![]()
Peoples News वासिङ्टन ् — अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए । अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेको जनाएको छ । तर ती अधिकारीहरुले हम्जाका बारेमा थप विवरण दिन अस्वीकार गरेका छन् ।
हम्जाको मृत्युका बारेमा अमेरिकी राष्ट्रपतिको कार्यालयमा पत्रकारहरुले सोधेको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीको समाचार सही वा गलत भन्ने बारेमा बताउन अस्वीकार गरे । राष्ट्रपति ट्रम्पले यस बारेमा अहिल्यै केही टिप्पणी गर्न नचाहेको बताएका छन् । सन् २०१९ फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हम्जाको बारेमा जानकारी दिनेलाई १० लाख अमेरिकी डलर तोक्नुअघि नै उनको मृत्यु भइसकेको अनुमान गरिएको छ । ओसामा बिन लादेनका २० जना छोराछोरीमध्ये हम्जा १५औं सन्तान हुन् । ओसामाकी तेस्रो पत्नीको कोखबाट जन्मेका हम्जा ३० वर्षको हाराहारीका थिए । अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रुपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ ।
‘जिहादी राजकुमार’ का रुपमा समेत लिइने हम्जाले बेलाबखत अडियो र भिडियो सन्देश मार्फत अमेरिका र उसका समर्थक मुलुकमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए । खासगरी सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा आफ्ना बुबा ओसामाको हत्यामा संलग्नमाथि कारबाही गर्ने धम्की हम्जाले दिएको विदेश मन्त्रालयको दाबी छ । पाकिस्तानको अबोटाबादमा ओसामाको घरबाट बरामद गरिएका कागजातमा हम्जालाई अल-कायदाको उत्तराधिकारी बनाउन थालेको उल्लेख थियो । savar Kantipur Dally