दशैंको टिका छाडि आँसु पुच्छदै भारततर्फ लागे नेपाली

Loading

Peoples News : यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा दसैँ मान्न घर फर्किने नेपालीको लस्कर हुने गथ्र्यो, कामको खोजीमा भारत जाने दुर्लभ नै देखिन्थे । तर, यस वर्ष स्थिति फरक छ । सीमामा घर फर्किने र मजदुरीका लागि भारत जाने नेपालीको संख्या उस्तै छ । बेरोजगारीका कारण गाउँमा दुई छाक टार्नै मुस्किल हुन थालेपछि कोरोना महामारीको जोखिम मोल्दै लस्करका लस्कर भारत गइरहेका छन् । रुकुमका ५३ वर्षीय गणेशकुमार पाण्डे बिहीबार भारी मन बनाउँदै रोजगारीका लागि भारतको सिमलातर्फ हिँडे । बाँकेको जमुनाह नाकामा भेटिएका उनी दसैँको टीका छाडेर बिदेसिनुपर्दा निराश देखिन्थे, अनुहार मलीन थियो ।  गाउँमा खान–लाउनै समस्या भएपछि मजदुरीका लागि भारत जान बाध्य भएको पाण्डेले बताए । ‘घरमा आइसकेको दसैँ छाडेर बिदेसिन कसको पो मन हुन्छ र ?’ उनले भने, ‘घरबाट हिँड्ने वेला जहान, केटाकेटी सबैले आँसु खसाले । म पनि मन थाम्न नसकेर खुबसँग रोएँ, तर के गर्नु, हामी गरिबसँग अरू विकल्प पनि त छैन ।

अरू दसैँ मान्न घर आउने वेला आफू भारत हिँड्नुुपर्दा मन पोलेको उनले बताए । ‘दसैँमा घर बस्दा पनि खान–लाउन नपाइने भएपछि भारत जान नै उचित लाग्यो । दसैँमा अरूले खाएको देखेर मन रुवाउनुभन्दा टाढा बस्न नै राम्रो हुने र दुई–चार पैसा पनि कमाइने भएकाले जान लागेको हुँ,’ उनले भने । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीका अनुसार दसैँ सुरु भइसकेपछि पनि भारत जानेहरूको संख्या घटेको छैन । दैनिक करिब तीन सय नेपाली कामका लागि भारततर्फ गइरहेको उनले बताए । ‘अघिल्ला वर्षहरूमा चाडबाडको वेला बिदेसिनेहरू हुँदैनथे । यस वर्षको दसैँमा भने काम गरेर फर्किने र कामको खोजीमा भारत जानेको संख्या लगभग उस्तउस्तै छ,’ उनले भने । 

भारत जाने अधिकांश नेपालीले घरमा खानेकुरा सकिएकाले कामका लागि बिदेसिन बाध्य भएको बताए । गाउँघरमा काम पनि नपाइने, भएको पैसा र अन्नपात सकिएपछि दसैँको मोह मारेर हिँडेको उनीहरूको भनाइ छ । भारतमा कोरोना महामारीले विकराल रूप लिएको थाहा भए पनि आफूहरूसँग विकल्प नभएको उनीहरूको दुखेसो छ । ‘मर्नुभन्दा बहुलाउनु बेस भन्छन् । खान नपाएर मर्नुभन्दा रोग लागेर मर्न उचित लाग्यो,’ नेपालगन्जमा भेटिएका रुकुमका २४ वर्षीय हेमेन्द्र कामीले भने । उनी पनि भारतको सिमलातर्फ लागेका छन् । दसैँको मुखमा घर छोडेर बिदेसिने नेपालीको मुहार मलीन र थकित देखिने गरेको सइ गिरीले बताए । ‘यसअघि कामका लागि भारत जाने नेपालीमा एकखालको आशा अनि खुसी झल्किन्थ्यो, तर यतिवेला भारत जानेको मुहारमा कुनै चमक देखिँदैन, निराशा मात्रै देखिन्छ,’ उनले भने । भारतबाट दैनिक करिब ६ सय नेपाली घर फर्किने गरेको उनले बताए । 

दसैँ छोडेर भारततिर : दसैँ सुरु भइसके पनि पश्चिमी नाका गड्डाचौकी हुँदै रोजगारीका लागि भारत जाने नेपालीको संख्या घटेको छैन । घटस्थापनायताका ६ दिनमा मात्रै करिब सात सय नेपाली भारतका विभिन्न सहरतर्फ लागेका छन् । १ कात्तिकदेखि दसैँ सुरु भइसकेको छ । गाउँमा नवरात्रको पूजाआजा तथा दसैँको तयारी थालिएको छ । तर, कोरोना महामारीका कारण लामो समयदेखि गाउँमा बेरोजगार बनेका युवा तथा तन्नेरीलाई दसैँको रौनकले रोक्न सकेको छैन, परिवार पाल्नै समस्या हुन थालेपछि उनीहरू भारत जान बाध्य भएका छन् । गाउँमा भोकै बस्नुपर्ने अवस्था आएपछि दसैँ छोडेर भारत जान लागेको बाजुराको खप्तसिडी गाउँपालिका– ५ का वीरसिंह खड्काले बताए । भारतमै काम गरिरहेका उनी कोरोना महामारी बढ्दै गएपछि सात महिनाअघि घर आएका थिए ।

यो सात महिनामा गाउँमा कुनै काम नपाएको उनले बताए । ‘कोरोनाबाट ज्यान बचाउन भारतबाट घर फर्केको थिएँ । कमाएर ल्याएको पैसा सकियो । गाउँमा बेरोजगारी छ । भोकै बस्नुभन्दा त उतै फर्किन लागेको छु,’ गड्डाचौकी नाकामा भेटिएका उनले भने, ‘दसैँ आए पनि हामीलाई उस्तै पीडा छ, खान–लाउनै गाह्रो हुन्छ । आठ महिनाअघि भारतबाट फर्किएका बैतडी गोठालापानीका वीरेन्द्र महरा पनि बिहीबार फेरि भारततिर लागेका छन् । ‘घरमा नुन खानलाई पैसा छैन, दैनिक घरपरिवार चलाउन धौधौ भइरहेको छ,’ उनले भने, ‘दसैँ–तिहारका वेला कसलाई घरपरिवारसँगै बस्ने रहर हुँदैन र ? तर, भोको पेटमा कसरी दसैँ बनाउने ?

सुदूरपश्चिमका पहाडी जिल्लाका मात्रै होइन, तराईका बासिन्दा पनि भारततिर लागिरहेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका– १ दैजीका उद्धवराज भट्टले दसैँको मुखमा भारत जान बाध्य भएको बताए । भारतमै रोजगारी गरिरहेका उनी ६ महिनाअघि घर फर्केका थिए । ‘उतिवेला ज्यान जोगाउन रोजगारी छाडेर घर आएँ, घरमा महामारीभन्दा बेरोजगारीले सतायो । त्यही भएर फेरि उतै जाँदै छु,’ उनले भने । विगतका वर्षहरूमा दसैँका वेला सीमानाकामा घर फर्किनेको लर्को हुन्थ्यो, यस वर्ष भने जानेहरूको पनि उस्तै लस्कर छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार कात्तिकको पहिलो साता गड्डाचौकी नाका भएर ६ सय ८१ जना भारततर्फ लागेका छन् । यो अवधिमा एक हजार दुई सय ८९ नेपाली स्वदेश फर्केका छन्। 

दसैँले पनि रोक्न सकेन : दसैँको टीका आउन तीन दिन मात्र बाँकी छ, तर रोजगारीका लागि नेपाली भारत जाने क्रम रोकिएको छैन । गरिबीका कारण पिरोलिएकाहरू दसैँ मनाउन छोडेरै कामका लागि भारत गइरहेका छन् । घटस्थापनादेखि बिहीबारसम्म कैलालीको त्रिनगर नाका भएर नेपाली र भारतीय गरी एक हजार ६ सय भारत गएका छन् । सीमामा भारत जानेहरूको तथ्यांक संकलन गरिरहेका सुरक्षाकर्मीका अनुसार तीमध्ये आधाजति कामका लागि भारत जाने नेपाली हुन् । घटस्थापना सुरु भएदेखि कामका लागि भारत जाने नेपालीको संख्या पहिलेको तुलनामा कम देखिए पनि रोकिएको भने छैन । कोरोनाका कारण स्वदेश फर्केका कतिपय काम गर्ने ठाउँबाट तत्काल फर्कनु भन्ने खबर पाएपछि दसैँ छाडेर फर्कन थालेका हुन् । नफर्किए रोजगारी गुम्ने डर भएकाले जानुपरेको उनीहरू बताउँछन् । कैलाली घोडाघोडी नगरपालिका सुखडका सुमन चौधरी त्रिनगर भन्सार नाकाबाट बिहीबार दिउँसो भारत जान हतारिँदै थिए । गाउँमा सबै दसैँ मनाउन घर फर्कँदै छन्, तर परिवार छोडेर भारत जानुपर्दाको बाध्यता उनको मलीन मुहारमा देखिन्थ्यो । ‘गाउँघरमा दसैँको उमंग छ । पाँच वर्षको छोरा, श्रीमती र आमा छोडेर आउने मन थिएन, परिवारसँगै दसैँ मनाउने रहर पनि थियो,’ सुमनले भने, ‘तर, काम गर्ने ठाउँबाट दसैँअघि जसरी पनि पुग्नु भन्ने खबर आयो ।

नजाउँ भने गर्दै आएको रोजगारी गुम्ला भन्ने डर । त्यसैले टीका लाउन नपाई फर्कँदै छु ।’ भारतको उडिसामा एक घरमा पाँच वर्षदेखि काम गर्दै आएका उनी लकडाउनका वेला स्वदेश फर्केका थिए । त्रिनगर नाकामै भेटिए बझाङ बित्थडचिर गाउँपालिका सुनकुडाका राम रावल । श्रीमती, पाँच र आठ वर्षका दुई छोरा लिएर भारतको दिल्ली जाँदै गरेका उनले दसैँ छोडेर अर्काको देश जानुपर्दा नरमाइलो लागेको सुनाए । तत्काल काममा फर्कनुपर्ने भएपछि बिरामी छोराको उपचारका लागि श्रीमतीलाई पनि साथमै लग्न लागेको उनले बताए । ‘साहुले बोलाएको–बोलायै ग¥यो । नआउने भए अर्को मान्छे राख्छु भन्न थाल्यो,’ रावलले भने, ‘त्यही जागिरका भरमा घरपरिवार पाल्नु छ । दसैँ मनाउनका लागि काम छोड्न पनि सकिएन ।’ दिल्लीको एक होटेलमा आठ वर्षदेखि कुकको काम गर्दै आएका उनी कोरोनाका कारण घर फर्केका थिए । देशमै काम पाए चाडबाड छोडेर बिदेसिने रहर कसैलाई नहुने रावलले बताए । ‘तीन दिनपछि दसैँ छ । आमा–बुबाको हातको टीका लाउने, परिवारसँग गाउँघरमै दसँै मनाउने रहर हामीलाई थिएन र ?’ उनले भने, ‘आफ्नो देशमा काम नपाउँदा चाडपर्व छोडेर महामारीका वेला अर्काको देश जानुपरिरहेको छ । भारतमा कोरोना संक्रमण फैलिएपछि त्रासले त्यहाँ काम गर्दै आएका हजारौँ नेपाली लकडाउनबीच स्वदेश फर्किएका थिए । सुदूरपश्चिममा मात्रै भारतबाट करिब साढे दुई लाख भित्रिएका थिए । तर, घरमा लामो समय बेरोजगार बस्दा गुजारा चलाउन समस्या भएपछि दसैँ छोडेर फेरि भारततिर लागिरहेका छन् ।

दसैँमा सुनसान बेलहिया नाका : दसैँ र तिहार मात्र होइन, अन्य चाडपर्वमा घर फर्किनेको भिडभाड हुने रुपन्देहीको बेलहिया सीमानाका यतिवेला भने सुनसान छ । दसैँका लागि घर फर्किने न्यून हुँदा सीमानाका सुनसान बनेको हो ।लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका सर्वसाधारण यही नाका भएर आवतजावत गर्छन् । गण्डकी प्रदेशका केही जिल्लाका बासिन्दाको पनि भारत प्रवेश गर्ने नाका यही हो । तर, यसपटक भने यो नाका सुनसान रहेको बेलहिया इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर ईश्वरी अधिकारी बताउँछन् । ‘विगतको तुलनामा दसैँका लागि घर फर्किनेको संख्या न्यून देखिएको छ,’ इन्स्पेक्टर अधिकारीले भने । दैनिक तीन–चार सयजना मात्रै आइरहेको उनले बताए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वदेश फर्किनेको संख्या एकदम कम रहेको यातायात व्यवसायी सूर्यकुमार सारुमगरले बताए । सप्तमीदेखि गाडीको क्यु फ्री हुने भए पनि यसपटक भने दुई गाडी पनि नभरिने गरेको उनले बताए । त्यस्तै, लकडाउनका समयमा धेरै नेपाली फर्किसकेकाले पनि अहिले आउनेको संख्या कम भएको उनको भनाइ छ ।

दसैँ मान्न खाली हात घर फर्किंदै : प्युठानका जीवन नेवार ११ वर्षदेखि भारतको केरलामा ठूला–ठूला घर बनाउने काम गर्दै आएका छन् । उनी सधैँ दसैँमा पैसा बोकेर घर फर्किन्थे । तर, यसपटक कोरोना संक्रमणले गर्दा बल्लतल्ल ज्यान मात्रै जोगाएर स्वदेश फर्किएका छन् । पूर्वी नाका काँकडभिट्टा हुँदै स्वदेश फर्किएका जीवनले महामारी सुरु भएयता काम नपाएको बताए । खुट्टा सुन्निने रोगबाट पीडित उनले भने, ‘दसैँ पनि आयो, घर पनि जान्छु । उतै उपचार गर्छु भनेर फर्किएँ । यसपटक पैसा भएन, यहाँसम्म पुग्न पनि साथीभाइले सहयोग गरे । झापा अर्जुनधाराका लालबहादुर दर्जी भारतको सिक्किमस्थित एक होटेलमा सेफको काम गर्थे । उनले कमाएको पैसाले परिवारमा खान पुगेकै थियो । तर, कोरोना महामारीसँगै उनको जागिर गुम्यो । सात महिना काम खुल्छ कि भन्दै पर्खेरै बसेको उनले बताए । तर, होटेल खुलेन । बेखर्ची बनेका लालबहादुरले घर फर्कनकै लागि मजदुरी गरे । तीन हजार कमाएर घर फर्किएको उनले बताए । काँकडभिट्टा नाकामा भेटिएका उनले भने, ‘अब गोजीमा तीन सय छ । यतिले त घर पुग्छु होला नि !’ 

त्यस्तै, झापाको हल्दिबारी–३ की शोभा राई केरलामा डेढ वर्षदेखि कृषि फर्ममा काम गर्थिन् । कोरोना महामारीसँगै फर्मले पैसा नै दिन छाड्यो । केही महिनाअघि नै स्वदेश फर्कन चाहेकी उनी घर फर्कनेसमेत पैसा नभएकाले आउन सकिनन् । अझै केही महिनाको तलब लिनै बाँकी छ । ‘केरलामा आफन्त छन् । पैसा दिएपछि पठाउँछु भनेका छन् । त्यही आसमा बल्लतल्ल आफ्नै घर आइपुगेँ,’ काँकडभिट्टास्थित होल्डिङ सेन्टरमा भेटिएकी उनले भनिन्, ‘कोरोनाले भारतमा धेरै दुःख पाइयो । धन्न बाँचेरचाहिँ आफ्नै देश आउन पाएँ ।’ उनीहरूजस्तै स्वदेश फर्केका अधिकांश नेपाली रित्तो हात आएका छन् । नेपाल भित्रिन काँकडभिट्टास्थित हेल्पडेस्कमा नाम टिपाउँदै भारतबाट फर्कने नेपाली । काँकडभिट्टा भएर फाट्टफुट्ट मात्रै भारत गइरहेका छन् । भारतीय नागरिक, विद्यार्थी तथा अस्पताल जाने मात्र गइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । भारतबाट आउने पनि कम मात्रै मजदुर छन् । यो नाकामा अन्य नाकाजस्तो काम गरेर फर्कनहरू नरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख सइ राजेन्द्र पोखरेलले बताए । ‘दैनिक दुई सयको हाराहारीमा आवतजावत भइरहेको छ,’ सइ पोखरेलले भने, ‘तर, मजदुरचाहिँ अरू नाकामा जस्तो छैनन् । कमै मात्र छन् ।

Leave a Comment