![]()
प्रेमको यौन




म तिमीलाई माया गर्छु । तिमीलाई जीवनभर साथ दिन्छु । तिमीलाई एकै पल नदेख्दा के–के भएजस्तो लाग्छ । यस्तै यस्तै वाक्यहरू प्रेममा परेका जोडीहरूमा खुब सुनिन्छ । तर वास्तवमा यो सबै प्रेमको नाटक हो । यो सबै ढोंगीपन हो । यो सब केका लागि भनिन्छ, यो सबै शरीर पाउन अर्थात् सेक्सका लागि । अहिलेको प्रेम मुना–मदन वा राधा र कृष्णको जस्तो बन्न सकेको देखिँदैन । प्रेममा त्याग देखिँदैन । यहाँ त्याग भनेको समर्पण अर्थात् शरीर सुम्पिनुलाई बुझ्ने गरिन्छ । शरीर नपाउन्जेल मरिहत्ते गर्ने परिपाटीले यही कुरा स्पष्ट पार्छ । शरीर पाएको दिन प्रेमको विर्सजन पनि हुने गरेको देखिन्छ । प्रेममा त्यागभन्दा वासना अनिवार्यजस्तै हुँदै गएको छ । सेक्सकै लागि प्रेमको नाटक गरिन्छ । प्रेममा सेक्स सही होला तर अनिवार्य नहुन सक्छ तर त्यसकै लागि यो सबै मरिहत्ते किन ? अनुसन्धानहरूले के देखाएको छ भने प्रेममा सेक्स हुन्छ नै ।
प्रेममा परेका जोडीले सेक्स गरे कि गरेनन् ? भनेर खोजीनिन्दा गर्नु बेकार छ । प्रेममा सम्मान र दुई मनको मिलन अर्थात् दुई विपरीत लिंगीबीच पारस्परिक समानता र मेल भएमा अर्थात् मञ्जुर भए प्रेममा सेक्स केही पनि होइन जसलाई तिल माने हुन्छ, पहाड बनाउनु जरुरी छैन । रिसर्चले देखाएको अर्को कुरा के पनि हो भने प्रेमको सुन्दर तत्त्व यौन हो । यौन सृष्टिको नियम र निरन्तरताको उपज पनि हो । सृष्टि चलाउन र सन्तान उत्पादन गर्न सेक्स अनिवार्य भएको अवस्थामा चिने वा नचिनेकै विपरीत लिंगीसँग भावनात्मक रूपमा एकाकार भएर गरिने सेक्स एउटा पाटो हो । यस्तै यसबाट उत्पादित सन्तान र नचिनेको अवस्थामा अर्थात् मनको कनेक्सन नभई गरिने अवस्थाको सेक्समा फरक पर्ने यसबाट उत्पादित नयाँ जीवमा पनि फरक पर्ने भनेर देखाएकै अवस्था देखिन्छ ।
प्रेमको केन्द्रीय तत्त्व यौन हो । फेरि यौन मात्रै भन्ने पनि हुँदैन । यौनसँगै सन्तान उत्पादन र समाज आउँछ । यौनमा अराजकता आए त्यसले समाजमा अपराधदेखि सामाजिक कर्ममा समेत व्यवधान खडा गर्छ । प्रेमको केन्द्रीय र सुन्दर सार भनेकै यौन भएझैं प्रेमको गन्तव्य भने विवाह होइन । विवाह त प्रेमको समाप्ति हो । सबैमा यो मान्यता पनि लागू हुँदैन । विवाहले समानता र सम्मानमा आधारित प्रेमको गन्तव्यलाई समाप्त पार्ने काम गरेको देखिन्छ ।