![]()
People’s News : बेनी : कोरोना महामारीबाट म्याग्दीमा ३५ जनाले ज्यान गुमाएका छन् । दोस्रो लहर सुरु भएयता करिब एक महिनाको अवधिमा मात्रै कम्तिमा २७ जनाको मृत्यु भएको छ । कुल संक्रमितको २.३५ प्रतिशतले ज्यान गुमाएका हुन् । ९५६ जना अथवा ९७.६५ प्रतिशतले कोरोना जितेका छन् । म्याग्दीमा संक्रमण पुष्टि भएका १९ जना, जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि गएका १२ जना र कोरोनाको लक्षण र चिन्ह देखिएका तर स्वाब परीक्षण नगरिएका ४ जना (शंकास्पद) समेत मृत्यु हुनेको संख्या ३५ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
यस्तै पोखरा, काठमाडौंलगायत सहरी क्षेत्रमा उपचारको क्रममा कोरोना पुष्टि भएका १२ जनाको मृत्यु भएको छ । म्याग्दीमा कोरोना पुष्टि भइ ७ जनाको बेनी अस्पतालमा र १३ जनाको पोखरा, काठमाडौं रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । ‘शनिबार र आइतबार बेनी अस्पतालमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ,’ उनले भने, ‘ज्यान गुमाएकामध्ये धेरैजसो होम आइसोलेसनमा बसेर जटिल भएपछि मात्रै अस्पताल आएका हुन् ।
म्याग्दीमा हालसम्म एक हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभर सक्रिय संक्रमितको संख्या ४९६ जना छ । म्याग्दीबाट संकलन गरेर पठाइएको ३१४ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ । सदरमुकाम बेनी बजारभित्र निषेधाज्ञा जारी भएपछि नयाँ संक्रमित भेटिने दर घटेपनि ग्रामिण क्षेत्रमा बढेको छ । नया नयाँ ठाउँमा संक्रमित भेटिएका छन् । कोरोना नियन्त्रणका लागि वैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संक्रमण बढ्ने दर स्थिर रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा लम्बाइएको बताए । जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्रको सिफारिसमा सुरक्षा समितिले सात दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । दोस्रो पटक जेठ १ गतेदेखि १० गतेसम्म निषेधाज्ञा गरिएको थियो । आजको अन्नपुर्ण पोष्टबाट