दाहसंस्कार गर्ने स्थानको अभाव भएसँगै सामूहिक रूपमा शवदाह

Loading

People’s News : भारतमा कोरोनाभाइरस सङ्क्रमणको लहरका बीच सघन उपचार शय्या, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । गत २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ३ लाख ४९ हजार ६ सय ९१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १ करोड ७९ लाख ६० हजार १ सय ७२ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोभिडका कारण २,७६७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कुल मुत्यु हुनेको सङ्ख्या १ लाख ९२ हजार ३ सय ११ रहेको छ । ३० लाख सङ्क्रमित पछिल्लो दुई हप्तामा थपिएका हुन् । र अझै त्यहाँ प्रत्येक दिन सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या थपिने क्रम जारी छ । भारतमा देखिएको विनाशकारी प्रभाव त्यहाँका शवदाह स्थलहरूमा खिचिएका तस्बिरहरूले स्पष्ट पारेका छन् जसमा शोकमा डुबेका परिवार सदस्यहरू अन्तिम संस्कारका लागि घन्टौँ कुरिरहेको र दाहसंस्कारका लागि स्थानको अभाव भएसँगै सामूहिक रूपमा गरिएको देख्न सकिन्छ । दाहसंस्कार स्थलहरूमा केही दिन बिताएर मृत्यु भएकाहरूको सङ्ख्या गनेका पत्रकारहरूले सरकारी तथ्याङ्कलाई चुनौती दिइरहेका छन् । केही सहरहरूमा सरकारले बताएको भन्दा मृत्यु हुनेहरूको सङ्ख्या १० गुणा बढी रहेको उनीहरूले आकलन गरेका छन् । गत हप्ताको एउटा रिपोर्टमा सुरत सहरको शवदाहगृह लामो समयसम्म निरन्तर चलाइएका कारण तापले त्यहाँको चिम्नी नै पग्लिन सुरु भएको उल्लेख गरिएको छ । तर सरकारले हालसम्म कुनै पनि स्थानमा आधिकारिक तथ्याङ्क संशोधन गरेको छैन ।

Leave a Comment