![]()
pnews : पहिलो पटक कोरोनाभाइरस देखा परेको मध्यचीनको वुहानमा अवस्थित एउटा प्रयोगशालाबाट दुर्घटनावश वा अन्य कारणबाट कोरोभाइरस फुत्किएको हुनसक्ने एउटा शङ्काका आधारमा यस्तो दाबी गरिएको देखिन्छ । यस सिद्धान्तका समर्थकहरूले उक्त सहरमा रहेको एउटा मुख्य जैविक अध्ययन केन्द्रतर्फ औँला ठड्याउँएका छन् । वुहान इन्स्टिट्यूट अफ भाइरलजीले एक दशकभन्दा बढी समयदेखि चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ । उक्त प्रयोगशाला विभिन्न प्रजातिका जीव र माछा एवं तिनका मासु पाइने एउटा बजारभन्दा केही किलोमिटर मात्र पर छ । वुहानभित्र पनि त्यहीँ पहिलो पटक मानिसहरूमा कोरोनाभाइरस देखिएको थियो । यस सिद्धान्तमा विश्वास गर्नेहरू भाइरस प्रयोगशालाबाट चुहिएर उक्त बजारमा फैलिएको हुनसक्ने धारणा राख्छन् । धेरैलाई उक्त भाइरस प्रयोगशालामा तयार पारिएकोभन्दा पनि प्राकृतिक रूपबाटै सङ्कलन गरिएको अपरिवर्तित विषाणु हो भन्ने लाग्छ । यो दाबी महामारीको सुरुतिरै फैलिएको थियो र तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई झन् बढ्ता फैलाएका थिए । केहीले चाहिँ यो सम्भावित जैविक हतियारका रूपमा मानवनिर्मित भाइरस भएको ठानेका छन् ।