राउटे युवतीको अश्लील भिडिओ बनाउनेविरुद्ध दुई वटा अभियोग

Loading

People’s News : राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्दै अश्लील भिडिओ बनाएको पाइएपछि उक्त लोपोन्मुख फिरन्ते समुदायको संरक्षणका निम्ति कानुनी र सचेतना अभियान अघि बढाइएको सुरक्षा निकायले जनाएको छ । अघिल्लो साता १८ र २२ वर्षीया राउटे युवतीसँग होटेलमा बसेको अश्लील भिडिओ बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । जबरजस्ती करणीसहित दुईवटा अभियोगमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । एक अनुसन्धानकर्ताले विगतका वर्षहरूमा राउटेको परम्परागत जीवनशैलीमाथि जोखिम बढ्दै गएको भन्दै त्यसमाथि थप अतिक्रमण हुने गतिविधि कसैले गर्न नहुने बताएका छन् । स्थानीय सामाजिक कार्यकर्ताले सुर्खेतको राउटेबस्तीबाहिर सुरक्षा अवस्था कडा पारिएको र भित्र कसैलाई पनि उक्त घटनाबारे थाहा नभएको बताए ।

सुरक्षा निकाय के भन्छ ? : नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले यौन दुर्व्यवहार गर्ने र अश्लील भिडिओ खिच्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइएको बताए । उनले भने, मानव ओसारपसार र जबरजस्ती करणी भन्ने गम्भीर किसिमको मुद्दा लगाइँदैछ । मान्छे लिएर गएर यौन दुर्व्यवहार गरेको उनीहरूले सकारेका छन् । यूट्यूब र अन्य सामाजिक सञ्जालमा प्रेषित भिडिओ हटाउने प्रयास गरिरहेको भए पनि गाह्रो भएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता कुँवर थप्छन्, धेरै मान्छेले शेअर गरेपछि भिडिओ हटाउन कठिन हुँदो रहेछ। हामीले धेरै प्रयास गरेका छौँ। जुनजुन देखा परेको छ त्यो हटाइदिइरहेका छौँ । उक्त घटनाप्रति नेपाल प्रहरी संवेदनशील रहेको र गर्न सक्ने सबै गरिरहेको प्रवक्ता कुँवरले उल्लेख गरे । उक्त भिडिओ सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले सोमवार केन्द्रबाट विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरूमार्फत् अमर्यादित कार्य गर्ने र चरित्र हत्या गर्ने उद्देश्यबाट प्रेरित सामग्री बनाउनेहरूलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ । प्रहरी प्रवक्ता कुँवरले राउटेहरूसँग काम गर्ने संस्थाहरूलाई समन्वय गरेर प्रहरीले स्थानीय अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताए ।

राउटेबस्तीको अवस्था के छ ? : उक्त घटनापछि गुर्भाकोट नगरपालिकाअन्तर्गत सुर्खेत जाजरकोट सडकखण्डनजिकै पर्ने सडक छेउमा बनाइएको अस्थायी राउटेबस्तीबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ । सुर्खेतको लेकवेसीबाट डेढ साताअघि मात्रै राउटेहरू उक्त ठाउँमा सरेको बताइन्छ । एउटा गैरसरकारी संस्था सामाजिक सेवा केन्द्रअन्तर्गत जोडी शिक्षकका रूपमा काम गर्ने लालबहादुर खत्रीले बाहिरका कसैलाई पनि बस्तीभित्र प्रवेश गर्न नदिइएकाले पीडित भनिएका महिला र मुखिया बाहेक अरूलाई घटनाका बारेमा केही थाहा नभएको बताए । उनले भने, केही दिनअघिबाट एकजना राउटे युवती टिकटकमा भाइरल भएपछि यूट्यूब चलाउनेहरू र अरू बाहिरका मानिसहरू आएर भिडभाड हुन थालेको थियो । मान्छे बढी आएपछि उनीहरूको रोग हाम्रोमा सर्छ र हाम्रो रोग उनीहरूलाई लाग्छ भनेर राउटेहरू भन्दै थिए । मानिसहरूलाई यहाँ नआओ भनेर भनिरहेको अवस्थामा यो घटना भएको हो । राउटे समुदायसँगकै सहमतिमा सशस्त्र र जनपद प्रहरी उनीहरूको पछिल्लो आवास क्षेत्रमा खटाइएको उनले बताए ।

प्रहरीले कस्तो अनुसन्धान गरिरहेको छ ? : सुर्खेत प्रहरीका प्रमुख एसपी राजेन्द्र भट्टले होटेल सञ्चालकसहित तीन जनालाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । उनले जोसुकै मान्छे राउटे बस्तीमा गएर टिकटक र विभिन्न किसिमका भिडिओ बनाउने प्रवृत्ति देखिएकाले प्रहरी खटाएर अनावश्यक व्यक्तिहरूलाई जान नदिने व्यवस्था मिलाइएको बताए । उनले भने, हामीले गम्भीर भएर हेरिरहेका छौँ । यो मुद्दाबाहेक साइबर अपराधमा पनि अनुसन्धान अघि बढेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास अधिकृतको नेतृत्वमा एउटा समिति गठन भएर मनोपरामर्श दिने कुरा भएको छ । प्रहरी प्रमुख भट्टले मादकपदार्थ सेवन गर्ने, बाहिर डुल्ने जस्ता विकृतिहरू राउटे समुदायमा देखिएको भन्दै सम्झाएर त्यसलाई नियन्त्रण गर्न उक्त समितिले काम गरिरहेको बताए । प्रहरीले उक्त समितिको पनि सहयोग लिएर अनुसन्धान अघि बढाइरहेको उनको भनाइ छ ।

फिरन्ते समुदायको आधारभूत चरित्रमा ‘हस्तक्षेप नगर‘ : राउटे समुदायको जीवनशैलीलाई १७ वर्षदेखि पछ्याइरहेका अनुसन्धानकर्ता एवं वृत्तचित्र निर्माता हरि थापाले कानुनी प्रक्रियाबाट पछिल्लो घटनाका दोषीले सजाय पाउने भन्दै राउटे समुदायलाई आफ्नै परम्परागत जीवनशैली बाँच्न दिनुपर्ने बताए । उनले भने, अरू समुदायमा पनि यस्ता घटना हुन्छन् । यो घटनापछि राउटे युवतीहरूले नै आफूलाई जोगाउने उपायहरू सोच्छन् । राउटेमा पिट्ने भन्ने खासै हुँदैन । झगडा पर्दा पनि उनीहरू नृत्य‍शैलीमा गर्छन् । दोषीलाई जे गर्नुपर्ने हो कानुनले नै गर्ने भएकाले यो घटनाबाट उक्त समुदायको परम्परागत जीवनशैलीमा हस्तक्षेप नहोस् भन्नेमा हामी सबै सचेत हुनुपर्छ । उनका अनुसार विवाहित राउटे महिलाहरू बस्तीबाट बाहिर जाँदा श्रीमान्‌को साथमा मात्र जाने गरेको बताइन्छ । अनि समुदायले महिलालाई एकदमै महत्त्व दिने गरेको छ । अहिलेको घटनाबाट पाठ सिकेर राउटेहरूलाई एकएक गर्दै कुरा बुझाउने, दोषीलाई सशक्त कारबाही गर्ने र राउटेलाई माया गर्न समुदायलाई चेतना जगाउने सहितका काम गर्नुपर्ने उनले बताए । नेपालमा लगभग डेढ सयजति राउटेहरू रहेको अनुमान छ। उनीहरूलाई नेपालको “अन्तिम फिरन्ते समुदाय” पनि भन्ने गरिन्छ ।

राउटेका विशेषता के हुन् ? : एकै ठाउँमा नबस्ने, खेती नगर्ने र पढाइ लेखाइ नगर्ने उनीहरू जङ्गलबाट काठ सङ्कलन गरी भाँडाकुँडा बनाउँछन् । विगत केही वर्षदेखि शिक्षा, सरसफाइ र सामाजिक सुरक्षाका कतिपय कार्यक्रमबाट राउटे समुदायको विशेष जीवनशैलीलाई जोखिम पुगेको अनुसन्धानकर्ता थापाको भनाइ  छ । थापा भन्छन् , “राउटेहरूलाई यो (पछिल्लो घटना) कुरा भयो भने थाहा पनि हुँदैन । उनीहरू शान्त किसिमका हुन्छन् । अरूको परिवारको बारेमा चासो पनि राख्दैनन् । रक्सी खाएर केटाहरू उफ्रिने बाहेक त्यहाँ हल्लाखल्ला पनि हुँदैन । सम्बन्धित निकायहरूले राउटेलाई खेतीपाती गरेर खाओ भन्ने, पढ्न बाध्य पार्ने वा जग्गा दिने जस्ता काम गर्नुभन्दा उनीहरूलाई आफ्नै ढङ्गले अघि बढ्न प्रेरित गरे राम्रो हुने उनले बताए । थापाका अनुसार उनीहरूलाई काठका सामग्री बनाउन प्रेरित गरी त्यसको बजार व्यवस्थापन गरिदिएर स्थानीय सरकारहरूले सहयोग गर्न सक्छन् । सरकारले उनीहरूलाई मासिक ३,००० रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । त्यसबाहेक प्रदेश सरकारले पनि मासिक २,००० रुपैयाँ दिने गरेको छ । BBC

1 thought on “राउटे युवतीको अश्लील भिडिओ बनाउनेविरुद्ध दुई वटा अभियोग”

Leave a Comment