वरिपरि घुमेको राजनीति

Loading

People’s News : वाकपटुतामा माहिर मानिने प्रधानमन्त्री ओलीको बोलीमा राजनीति र सिंगो समाज लठ्ठ पर्‍यो :  नेपाली राजनीतिमा पछिल्ला केही वर्षमा एउटा नाम निकै चर्चित छ– प्रधानमन्त्री केपी शर्मा ओली। चाहे विवादित कामका लागि होस् चाहे नयाँ सपना बाँड्न। प्रधानमन्त्री ओलीको नाम कुनै न कुनै रूपमा जोडिएकै हुन्छ। नेपाली राजनीतिमा ओलीलाई एक आशाको किरणको रूपमा हेरिएको थियो। तर जब ओली प्रधानमन्त्रीको पदमा पुगे, त्यो आशा धमिलिँदै गयो। लामो संघर्ष र बलिदानमा गुज्रिएको देशमा नेपालको संविधान २०७२ ले निभ्नै लागेको दियोमा तेल थप्ने काम गरेको थियो। तर, संविधानसँगै भारतले गरेको नाकाबन्दीले नेपाललाई अस्तव्यस्त नै बनायो। भारतसँग परनिर्भर रहेको हाम्रो देशमा हाहाकार मचिन थाल्यो। त्यसबीच ओली पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री बनेलगत्तै ओलीले भारतको चर्को विरोध गर्न थाले। चीनसँग विभिन्न सन्धि गरे। केही समय चीनबाट तेल तथा खाद्यान्नहरू आयात पनि गरे।

भारतको व्यवहारबाट आजित भएका नेपाली नागरिकलाई भारतविरुद्ध खुलेर बोलेको देख्दा/सुन्दा केही राहत महसुस भयो। उनीहरूले ओलीमा आशाको किरण देखे। ओलीले छोटो समय सत्ता सम्हाले पनि घरघरमा ग्याँसको पाइप पुर्‍याउनेदेखि पानीजहाज र रेलका सपना बाँड्न थाले। नेपालीले फिल्ममा मात्र देखेका पानीजहाज र रेल चढ्न नै पाइने भयो भनेपछि त ओलीलाई राजनेता नै मान्न थाले। त्यहीँबाट सुरु भएको थियो ओलीको चर्चा। त्यसपछि उनको सरकार गिर्‍यो तर उनी नेपाली नागरिकमा चर्चाका विषय बनिरहे। करिब तीन वर्ष अगाडि ओलीको एक निर्णयले नेपाली राजनीति पुनः तात्यो। त्यो थियो, बाम गठबन्धन। उनले रातारात पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य गरेर चुनावी तालमेल गर्ने र अन्त्यमा पार्टी एकता गर्ने निर्णय सुनाए। विगत लामो समयदेखि अस्थिर सरकार देखेका/भोगेका नेपाली नागरिकका लागि त्यो ठूलो राहत थियो। उनीहरूले मन खोलेर नेकपालाई झन्डै दुईतिहाईको सरकार बनाउने भोट दिए। तर त्यहीँबाट सुरु भयो, नेपाली राजनीतिको चर्तिकला। यही बहुमतलाई देखाएर अन्य केही साना पार्टीका साथ झन्डै दुईतिहाई सांसद सदस्यको साथ लिएर ओली प्रधानमन्त्री बन्न पुगे।

बामएकतालाई संसारका कुनै पनि शत्तिाmले फोड्न नसक्ने दाबी गर्दै आएका ओलीका आँखाअगाडि पार्टी जुट्नै नसक्ने गरी फुटेको छ।

प्रधानमन्त्री बनेसँगै ओलीले पनि स्थिरताको निकै ठूलो हल्ला गरे। तर त्यो हल्ला धेरै टिक्न सकेन। हल्लामै सीमित बन्यो। ओलीले सत्ता सम्हालेको दुई वर्ष मात्र भएको थियो, पार्टीमा विवाद सिर्जना हुन थाल्यो। अध्यक्ष प्रचण्डसँग आलोपालो सरकारको नेतृत्व गर्ने बाचा गरेका ओलीले साढे दुई वर्ष नपुग्दै बाचा तोड्न थाले। पार्टीलाई एकलौटी तरिकाले चलाउन थाले। सरकारमा रहेका ओलीले न पार्टी निर्णय माने न त पार्टीसँग कुनै सल्लाह सुझाव नै गरे। यसै कुराले नेकपामा रडाको मचिन थाल्यो। विवाद यहाँसम्म पुग्यो कि नेकपा एमाले हुँदा लामो समय सहकार्य गरेका माधवकुमार नेपालसमेत प्रचण्ड कित्तामा जोडिन पुगे। तर पनि ओलीले यसलाई गम्भीरतापूर्वक लिएनन्। दुईतिहाईको दम्भले ओलीले आफ्नो घर भत्किएको पत्तै पाएनन्। विवादित विषयमा मुछिएका आफूनिकट नेताहरूलाई उनी बचाउँदै गए। आफ्नो गुट बचाउँदा पार्टी स्खलित भएको पत्तै पाएनन्। पार्टीको विवाद बढ्दै गयो। त्यसै क्रममा भारतले नेपालको भूभाग कालापानीमा सडक खन्न थालेको खबर बाहिर आयो ।

त्यसैको मौका छोपेर ओलीले नेपालको नक्सामा कालापानीसहितको भूभाग थप्ने निर्णय गरे । उनलाई यो कुराले पुनः चर्चामा ल्यायो । यसै क्रममा प्रचण्डले ओलीलाई १९ पृष्ठ लामो आरोप पत्र बुझाए । त्यसपछि सुरु भयो, ओलीलाई थप समस्या । पार्टीको विवादलाई राष्ट्रिय विवाद बनाएर ओलीले संविधानविपरीत संसद् नै विघटन गरिदिए। जुन नेपाली राजनीतिमा नसोचेको काम थियो । उनले संविधानको मर्म कुल्चिने कोसिस गरे । उनको कोसिसलाई अदालतले सफल हुन दिएन। संसद् ब्यूँतियो तर नेकपा फुट्यो। नेकपालाई अदालतले नेकपा एमाले र माओवादी केन्द्रमा नै फर्काइदियो।

एमालेमा फर्किएपछि उनले माधव नेपालहरूलाई पार्टीमा समेट्न सक्नु पथ्र्यो। तर ओलीको इगो हट जो भएको थियो। उनले पार्टीको स्थायी कमिटी नै फेरबदल गरे। नेपाललगायतका नेतालाई कारबाही गरे। त्यसपछि नेकपा एमाले पनि फुटको संघारमा पुग्यो। एकातर्फ पार्टीको आन्तरिक विवाद चल्दै थियो, त्यसैबीच ओलीले संसद्मा विश्वासको मत लिने बताए। उनलाई आफ्नै पार्टीको एक समूहले सहयोग नगर्दा विश्वासको मत प्राप्त हुन सकेन। ठूलो दलको हैसियतले उनी पुनः प्रधानमन्त्रीमा नियुक्त भए। यहाँ पनि उनले ३० दिनमा विश्वासको मत लिनुपर्ने थियो त्यो पनि लिएनन्। राजीनामा पनि दिएनन् । संविधानको धारा ७६(५) को प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिलाई आश्वस्त पारे। त्यसको भोलिपल्ट बिहान पत्रकारहरूसँग कुरा गर्दै विश्वासको मत पाउने आधार नदेखेकाले नलिएको र कसैले पुर्‍याएर ल्याउँछ भने आफूले स्वागत गर्ने बताए । विपक्षीको आधार पुग्ने देखेपछि उनी आफैं प्रधानमन्त्रीको दाबी पेश गर्न पुगे। जसले उनी सत्ताका लागि कतिसम्म कसरत गर्न सक्छन्, त्यसलाई प्रष्ट पार्छ ।

त्यसपछि मध्यरातमा क्याबिनेटको बैठक बोलाएर उनले पुनः संसद् विघटन गरे। संसद् विघटनप्रति प्रष्ट नबनेको संविधानलाई नै अनेक ढंगबाट व्याख्या गरेर ओलीले दुईदुई पटक संसद् भंग गरे। अझ अचम्मको कुरा त बितेका तीन वर्षमा १६ पटक मन्त्रिमण्डलको पुनर्गठन गरे उनले। एउटै प्रधानमन्त्रीले तीन वर्षमा १७ पटक मन्त्रिपरिषद् परिवर्तन गर्नु स्थिर सरकारको परिकल्पना गरेको संविधानको मर्मविपरीत नभएर के हुनसक्छ ? पछिल्ला तीन वर्ष चार महिनामा प्रधानमन्त्री ओलीले ५९ जनालाई मन्त्री बनाइसकेका छन्। एकपटक मन्त्रिमण्डल पुनर्गठन हुँदा राज्यलाई पर्ने आर्थिक भार त एक ठाउँमा होला त्योभन्दा गलत संस्कारको विकास हुनुले मुलुकको राजनीतिक यात्रा गलत दिशातर्फ जाने कुरामा दुईमत रहेन ।

 

 

झन्डै दुईतिहाई बहुमतसहित शक्तिशाली प्रधानमन्त्री बनेका ओली एउटै कार्यकालमा प्रधानमन्त्रीको सेवासुविधा नछोडी दुईपटक प्रधानमन्त्री बन्न पुगे। तर सरकार नेतृत्वका तीन वर्ष बित्दा संसद्मा विश्वासको मतसमेत पाउन सकेनन् । आफैं विश्वासको मत माग्दै संसद्मा पुगेका ओलीलाई संसद्ले अविश्वास गरे पनि केही फरक परेन । संसद्ले अविश्वास गरेका प्रधानमन्त्री राजीनामा दिनुको साटो चुपचाप प्रधानमन्त्री निवासमै बसे । प्रधानमन्त्रीले पाउने सेवासुविधा लिएर पुनः प्रधानमन्त्री बनेर कार्यकालको अंक थप्ने काम गरे । २०७८ वैशाख २७ गते विश्वासको मत नपाएपछि ओलीले राजीनामा दिनुको साटो वैशाख ३१ गते ठूलो दलको हैसियतमा दोस्रोचोटि प्रधानमन्त्रीको सपथ लिए । संघीय गणतन्त्रलाई संस्थागत बनाउने जिम्मेवारीका साथ सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीको प्रारम्भ नै शुभ थिएन। तर वाकपटुतामा माहिर मानिने प्रधानमन्त्री ओलीको बोलीमा राजनीति र सिंगो समाज लठ्ठ पर्‍यो ।

ओलीले प्रधानमन्त्री भएको साढे तीन महिनापछि चारपटकसम्म मन्त्रिमण्डल बिस्तार गरेर २०७५ जेठ १८ गते मात्रै २५ सदस्यीय मन्त्रिमण्डल सहितको सरकारलाई पूर्णता दिएका हुन् । ससाना कुराबाट असन्तुष्ट भइहाल्ने र ससाना कुराबाट पुलकित बनिहाल्ने ओलीले सामान्य कारणबाट मन्त्री हटाउने र सामान्य प्रभावबाट मन्त्री बनाउने काम गर्दै आएका छन् । नेपाली राजनीतिमा आफू सत्तामा टिकिरहनु नै स्थिरता मान्ने चिन्तनलाई प्रधानमन्त्री ओलीले अझ स्थापित बनाउन सफल बनेका छन् । अब त जय अस्थिरता भन्नुको कुनै विकल्प रहेन । बामएकतालाई संसारका कुनै पनि शक्तिले फोड्न नसक्ने दाबी गर्दै आएका ओलीका आँखाअगाडि पार्टी जुट्नै नसक्ने गरी फुटेको छ । ओली पार्टी फुटलाई स्वीकार्न तयार छैनन् ।

Leave a Comment