![]()
People’s news : भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ बताएका छन् । भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन् । सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन् ।
भियतनामका स्वास्थ्यमन्त्रीले के भने ? : रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ: “भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड-१९ को भेरिअन्ट देखेको छ । उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए । अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए । उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन् ।
अन्य प्रकार : गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यूके/केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन् । अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भारतीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन् । खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ । निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन ।
वास्तवमा कोरोनाभाइरस के हो ? : सुरुको भाइरसबाटै ज्येष्ठ उमेर समूहका वा जोखिमपूर्ण स्वास्थ्य समस्या भएकाहरूमै जोखिम उच्च देखिन्छ । तर थप सङ्क्रामक र उत्तिकै खतरनाक हुने कुनै भाइरस खोप नलगाएका धेरै मानिसहरूमा फैलँदा त्यसले थप मृत्युहरू निम्त्याउँछ ।
भियतनामको अवस्था के छ ? : पछिल्ला सातामा भियतनाममा कोभिड-१९ का घटनामा उच्च वृद्धि देखा परेको छ । महामारी सुरु भएयता उक्त दक्षिणपूर्वी एसियाली मुलुकमा ६,७०० भन्दा बढी कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये आधाभन्दा धेरै यसै वर्षको एप्रिल महिनापछि देखिएका हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको विवरण अनुसार अहिलेसम्म त्यहाँ ४७ वटा कोभिड जोडिएका मृत्युका घटना पुष्टि भएका छन् ।