![]()
People’s News : ब्रजिलमा कोभिड-१९ का कारण मृत्यु हुनेहरूको सङ्ख्या चार लाख नाघेको छ। यो अमेरिकापछि विश्वकै दोस्रो सबैभन्दा धेरै सङ्ख्या हो । त्यहाँ स्वास्थ्य संस्थाहरू चर्को दबावमा छन् र खोप अभियानमा पनि ढिलाइ भइरहेका छन् । गत एक दिनमा ब्रजिलमा थप तीन हजार मानिसको ज्यान गएको बताइएको छ । एप्रिल महिनाको सुरुमा दैनिक मृत्यु चार हजार नाघेको थियो ।
मानिसमा आक्रोश : त्यहाँ बितेको दुई सातायता सङ्क्रमणमा थोरै कमी आए पनि विज्ञहरूले मृत्युको सङ्ख्या अझै केही महिना उच्च रहने बताएका छन् । ब्रजिलमा महामारीको दोस्रो लहर डिसेम्बरबाट सुरु भएको थियो र यसले मानिसहरू थकित र क्रोधित बनाएको छ । त्यहाँ थप सङ्क्रामक ठानिएका भेरिअन्टहरूका कारण अनि संयोजित राष्ट्रिय उपायहरूको अभावमा महामारी निकै फैलिएको थियो । कतिपय क्षेत्रमा बिस्तारै स्थिति सुध्रँदै गरेको देखिन्छ । स्वास्थ्य प्रणाली ध्वस्त हुने सँघारमा पुगेका कतिपय त्यस्ता क्षेत्रमा राज्य तथा नगर अधिकारीहरूले बन्देज लगाएका थिए । तर ती बन्देज खुकुलो पार्न थालिसकिएको छ । एक तिहाइभन्दा धेरै राज्यमा सघन उपचार कक्षका शय्याहरू अझै पनि ९० प्रतिशत भरिएका छन् । मार्च र एप्रिल महिनामा ब्रजिलमा थप एक लाख मृत्यु रेकर्ड गरिएका छन् । ब्रजिलमा कुल एक करोड पैँतालीस लाख मानिस सङ्क्रमित भएको पाइएका छन् । यसबीच अभावका कारण कैयन् शहरमा खोप कार्यक्रममा अस्थायी रोक लागेका छन् । ब्रजिलको २१ करोड जनसङ्ख्यामध्ये हालसम्म त्यहाँ १३ प्रतिशत जनताले मात्र कम्तीमा एक मात्राको खोप लगाएका छन् ।
राष्ट्रपतिमाथि छानबिन : त्यहाँको स्वास्थ्य सेवा प्रणाली चर्को दबावमा परिरहँदा राष्ट्रपति जइर बोलसोनारुले भने स्थानीय अधिकारीहरूले लागु गर्दै आएका लकडाउन तथा भौतिक दूरीका नियमहरू अस्वीकार गर्दै आएका छन् । यसै साता त्यहाँको कङ्ग्रेसले स्वास्थ्य सङ्कटमा राष्ट्रपतिको भूमिकाबारे छानबिन थालेको छ । आगामी वर्ष हुने निर्वाचन अगावै छानबिनमार्फत् राष्ट्रपतिमाथि महाभियोग लाग्न सक्छ । छानबिनका 42158दौरान सिनेटको समितिले दस्तावेज माग गर्न वा साक्षीहरूको बयान लिन सक्छ। उसको निष्कर्षलाई अभियोजनको अधिकारप्राप्त अधिकारीहरूसमक्ष दिन सकिनेछ । समितिले खासगरी खोपका निम्ति आवश्यक बन्दोबस्तीमा राष्ट्रपतिले गरेका ढिलाइ, भाइरसको गम्भीरता अवमूल्यन गर्ने खालका उनका पटकपटकका टिप्पणी अनि हाइड्रोक्सीक्लोरोक्वीनजस्ता अप्रमाणित औषधिको प्रवर्धनबारे अनुसन्धान गर्नेछ । आगामी वर्ष हुने निर्वाचनमा फेरि उठ्ने निश्चितजस्तै देखिएका बोल्सोनारुका निम्ति छानबिनले गम्भीर असर पर्न सक्छ। तर उनले छानबिनबाट आफू चिन्तित नभएको बताएका छन् । महामारीको सुरुदेखि नै उनले भाइरसभन्दा त्यसले पार्ने आर्थिक प्रभाव ज्यादा गम्भीर भन्दै लकडाउनको विरोध गर्दै आएका थिए । savar