![]()

People’s News : नेपालमा थप २,४४४ जनामा कोरोनाभाइरस सङ्क्रमण र ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार बताएको छ । पछिल्लो २४ घण्टामा ११,६४० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये ४,९९२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो । कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको हो । सो अवधिमा ३,८५३ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९२.६ प्रतिशत पुगेका छन् । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या छ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,०५१ पुगेको छ । अहिले कुल ३५,०७५ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८७५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । कुल सक्रिय सङ्क्रमितमध्ये ८,३९७ जना काठमाण्डौ उपत्यकामा रहेका छन् ।
अहिले देशभरिका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २६ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डौ उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ । सोमवार पुष्टि भएकामध्ये काठमाण्डौ ३५५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः ११२ र ४७ जना रहेका छन् । एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १९३ जना र मोरङ ११६ जना रहेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६५७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १९३ जना भेन्टिलेटरमा छन् । लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२५ प्रतिशत महिला छन् भने ६०.७५ प्रतिशत पुरुष छन् ।