राष्ट्रपतिलाई सार्वजनिक स्थलमै चड्कन

Loading

Peope’s News : फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला मुहारमा चड्कन हानिएको छ । सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए । त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हान्छन् । लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन् ।

दुईजना पक्राउ : फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ । घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन् । हामीले अति हिंसक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन्, उनले एक पत्रिकालाई भने । उनले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गरेका छन् । माक्रोँका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन् । अर्को वर्षको चुनावमा माक्रोँको सम्भावित प्रतिस्पर्धी लोकप्रियतावादी नेतृ मारिन ल पेनले राष्ट्रपति विरूद्धको हिंसा अस्वीकार्य रहेको बताइन् । एकजना कनिष्ठ आन्तरिक मामिला मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन प्रत्येक फ्रान्सेली जनतामाथिको चड्कन भएको बताएका छन् ।

माक्रोँ

को हुन चड्कन हान्ने ? : माक्रोँलाई चड्कन हान्ने पुरुषले ‘मोँजुवा सान्ट डेनी’ भनेर चिच्च्याएका थिए । त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ । चड्कन हानेको घटनापछि राष्ट्रपति माक्रोँ फेरि घटनास्थलमा पुगेर त्यहाँ रहेका मानिसहरूसँग हेलमेल गरिरहेको भिडिओमा देखिन्छ । हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन । स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ । चड्कन हान्ने घटना लगत्तै त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षा अधिकारीहरू परिचालित भएका थिए । BBC

1 thought on “राष्ट्रपतिलाई सार्वजनिक स्थलमै चड्कन”

Leave a Comment