२१ घन्टे डेडलाइन पश्चात गोल गर्ने मौका फेरी ओलीलाई

Loading

People’s News : काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत नलिइकन नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ भएपछि राजनीति एकाएक तातेको छ । बिहीबार रातिदेखि नै दलहरू आन्तरिक परामर्श र सत्ता साझेदारीको रणनीतिमा व्यस्त छन् । शुक्रबार बेलुका पाँच बजेसम्मको समयसिमा तोकिएकोले दलहरूसँग थोरै समय छ । थोरै समयमा युद्धस्तरीय तयारी गरेर शितलनिवासमा वैकल्पिक सरकारका लागि हस्ताक्षर बुझाउनुपर्ने अवस्था छ । ओली सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने, त्यो संभव नभए विपक्षी गठबन्धनलाई रोकेर फेरि आफै प्रधानमन्‍त्री नियुक्त हुने र चुनाव घोषण गर्ने दाउमा छन् । ओलीलाई हटाएर वैकल्पिक सरकार बनाउनका लागि विपक्षीलाई यो अन्तिम मौका हो । यो मौका पनि गुमाए भने त्यसपछिको अवस्था ओलीका लागि निकै अनुकुल हुनेछ र ओलीले आफ्नो इच्छाअनुसार गोल गर्न सक्नेछन् ।

बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म विपक्षीहरूको तयारी र सक्रियताको गम्भीरता हेर्ने हो भने १३६ सांसदहरूको हस्ताक्षर जुटाएर वैकल्पिक सरकार बनाउने संभावना कमजोर देखिन्छ । कांग्रेस र माओवादीको तयारीलाई न जसपाले सघाउने स्पस्ट अवस्था छ न त एमालेका माधव पक्षले साथ दिने अवस्था छ। विपक्षहरू अलमलिँदै गर्दा ओली भने स्पस्ट रणनीतिका साथ योजनावद्ध रुपमा अघि बढेको देखिनन्छ । शुक्रबार दिउँसो ओलीले पत्रबार सम्मेलनमा दिएको अभिव्यक्ति र उनको हाउभाउले पनि फेरि सरकारको नेतृत्व आफूले पाउनेमा उनी ढुक्क छन् भन्ने संकेत दिएको छ। राजनीतिक संकटबीच पत्रकार सम्मेलनमा प्रस्तुत भएका ओलीको मुहारमा अलिकति पनि तनाव तथा निरासा देखिएन ।

उनले विपक्षीले विकल्प दिन नसकेकोले फेरि आफूले दाबी गर्नुपर्ने अवस्था आउनसक्‍ने बताएका थिए । संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीको सिफारिस बमोजिम राष्ट्रपति विद्या भण्डारीले  ७६ (६) अनुसार नयाँ सरकार बनाउन २१ घन्टे म्यादसहित बिहीबार साँझ अपिल गरेकी हुन्। तर ओलीले राजीनामा दिएका छैनन्। कानुनविद्ले प्रधानमन्‍त्रीले संसद्‍मा विश्‍वासको मत लिने प्रयास नगरीकन र  राजीनामा पनि नदिइकन नयाँ सरकार बनाउन राष्ट्रपतिले गरेको आग्रह अस्वभाविक र असंवैधानिक रहेको बताएका छन्। विपक्षीहरूले पनि राष्ट्रपति र प्रधानमन्‍त्री दुवै असंवैधानिक बाटोमा अघि बढेको चिन्ता व्यक्त गर्दै यसलाई नसच्चाएर मुलुकमा दुर्घटना हुने चेतावनी दिएका छन् ।

Leave a Comment