जटिल अवस्थाका बिरामी आउँदा बचाउन सकिँदैन : चिकित्सक

Loading

People’s News : वीरगन्ज : दोस्रो लहरमा पनि कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन थालेको छ । वैशाख अन्तिम सातादेखि  घट्दै गएको संक्रमण दर जेठ दोस्रो सातायता भने ३१ प्रतिशमा झरेको छ । वैशाख १६ गते देखि लगाइएको निषेधाका कारण संक्रमणको चेनब्रेक हुँदै गएकाले संक्रमण दर घटदै गएको हो । दोस्रो लहर सुरु भएपछि वीरगन्जमा वैशाख दोस्रो र तेस्रो सातातिर संक्रमण दर बढेर ७० प्रतिशत भन्दा बढी पुगेको थियो ।

तर वैशाख अन्तिम साता यता भने संक्रमण दर घटेर औसतमा ४५ प्रतिशतमा झरेको थियो ।  जेठ दोस्रो सातामा भने संक्रमणदर अझै घटेर ३१ प्रतिशतमा पुगेको हो । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा जेठ १ गते देखि यता दैनिक हुँदै आएको परीक्षणमा संक्रमण दर औसतमा ३१ प्रतिशत रहेको अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले बताए । उनका अनुसार जेठ १ देखि जेठ ९ गते सम्म २ हजार ४ सय ८ जनाको परीक्षण गर्दा ३१ प्रतिशतमा मात्र अर्थात् ७४८ जनामा मात्र संक्रमण भेटिएको हो ।

जेठ ९ गते राति पनि १९२ जनाको स्वाब परीक्षण गर्दा २२ प्रतिशतमा मात्र अर्थात् ४३ जनामा मात्र संक्रमण पुष्टि भएको छ । जेठ ८ गते २८८ स्वाबको नमूना परीक्षण गर्दा २० प्रतिशतमा मात्र अर्थात ५४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । जेठ ७ गते संक्रमण दर ३४ प्रतिशत , जेठ ६ गते १९ प्रतिशत , जेठ ५ गते २८ प्रतिशत , जेठ ४ गते ३६ प्रतिशत , जेठ ३ गते ३३ प्रतिशत , जेठ २ गते ४३ प्रतिशत र जेठ १ गते ४४ प्रतिशत रहेको थियो ।

Leave a Comment