![]()
नेपालमा कोरोना बन्दैछ भयावह: सङ्क्रमित ७३ हजार नाघ्यो ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले नेपाललाई पनि अत्यन्तै प्रभावित बनाएको छ । यसैबीच आजबाट नेपालमा कोरोना संक्रमितहरुको संख्या ७३ हजार नाघेको छ । हप्ताको पहिलो दिन आज आइतबार नेपालमा थप १५ सय ७३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अपरान्ह मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ७३ जना कोरोना संक्रमित देखिएको जानकारी दिनु भएको हो ।
उहाँका अनुसार नयाँ थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । २४ घन्टामा १० हजा १ सय २३ पीसीआर परीक्षण गरिएको हो ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ । आज थप १० जनाको मृत्यु भएको छ, यो सँगै कुल मृतक संख्या ४७७ पुगेको छ ।