कोभिड डेल्टा भेरिअन्ट : कडा लकडाउन ठूलो भिड राजधानीबाट बाहिरिँदै

Loading

People’s News : बाङ्लादेशमा राष्ट्रव्यापी कडा लकडाउन सुरु हुनै लागेका बेला राजधानी ढाकाबाट बाहिरिन विभिन्न टर्मिनलहरूमा मानिसहरूको ठूलो भिड जम्मा भएको छ । सोमवारदेखि सात दिनसम्म बाङ्लादेशमा आपत् नपरेसम्म कसैलाई पनि घर छोड्ने अनुमति नदिइने बताइएको छ । त्यसैकारण मानिसहरू व्यस्त ढाका शहर छोडेर विभिन्न अन्य शहर र गाउँमा रहेका आफ्ना घर जान हतार गरिरहेका छन् । अहिले बाङ्लादेशमा कोभिड हुनेको सङ्ख्या बढेको छ र धेरै जनामा भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरिअन्ट भएको बताइएको छ ।

अवस्था : बाङ्लादेशमा पछिल्लो लहर करिब छ हप्ता अगाडि सुरु भएको हो । १५ मे मा त्यहाँ २६१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो । शुक्रवार त्यहाँ ५,८६९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने १०८ जनाको मृत्यु भएको थियो । शुक्रवारको तथ्याङ्क कोरोनाभाइरस महामारी सुरु भए यताकै बाङ्लादेशको दोस्रो उच्च मृत्यु सङ्ख्या हो । धेरै अस्पतालमा बिरामीहरू भरिभराउ छन् र खासगरी भारतसँग सीमा जोडिएका अस्पतालहरूमा झन् बढी समस्या भएको छ ।

के उपाय चालिएको छ ? : सङ्क्रमण सङ्ख्या तीव्र रूपमा बढेपछि रेल र बस सेवाहरू यस अघि नै बन्द गरिएका छन् । आपत्कालीन सेवा मात्र चालु छन्  । शहर छोड्ने आशामा रहेका मानिसहरू यातायात बन्द रहेका कारण या पैदल यात्रामा छन् वा निजी सवारी साधन भाडामा लिएका छन् । बाङ्लादेशको प्रेस सूचना विभागले जारी गरेको विज्ञप्ति अनुसार सरकारी, अर्ध सरकारी र निजी कार्यालयहरू सबै बन्द गरिनेछन् ।

प्रभाव : दक्षिण एशिया सम्पादक जील मक्गिभरिङका अनुसार कडा लकडाउनले न्यून आय भएका श्रमिक र दैनिक लादारी गर्ने श्रमिकहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । स्वास्थ्य विभाग प्रवक्ता रोबेड अमिनले एएफपी समाचार संस्थालाई बताए अनुसार मानिसहरूलाई घर छोड्नबाट रोक्न प्रहरी र सीमा सुरक्षाकर्मीहरू तैनाथ गरिनेछ  उनले आवश्यक परे सेना पनि परिचालन गरिने बताए । असाध्यै खतरनाक र भयानक स्थिति पैदा भएको छ,”उनले भने । यदि अहिले नै यसलाई ठेगान लगाएनौँ भने हामीले भारतको जस्तै स्थिति भोग्नुपर्ने हुन्छ । कोभिड सङ्क्रमणको दोस्रो लहरले गत एप्रिल महिनामा भारतमा ठूलो सङ्कट उत्पन्न भएको थियो । भारतमा अहिले क्रमशः साम्य हुँदै गएका र व्यवसाय क्रमशः खुल्न लागे पनि विज्ञहरूले तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् ।

Leave a Comment