![]()
People’s News : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा बिहीवार कोभिडसम्बन्धी कारणले सर्वाधिक दैनिक मृत्यु भएको पुष्टि गरेको छ । विगत २४ घण्टामा ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जनाको निधन भएको थियो । योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ । बिहीवार थप ४,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सो सङ्क्रमण १२,५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो । विगत २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । १२ जिल्लामा ५०० भन्दा धेरै नेपालमा अहिले कुल ३४,११७ जनाको सक्रिय सङ्क्रमण रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन्: मोरङ, पर्सा, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली । थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये २,३६४ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३३७ जना सघन उपचार कक्षमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन् । सबैभन्दा बढी २० देखि ३९ वर्षका : बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डूका १,१२७ जना, ललितपुरका २५१ जना र भक्तपुरका १८२ जना छन् । रुपन्देहीमा ५२८, बाँकेमा ४८९ र कैलालीमा ३४९ जना सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्क्रमितमध्ये ९७ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन् । मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ८९ जना नौ वर्षसम्मका, २९५ जना १० देखि १९ वर्षका र २,५२७ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । L