काठमाण्डौ उपत्यकामा राति आठ बजेपछि सवारीसाधन सञ्चालनमा रोक

Loading

People’s News :  उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले बिहीवारबाट काठमाण्डौ उपत्यकामा राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन् । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा आएको निरन्तर वृद्धि सँगै काठमाण्डौ, भक्तपुर र ललितपुरमा राति आठ बजेपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीहरूको मङ्गलवार बसेको बैठकको निर्णयबारे जानकारी दिँदै उनले साँझको समयमा हुने भिडभाड नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको बताए । बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाका अनुसार ‘स्मार्ट लकडाउन’को मापदण्डका आधारमा उपत्यकासहित अन्य जिल्लाहरूमा समेत सङ्क्रमणको अवस्था हेरि निषेधाज्ञाहरू लागु हुनेछन् ।

सीसीएमसीले पाँच निर्धारक तय गरेर त्यसकै आधारमा बन्द र खुला रहने क्रियाकलापको सूची तयार गरेको उनले जानकारी दिए । “पाँच वटा अवस्थालाई २०-२० दिएर १०० पूर्णाङ्क प्रस्ताव गरिएको छ। ६५ अङ्क माथि आएको अवस्थामा रेड जोन घोषणा गर्ने भनिएको छ,” खतिवडाले भने । “कुन ठाउँ कुन वर्गमा पर्छ त्यही अनुसार कस्ता क्रियाकलापहरू खुल्ने र बन्द हुने भन्ने उल्लेख गरिएको छ । गत साउन १५ गतेको सीसीएमसी निर्देशक समितिको बैठकबाट सैद्धान्तिक स्वीकृति पाएको मापदण्ड कार्यान्वयनमा आउन बाँकी छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सङ्क्रमणको तथ्याङ्क हेरेर निषेधाज्ञाको अवस्था हेरफेर हुने बताए ।

Leave a Comment