![]()

पिपुल्स न्युज काठमाण्डौ : कारोबारको अघिल्लो दिन अर्थात् बुधबार १.१८ अंकले बढेको नेप्से बिहीबार फेरि ओरालो लागेको छ। ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमा झरेको छ। नेप्पे घटे पनि कारोबार रकम भने सामान्य वृद्धि भएको छ। यसदिन २३० कम्पनीको ९ अर्ब ५० करोड बराबरको शेयर खरिदबिक्री भयो। बिहीबार ९ अर्ब ३५ करोड बराबरको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यो १५ करोड कम हो । यस्तै ,यसदिन ठूला कम्पनीको शेयर मापन सेन्सिटिभ परिसूचक १.६२ प्रतिशत अर्थात् ८.९ अंकले घटेर ५४१.७७ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ। जीवन विमाको परिसूचक सर्वाधिक ३४२.०२ अंकले घटेको छ। यस्तै निर्जीव विमा २३३.८४, विकास बैंक १८६.१३, जलविध्युत ११६.७८, वित्तीयको परिसूचक ११३.८८ अंकले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । मंगलबार र बुधबार पनि कारोबारको आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। बुधबार ५९ करोड ९३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो। बिहीबार भने यो कम्पनीको ५७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो। बुधबारको तुलनामा बिहीबार कारोबार रकम घटेको हो । कारोबारमा आएका १३ समूह राताम्मे भएको शेयर बजारमा दुई कम्पनीको शेयरमा सर्किट लेभलमा कारोबार भएको छ। सानिमा लाइफ इन्स्योरेन्स १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको ९.९९ प्रतिशतले सर्टिक ब्रेक लागेको हो । यस्तै, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण कावेली पावरको शेयर ६ प्रतिशतभन्दा बढीले घटेको छ।