![]()
People’s News : संसद् अधिवेशनको पूर्वसन्ध्यामा दुई मन्त्रीसहित २६ सांसदहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई एकान्तवासमा रहेका छन् । मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतो एवम् अन्य सङ्क्रमित सांसदहरूलाई आगामी साता प्रधानमन्त्रीको विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा मत हाल्ने अवसर दिने तयारी गरिएको बताइएको छ । कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरका कारण उपत्यकासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाबीच सोमवारबाट शुरू हुने विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएका छन् । त्यसअघि आइतवार बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सङ्क्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए । विश्वासको मत लिने प्रस्ताव सफल वा असफल बनाउन थोरै सांसदहरूको सङ्ख्याले समेत फरक पर्ने भएकाले सबैलाई मतदानको व्यवस्था गर्नेबारे छलफल भइरहेको योगीले बताए । धेरै सांसदहरू कोरोना सङ्क्रमित रहेको खबर पाएपछि उहाँहरूलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ भन्नेबारे सभामुखले छलफल सुरु गर्नुभएको छ,” योगीले भने ।
कतिजना सांसद सङ्क्रमित ? : बुधवार र बिहीवार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट आउँदा १८ जनामा सङ्क्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । त्यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदहरू सङ्क्रमण भएर एकान्तवासमा थिए । मन्त्री ढकाल र मन्त्री महतोले सामाजिक सञ्जालमा आफ्नो सङ्क्रमण पुष्टि गरिसकेका छन् ।

सचिवालयका अनुसार सबैभन्दा धेरै सत्ताधारी नेकपा एमालेका १६ जना सांसदलाई सङ्क्रमण पुष्टि भएको छ भने जनता समाजवादी पार्टीका पाँच जना, नेपाली काँग्रेसको तीन जना र माओवादी केन्द्रका दुई जना सांसद सङ्क्रमित छन् । एमालेका सङ्क्रमितमध्ये दुईजना मन्त्री र एकजना पूर्वप्रधानमन्त्री समेत रहेको सचिवालयले जनाएको छ । सङ्क्रमित सांसदहरूलाई मतदानबाट वञ्चित गर्दा विश्वासको मतका लागि संसदको अङ्कगणितमै ठूलो फरक पर्ने भएपछि सत्ताधारी र विपक्षी दलहरू सबैलाई मतदानमा सहभागी गराउन एकमत भएका हुन् ।