![]()
नेपालको पश्चिम क्षेत्र अत्यन्तै विकट हिमाली जिल्ला हुम्लामा एउटा सिलिन्डर ग्यासको मूल्य कति पर्छ थाहा छ तपाईंलाई ? सत्य थाहाँ पाउँदा तपाईंलाई आश्चर्य महसुस हुनेछ । तितो यथार्थ वास्तवमा हुम्लामा प्रति सिलिन्डरको मुल्य १४ हजार रुपैयाँ रहेको छ र सोही मुल्यमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको व्यवसायीहरु द्वारा बताइएको छ । सदरमुकाम सिमिकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्यास सिलिन्डरको मूल्य १४ हजार तिरेको तितो यथार्थ सुनाए ।
उर्जाको स्रोत विद्युत् नियमित नहुने समस्या , दाउरा बाल्दा झन् महँगो पर्ने भएपछि ग्यासको जोहो गर्दा ग्यासको मूल्य चर्को तिर्नुपरेको उहाँ जस्ता धेरै उपभोक्ताहरुको भनाइ छ । ग्यासको मूल्य बढी परेपनि प्रयोग गर्न सहज हुने भएको कारण हुम्लाका बासिन्दामा ग्यास चुलोप्रति आकर्षण बढ्दै गएको छ । हवाईजहाजमा ग्यास ढुवानी गर्न असजिलो एवं नमिल्ने र खच्चडमा ढुवानी गरेर हुम्लामा ग्यास सिलिन्डर भित्रिने गरेको छ ।

हुम्ला सदरमुकाम सिमिकोटका ग्यास व्यापारी लोकेन्द्र शाहीले हुम्लामा ग्यास महँगो पर्नुको कारण पाँच दिन पैदल लगाएर ढुवानी गर्नुपर्ने तितो वास्तविकता नै हो । उहाँले अग्रिम अर्डर भएपछि मात्र मुगुबाट ग्यासका सिलिन्डर सिमिकोट झिकाउने गरेको जानकारी दिनुभयो ।
प्रयोग गरिसकेको ग्यास अर्कोपटक भर्नुपर्दा नौ हजार रुपैयाँ लाने गरिन्छ उपभोक्ताको भनाइ छ । सिलिन्डर व्यापारीलाई फिर्ता दिने र अर्को भरी सिलिन्डर ग्राहकलाई दिने गरिन्छ । हुम्लामा जम्मा ७० जना मात्र ग्यास चुलो प्रयोग गर्ने ग्राहक रहेको बताइन्छ । पहिलोपटक हुम्लामा ग्यास चुलो प्रयोग गर्नेको सङ्ख्या मात्र पाँच जना थियो तर ग्यास प्रयोग गर्नेको संख्या निरन्तर बढिरहेको छ ।