प्रेमको उमेर

Loading

प्रेमको उमेर

समाजले प्रेम गर्ने र विवाह गर्ने उमेर निर्धारण गरेको छ । किशोरावस्थामा प्रेमका हर्मनहरू बढी सक्रिय हुन्छन् र विपरीत लिंगीप्रति आकर्षण हुन्छ । कसैको सुन्दरतामा, कसैको बोलीमा लट्ठ भएर गरिने प्रेमहरू सुन्दरता सकिएसँगै अन्त्य हुन्छ । उमेर अनुसार विपरीत लिंगीप्रतिको आकर्षण क्रमशः कम हुँदै जाने देखिन्छ । यसको मतलब हो, हाम्रो शरीरमा रहेको प्रेम हर्मोनहरू क्रमशः परिवर्तन हुँदै जानु नै हो । मनका विभिन्न तह हुन्छन्, जहाँ भावनात्मक तह एउटा हुन्छ । युवा उमेरमा कोही मानिस प्रेममा पर्न सकेन अर्थात् उसको भावनात्मक रूपमा कोही कनेक्ट भएन त्यस्तो अवस्थामा मानिस पागल बन्न सक्छ । युवा उमेरमा म प्रेममा परिनँ भनेर कसैले भन्छ भने त्यसले कि झुट बोलेको ठहरिन्छ कि उसको शरीरमा कुनै हर्मोनको कमी देखियो अर्थात् शरीर विकासक्रममा गडबडी भएको ठहरिन्छ । समाज र सामाजिक सोच परिवर्तन भएसँगै विवाह सन्तान उत्पादनका लागि मात्रै हुँदैन भन्ने बुझाइ आयो । भविष्यको साथि र दुःखसुखका सहयात्राका लागि भनेर विवाह गर्ने गरेको देखिन्छ । अनमेल विवाह अर्थात् उमेरमा धेरै फरक परेर गरिने विवाह । हामी समाजमा देखिरहेका हुन्छौं, बाउ र छोरी उमेरका विपरीत लिंगीप्रति पनि प्रेम अंकुरण भएको र विवाह भएको ।

समाजले यस्तो अनमेल विवाहलाई अझै पनि शंकाको दृष्टिले हेर्ने गरेको छ । यस्तो विवाह त परको कुरा, प्रेमलाई पनि स्वार्थको रूपमा चित्रित गरेको पाइन्छ । विवाहलाई सेक्सको नजरले हेरेर यसलाई खिस्याउने काम गरिन्छ । अनमेल विवाहको त यस्तो अवस्था देखिन्छ भने अन्तरजातीय विवाहलाई समाजले अझै पनि स्वीकार गरेको देखिँदैन । प्रेम जोसँग गरे पनि विवाह चाहिँ आफ्नै जातसँग गर्नुपर्छ भन्ने प्रचलन र सोच भएका युवा अझै भेटिन्छन् । नेपाली समाज जात व्यवस्थामा आधारित छ । यहाँ जातको वर्गीकरण गरिन्छ, त्यो पनि उसको जन्मको आधारमा अनि उसको कर्म निर्धारण गरिन्छ । कर्म पनि यस्तो कर्म जसलाई परिवर्तन गर्ने अधिकार उसलाई हुँदैन । प्रेम प्राकृतिक अवस्था हो । प्रेमले जात हेर्दैन, विचार हेर्छ, मन हेर्छ ।

 

Leave a Comment