![]()
People’s News_ktm : पुस ५ गते ओलीले विघटन गरेको संसद्लाई सर्वोच्चले फागुन ११ गते पुनःस्थापना गरिदिएको थियो। फागुन २३ सुरु भएको पुनःस्थापित संसद्को अधिवेशन डेढ महिनासम्म चल्यो। यो बीचमा पटकपटक अविश्वास प्रस्तावको हल्ला र चर्चा चल्यो तर त्यो प्रयासले आकार लिन सकेन। विपक्षीहरू अविश्वास प्रस्तावका लागि अलि तात्दै गर्दा गत वैशाख ६ मा सरकारले पुनःस्थापित संसद्को अधिवेशन नै अन्त्य गरिदियो। त्यसपछि माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदै ओलीले विश्वासको मत लिन संसद्को अधिवेशन बोलाएका थिए । पछिल्लो राजनीतिक कदमको निशाना फेरि पनि संसद्तिर सोझिएको छ। संवैधानिक औपचारिकता पुरा गरेर संसद् विघटन गर्ने र आफ्नै नेतृत्वमा चुनाव गराउने ओलीको रणनीति हो। पुस ५ गते आफूले गरेको संसद विघटन ठीक थियो भनेर पुष्टि गर्नुपर्ने दम्भबाट ओलीको पछिल्लो कदम निर्देशित देखिन्छ। त्यो अवस्थामा ओलीको राजनीतिक र नैतिक विजय हुने विश्लेषणसहित बालुवाटार वैकल्पिक सरकारको संभावनालाई कुनै पनि हालतमा रोक्ने रणनीतिमा लागेको छ। सत्ता साझेदारीको साँचो बोकेको जसपाभित्र पनि संसद्मा अल्झिनुभन्दा चुनावमा जानु ठीक हुने मत बलियो छ। अहिले दलहरूको दाउपेच भनेको कसको नेतृत्वमा चुनावमा जाने भन्नेतिर केन्द्रित छ।