले आफूलाई पनि संगठित गर्न थाले । प्रहरी–प्रशासनतिर पनि कुनै न कुनै रूपमा पहुँच बढाउन थाले ।

प्रहरी–प्रशासनमा पनि थरीथरीका मान्छे थिए । कसैलाई चाँडै पैसा कमाउनु थियो । कसैलाई चाँडै माथि पुग्नुपर्ने थियो । सुनिन्छ, त्यो वेला जुनसुकै पार्टीका राजनीतिज्ञहरू पनि विमानस्थलमा गएका वेला दुई/तीन सय मोटरसाइकलको र्‍याली उनीहरूले गराइदिन्थे । खाना पनि खुवाइदिन्थे, बस्ने प्रबन्ध पनि मिलाइदिन्थे । त्यति भएपछि ऊ दलको राम्रो कार्यकर्ता हुने भइहाल्यो ।

एकातिर द्वन्द्वकालमा ज्यानको खतरा थियो, अर्कातिर उनीहरूलाई चलाएर सरुवामा पछाडि पर्नुभन्दा केही ‘कम्प्रोमाइज’ गरौं भन्ने मनस्थितिमा पनि केही अधिकारीहरू पुगे । फेरि यहीवेला अनौपचारिक बैंकिङ कारोबार मौलायो । चर्को ब्याजमा ऋण लगानी हुन थाल्यो । सुन्छु, त्यो वेला प्रहरी प्रशासनमा संलग्न वा सरकारी कर्मचारीले पनि लगानी गरेका थिए । यसले अपराधलाई बढायो ।

केही अधिकारीलाई फाइदा त भयो होला तर त्यसले गुण्डागर्दीलाई चर्कायो । सुन, सुपारी र रक्तचन्दन तस्करी पनि बढ्यो । देशलाई राजश्व तिरेको छैन, आर्थिक कारोबार चाहिं बढेको बढ्यै गर्‍यो । जग्गाको कारोबार पनि त्यतिकै भयो । करको बाटो छलेर ठेक्कापट्टा पनि बढिरह्यो ।ठेक्कापट्टामा सिण्डिकेट नै हुनथाल्यो । दुई पक्ष मिलेर ठेक्कामा लाग्न थाले, यसमा सबैले बीचमा गुण्डा चलाएका छन् । कसैले बाटो क्लियर गरिदिने, कसैले स्वार्थ अनुसार ‘सेफ ट्रान्जिट’को काम गरिदिने गर्न थाले । सुनिन्छ, अहिले राजनीतिमा संलग्न काभ्रेका एक जना गुण्डाले त्यो वेला गाडीमा पुलिस नै राखेर पैसा बाँड्दै हिंडेका थिए रे !

पहिले ठेकेदारहरूले पनि प्रतिस्पर्धा गर्ने वेलामा गुण्डाहरूलाई प्रयोग गरे । अर्काको विरुद्धमा प्रयोग गरे । गुण्डाहरू पनि जसले बढी पैसा दिन्छ, त्यतैतिर लाग्न थाले । पछि त उनीहरू सबैका लागि थ्रेट बने ।

गुण्डागर्दी चरमोत्कर्षमा पुग्ने वेलामा समूह–समूह भएर क्षेत्र तोक्न थाले । रेस्टुराँ र हाउजिङमा पैसा लिने मात्र होइन, कसैले घर बनाउँदैछ भने माग्न थालेपछि गुण्डागर्दीको पराकाष्ठा भयो । आमनागरिकले थेग्न नसक्ने अवस्था आयो ।

माओवादी द्वन्द्व समाप्त भएपछि वाईसीएल आयो । लड्न भिड्न तयार तालिम प्राप्त खुँखार जत्था आउँदा अन्य राजनीतिक दलमा लडाकु मनका कार्यकर्ता घटिसकेका थिए । कति द्वन्द्वमा मारिए, कोही घाइते भए । कोही तर्सिएका थिए ।

Leave a Comment