![]()
People’s News : कोरोनाभाइरस नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा लागु गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ । तर निषेधाज्ञालाई ‘केही खुकुलो’ बनाएर थप गरिएको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन् । यसअघि खाद्यान्न, किराना र डिपार्टमेन्ट स्टोरहरू बन्द गर्ने गरी निषेधाज्ञा लगाइएकोमा अब भने ती पसलहरू बिहान ९ बजेसम्म खुल्नेछन् । बुधवार बसेको उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले बताए ।
के-के खुल्ने भए ? : भट्टराईले भने, “अब निषेधाज्ञा ३१ गतेसम्मका लागि पुगेको छ । तर पहिलेका केही नियम परिवर्तन भएका छन् । खाद्यान्न र किराना पसलहरू बिहान ९ बजेसम्म खुल्ने, पाठ्यपुस्तक पसलहरू पनि बिहान ९ बजेसम्म खुल्ने र विकास-निर्माणका सामग्रीहरू राती ओसार्न पाइने र दिउँसो काम गर्न पाइनेछ । उनका अनुसार बुधवारै तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर त्यसबारे जानकारी दिने तयारी भइरहेको छ यसअघि सङ्क्रमण बढ्न थालेपछि वैशाख १६ गते एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि पटकपटक थप गर्दै जेठ २० गतेसम्म कायम गरिएको थियो करिब एक महिनादेखि निषेधाज्ञा गरिएको भए पनि पूर्ण प्रभावकारी हुन नसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोबीच कोभिड-१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिबाना तोकेको थियो । उक्त अध्यादेशलाई आधार बनाएर जिल्ला प्रशासनले गत हप्तादेखि निषेधाज्ञा निकै कडा बनाएको थियो । पछिल्लो हप्ता सङ्क्रमित हुनेहरूको सङ्ख्यामा ‘केही कमी देखिएकाले’ निषेधाज्ञा पनि केही खुकुलो पारिएको अधिकारीहरूको भनाइ छ । तर अध्यादेशमा आधारित रहेर कुनै पनि बेला आवश्यकता अनुसार कदम चाल्न सकिने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।
नयाँ अध्यादेशमा के छ व्यवस्था ? : अध्यादेशबमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ । मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने अध्यादेशमा भनिएको छ । अनुमतिविना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ ।
जरिवानाबारे अध्यादेशमा यी व्यवस्था गरिएका छन् :
- मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ,
- आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लङ्घन गर्नेलाई पटकैपिच्छे दुई सय रुपैयाँ,
- अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई अथवा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारीसाधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी भए दुई हजार र अन्य सवारी भए पाँच हजार रुपैयाँ।
त्यसै गरी अध्यादेश विपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।