![]()
People’s News : संसद्को गणितमा निर्णायक खेलाडीको भूमिकामा रहेको जसपा कसरी मुभ गर्छ, राजनीतिक कोर्स त्यसरी नै अघि बढ्ने अवस्था छ। उसको सहयोगबिना कांग्रेस र माओवादीले वैकल्पिक सरकार बनाउने अवस्था छैन। सिंगो जसपाले सघाउने संभावना निकै कम छ। जसपा विभाजित अवस्थामा छ। अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसहितका बहुमत सांसदहरू वैकल्पिक सरकारको पक्षमा छैनन् । बिहीबार साँझ बालुवाटार र राति शितलनिवासमा जसपाका अध्यक्ष महन्थ र महतोसँग भएको ‘डिल‘ ले पनि जसपाको आगामी मुभ के हुन्छ भनेर अनुमान गर्न सकिन्छ। विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि आग्रह गर्ने निर्णय हुनसाथ ओलीले ठाकुर र महतोलाई बालुवाटार बोलाएर परामर्श गरेका थिए । पछि दुवैजनालाई लिएर ओली राति नै शितलनिवास गएका थिए।स्रोतका अनुसार बिहीबार राति नै जसपाको डिल टुंग्याएर ओली ढुक्क भएर सुतेका हुन् ।
महन्थ र महतोको साथ लिने रणनीतअनुसार बिहीबार केही दीर्घकालीन महत्वका संवेदनशील निर्णय भएका छन्। जसपाको माग सम्बोधन लागि संविधान संशोधन कार्यदल गठनको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति समेत प्रदान गरिसकेको छ भने सरकारले नागरिकतासम्बन्धी अध्यादेश पनि बिहीबार नै निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ। यसअघि तराई/मधेस आन्दोलनमा संलग्न १ सय २० जनाको १५ वटा मुद्दा ‘राजनीतिक निर्णय’का आधारमा फिर्ता लिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । जसपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्दै महन्थलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरे पनि त्यो संभावना कमजोर देखिन्छ। कांग्रेस र माओवादीको गठबन्धनलाई असफल तुल्याउने रणनीतिअनुसार नै महन्थले यसरी मुभ गरेको अनुमान गरिएको छ। किनभने कांग्रेस र माओवादीले महन्थलाई प्रधानमन्त्री मानेर अघि बढ्ने अवस्था छैन। ओलीले पनि आफू नहुने अवस्थामा महन्थलाई अघि सार्ने अवस्था छैन र बरु तटस्थ राखेर चुनावमा जाने बाटो सजिलो छ।