![]()
People’s news : कोरोनाभाइरस सङ्क्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पतीलाई अक्सिजन दिएर राखिएको अस्पतालले बीबीसी न्यूज नेपालीलाई बताएको छ । उहाँहरू दुवै जनालाई अक्सिजनको सपोर्ट दिइएको छ, अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने । हिजो [शनिवार] ज्वरो र छाती दुख्ने समस्या देखिएको थियो । आज ज्वरो छैन र छाती दुख्ने समस्या पनि कम भएको छ। लक्षणहरू कम हुँदै गएको छ । बास्तोलाका अनुसार पूर्वराजा शाहकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिनुपरेको छैन र उनको अवस्था आमाबुवाको जस्तो छैन ।
कहिलेसम्म अस्पताल बस्नुपर्छ ? : उनीहरू अस्पताल बस्नुपर्ने समयावधिबारे जिज्ञासा राख्दा बास्तोलाले भने, “नेगेटिभ रिपोर्ट नआएसम्म उहाँहरू बस्नुहुन्छ । कति दिन बस्नुपर्छ भन्ने कुरा अहिले भन्न सकिन्न । उनका सहयोगी फणिराज पाठकका अनुसार चिकित्सकहरूको सल्लाहअनुसार पूर्वराजदम्पती र छोरी प्रेरणा शनिवार दिउँसो १ बजेदेखि अस्पताल भर्ना भएका हुन् । भारतमा कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्वराजदम्पतीमा गत मङ्गलवार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । पाठकले बताएअनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमै आइसोलेसनमा बस्दै आएका थिए । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतवार उनीहरू नयाँ दिल्लीबाट नेपाल फर्किएका थिए । कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए । भारतमा कुम्भमेलामा सहभागी सयौँ मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । पूर्वराजाले नेपाल फर्किनुअघि नयाँ दिल्लीमा परीक्षण गराएको तर त्यतिबेला सङ्क्रमण नदेखिएको उनीसँगै यात्रा गरेका उनका सचिव पाठकले यसअघि बताएका थिए । साभार BBC News