![]()
सबै नेपालीलाई पुग्नेगरी खोप किन्न नेपाल सरकारसँग पैसा पुग्छ त ? : अहिले विश्वबजारमा खोपका मूल्यबारे धेरै अन्योल छ। ठ्याक्कै कति मोल पर्छ भनेर यकिन गर्न सकिएको छैन । तापनि यदि दुई डोज लगाउनुपर्ने खोप प्रतिडोज १० डलरमा किन्नुपर्ने भएमा तीन करोड मानिसलाई नै लगाउँदा पनि त्यसको कुल मूल्य ६० करोड डलरजति हुन आउँछ । अरू व्यवस्थापन र वितरणका खर्च थप लाग्न सक्छ । स्रोतको कमी देखिँदैन । कसैले नदिएपनि आफैँले सकिन्छ । अहिले नै पनि राष्ट्रब्याङ्कको ढुकुटीमा १२ अर्ब अमेरिकी डलरबराबर विदेशी मुद्रा छ । त्यसबाट एक-दुई अर्ब डलरजति सरकारले किन्न सक्छ, अर्थविद् आचार्यले सुझाव दिए । खोपका साथसाथै सरकारले गत वर्ष ३०० भन्दा धेरै पालिकाहरूमा अस्पताल निर्माणको घोषणा गरेको कार्यक्रमजस्ता पूर्वाधार निर्माणलाई सबै पालिकामा विस्तार गरेर छिटो कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ । गत वर्षको बजेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ करिब ९० अर्ब रुपैयाँ छुट्ट्याइएको थियो। यसपालि भिन्न परिस्थितिमा स्वास्थ्य बजेट निकै बढाउनुपर्ने देखिएको छ ।