कोरोना भाइरस : जेठ सम्ममा कोभिड उच्चबिन्दुमा पुग्ने चेतावनी, सरकारको तयारी न्युन

Loading

People’s News : सरकारले आगामी जेठ वा असार महिनामा कोरोनाभाइरसको सङ्क्रमण उच्चबिन्दुमा पुग्न सक्ने बताएपछि विज्ञहरूले मुख्यगरी जनस्वास्थ्यका मापदण्ड पालना गराउन अन्तर्राष्ट्रिय नाकाहरूमा अझै कडाइ गरिनुपर्ने बताएका छन् । सरुवा रोगको क्षेत्रमा लामो समय काम गरेका एक पूर्वअधिकारीले सरकारको गृहकार्य फितलो रहेको भन्दै अघिल्लो वर्षको अनुभवबाट पाठ सिकेको जस्तो नदेखिएको प्रतिक्रिया दिएका छन् । नेपाल र भारतबीचका सीमामा नै कोभिड-१९ सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने बाध्यकारी प्रबन्ध गरिनुपर्ने र मास्कको प्रयोगजस्ता सावधानी नअपनाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने उनले बताएका छन् । प्रतिनिधिसभामा सोमवार बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ नियन्त्रणका लागि आवागमनलाई व्यवस्थित गर्ने, सङ्क्रमणको पहिचान गर्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्दा महामारी नियन्त्रण गर्न सकिने भन्दै तत्काल लकडाउनको विकल्पबारे नसोचिएको बताएका थिए ।

भारतको वृद्धिदरलाई ध्यान दिँदै थप सतर्कता : भारतमा सोमवार एक लाखभन्दा बढी र मङ्गलवार झन्डै ९७,००० जनामा कोभिड पुष्टि भएको छ । नेपालमा २४ घण्टाको अवधिमा ४,५०० वटाजति पीसीआर परीक्षण गर्दा २६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ । दुई महिनायता नेपालमा पुष्टि भएको यो सर्वाधिक दैनिक सङ्ख्या हो । संसद्‌मा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सङ्क्रमणको दर उच्चबिन्दुमा पुग्न सक्ने भएकाले जनस्वास्थ्यका मापदण्डमा कडाइमा सचेतता अपनाइएको बताए । अबका दिनमा जनस्वास्थ्यका मापदण्डहरूको पालनालाई प्रभावकारी बनाउन सकिएन भने सङ्क्रमण बढ्दै जेठ असारसम्ममा अर्को उच्चबिन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फाल्गुन १७ गते सङ्क्रमितको सङ्ख्या ११,५६३ बाट एक्कासि बढेर चैत्र २२ गते ९२,९०० सय पुगेको स्थितिले हामीलाई थप सचेत र सतर्क बनाएको छ, उनले भने । कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि आवागमलाई थप नियन्त्रित गर्दै रोगको शीघ्र पहिचान र आइसोलेशन, शङ्कास्पद व्यक्तिलाई अनिवार्य क्वारन्टीन र जनस्वास्थ्यको मापदण्डलाई पूर्ण पालना गर्न सके मात्रै महामारीलाई नियन्त्रण गर्नका साथै समयका हिसाबले पर धकेल्न सकिने भएकाले यसतर्फ सबैको ध्यानाकर्षण जरुरी छ । 

नेपाल-भारत सीमामा कडाइ प्राथमिकतामा तर अपर्याप्त : भारतमा कोरोनाभाइरसको नयाँ लहर देखा परेपछि गएको चैत ९ गते गृह मन्त्रालयले दुई देशको सीमा हुँदै नेपाल आउने व्यक्तिहरूको अभिलेख राख्न र स्वास्थ्य परीक्षण गराएर मात्रै प्रवेश दिन देशभरिका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेको थियो । स्वास्थ्य मन्त्रायल मातहतका निकायहरूलाई नाकास्थित स्वास्थ्य जाँच चौकीलाई क्रियाशील पार्न र शङ्कास्पद व्यक्तिहरूलाई एन्टिजन वा पीसीआर परीक्षण गर्न भनेको थियो । सम्भावित जोखिमलाई ध्यान दिँदै सङ्घ, प्रदेश र जिल्ला तहका अस्पताल र प्रयोगशालालाई तम्तयार राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका थिए । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी सरकारले अघिल्लो वर्षको महामारीबाट पाठ नसिकेको बताउँछन् । उनले भने, पोहोर लकडाउनको बेलामा केही फरक हो कि भन्ने देखियो । नत्र अहिले पनि जस्ताको तस्तै छ । पीसीआर ल्याबहरू छन्। कोभिड व्यवस्थापनको लागि आइसोलेशनको व्यवस्था गरिएको थियो, त्यो समाप्त भइसकेको छ । कतिठाउँ अलिअलि होला। डाक्टर नर्सहरूले यस्ता बिरामीहरू कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रयोगात्मक अनुभव पनि हासिल गरेका छन् । उनले सीमानाकाबाट प्रवेश गर्ने प्रत्येक व्यक्तिसँग कोभिड-१९ सङ्क्रमण नभएको प्रमाणपत्र सुनिश्चित गरेर मात्रै प्रवेश दिनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई दण्ड जरिवानाको व्यवस्था गरिनुपर्ने बताए ।

कोभिडको ‘दोस्रो लहर पहिलो‍भन्दा बढी जोखिमपूर्ण : काठमाण्डू विश्वविद्यालयकी सहप्राध्यापक तथा एपिडिमिओलोजिस्ट अर्चना श्रेष्ठ सङ्क्रमणको नयाँ लहर आउन सक्नेबारे यस पटक पहिलाभन्दा बढी मानसिक तयारी रहेको बताइन् । उनी भन्छिन्, हरेक व्यक्ति व्यक्तिबाट जनस्वास्थ्यका मापदण्ड लागु भयो र पाएसम्म खोप लगाइयो भने त्यसले सङ्क्रमण नियन्त्रण गर्न सहयोग गर्छ । पहिला हामीले पहिलो लहर आउँदाआउँदै सङ्क्रमणको तयारी गरेको थियौँ भने अहिले पूर्वाधार, तालिम, उपचार लगायतमा पूर्वतयारी छ । उनले नेपालमा अहिले सार्वजनिक भइरहेको तथ्याङ्कले सङ्क्रमणको पूर्ण चित्रण गरेको भन्दै परीक्षणको दायरा विस्तार गरिनुपर्ने र एन्टिजन परीक्षणमा सङ्क्रमण भएको देखिएका व्यक्तिहरूलाई पनि सङ्क्रमितको सूचीमा राखिनुपर्ने बताइन् । डा. श्रेष्ठका भनाइमा नेपालमा जेठ महिनामा सङ्क्रमणको दोस्रो लहर देखा पर्न सक्छ । पहिलो लहरभन्दा दोस्रो लहर अझ जोखिमपूर्ण हुने भन्दै सङ्क्रमणको अनुसन्धान र पहिचानमा थप पूर्वतयारी गरिनुपर्नेमा उनले जोड दिइन् ।

पैसाको अभाव नरहेको स्वास्थ्यमन्त्रीको भनाइ : संसद्‌मा बोल्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पोहोर कोरोनाभाइरस देखा परेयता पाँच अर्ब १७ करोड रुपैयाँ खर्च भएको जानकारी दिँदै अहिलेसम्म भएका सम्पूर्ण खर्चका बारेमा श्वेतपत्र सार्वजनिक गर्ने बताए । खोप कार्यक्रमसहितका लागि दुई अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिए । खोप किन्न ४८ अर्ब रुपैयाँ छुट्याइएको भन्दै उनले कोभिड नियन्त्रणका लागि रकमको अभाव नरहेको पनि उल्लेख गरेका थिए । नेपालमा अहिलेसम्म दुई लाख ७८ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने तीमध्ये तीन हजार जनाभन्दा बढीको मृत्यु भएको छ । सरकारले भारतमा भइरहेको सङ्क्रमण वृद्धिको अवस्थालाई सतर्कतापूर्वक हेरिरहेको भए पनि लकडाउनको विकल्पबारे अहिले नै नसोचिएको दोहोर्‍याउँदै आएको छ ।  L

Leave a Comment