राजनीतिक दाउपेच स : मनीषा कोइराला भन्छिन् मैले बीपीको अस्तुको वर्षौ पूजा गरे

Loading

PeoplesNews : Kathmandu/ मेरो जन्म काठमाण्डूमा भए पनि बाल्यकाल काठमाण्डू र बनारस दुवैतिर बित्यो । बनारसमा हुँदा होस् वा काठमाण्डूमा, मैले धेरै समय सुशीला आमा (बीपी कोइरालाकी पत्नी सुशीला कोइराला) सँग बिताएँ । ‘मेलमिलाप नीति’ लिएर नेपाल फर्किनुअघि बाबा (बीपी कोइराला) बनारसमा पनि आउने गर्नुहुन्थ्यो । मलाई त्यस बेलाको केही सम्झना अहिले पनि छ । ‘हावाहुरी’ जस्तो आगमन : उहाँ घर (बनारस वा काठमाण्डू) मा आउँदा ‘हावाहुरी’ जसरी आउने गर्नुहुन्थ्यो । ‘हावाहुरी’ जसरी मैले किन भनेकी भने उहाँ आउँदा धेरै कार्यकर्ता र पार्टीका मान्छे पनि सँगै आउँथे । भेट्न आउनेको पनि लर्को हुन्थ्यो । फेरि उहाँ गएपछि घर ‘आँधीपछिको सन्नाटा’ जस्तो सुनसान हुन्थ्यो । बाबा आउँदा एकछिनका लागि के भयो के भयो जस्तो अर्कै वातावरण बन्थ्यो । सुशीला कोइरालाको उत्तर : जब बीपी घर आउनुहुन्थ्यो र जानुहुन्थ्यो मलाई उहाँबारे बुझ्न मन लाग्थ्यो । अनि लुटपुटिँदै सुशीला आमालाई सोध्थेँ, “सुशीला आमा,

बीपी बाबाको सबैभन्दा ठूलो कुरा के हो ? सुशीला आमा भन्नुहुन्थ्यो, “उहाँ आफ्नो बारेमा मात्र सोच्नुहुन्न, देश र जनताका लागि सोच्नुहुन्छ । उहाँले सबैलाई चित्त बुझाएर निर्णय गर्नुहुन्छ । उहाँले सबैलाई कुरो बुझाउन सक्नुहुन्छ । उहाँको आगमन र सुशीला आमाका कुरा सुनेपछि बाबाप्रति त्यसै बेला पनि सम्मान बढेर आउँथ्यो । उहाँ मेरो हजुरबा नै भए पनि किनकिन त्यसै बेला मलाई उहाँ महान् हुनुहुन्छ जस्तो लाग्थ्यो । त्यो सम्भवतः म सुशीला आमासँग धेरै निकट भएर भएको होला । पहिलो सन्देश : बीपी घरमा आउँदा बाल्यकालमै मैले पाएको पहिलो सन्देश भनेको नारी होस् वा पुरुष सबै बराबर हुन् भन्ने हो । त्यो सन्देश कसरी मैले पाएँ भन्ने पनि एउटा रोचक घटना छ । घर आएका बेला एक दिन अलि एकान्तजस्तो भएको थियो । कार्यकर्ता र अन्य मानिसहरू खासै थिएनन् । त्यस बेला बाबाले सुशीला आमाको गोडा दबाइदिएको मैले देखेँ । मैले अचम्म मानेर बीपीलाई सोधेँ, “बाबा तपाईँले

किन सुशीला आमाको गोडा दबाइदिनुभएको ? उहाँको जबाफ थियो: “किनकि म उहाँलाई असाध्यै माया गर्छु। कहिलेकाहीँ मात्र भेट्न पाउँछु नि त! उहाँको गोडा दबाएर म सानो मान्छे हुन्न नि ! उहाँको यो भनाइले मेरो बाल मस्तिष्कमा ‘महिला र पुरुष बराबर हुन्’ भन्ने छाप पारिदियो । यसै पनि कोइराला परिवारभित्र महिला र पुरुषलाई विभेद गर्ने चलन थिएन र छैन पनि । बीपीकी प्यारी नातिनी : म पहिली नातिनी भएर पनि हुनसक्छ बीपीले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । म उहाँलाई बाबा भन्थेँ। उहाँले माया गरेर मलाइ ‘मुझु’ वा ‘मनी’ भन्नुहुन्थ्यो। कहिलेकाहीँ मनीषा पनि भन्नुहुन्थ्यो । उहाँलाई केटाकेटीसँग कुरा गर्न खुब मन पर्थ्यो। कुराकानी हुँदा ‘उपन्यास पढ्नू’ भन्नुहुन्थ्यो। खेलकुदमा पनि प्रोत्साहन गर्नुहुन्थ्यो । उहाँले मलाई भनेको सम्झना छ: “म सबैभन्दा धेरै सुशीलालाई माया गर्छु, त्यसपछि तँलाई गर्छु । अन्तिम दिनहरू : मलाई बीपीका अन्तिम दिनहरूको पनि सम्झना छ ।  त्यस बेला हामी चाबहिलको घरमा बस्थ्यौँ ।

त्यहाँ बसुन्जेल हाम्रो परिवार संयुक्त थियो। फराकिलो कम्पाउन्ड र बगैँचा भएको घरको पहिलो तलामा बीपी बस्नुहुन्थ्यो । उहाँको घाँटीमा क्यान्सर थियो। त्यसले गर्दा एकापट्टि दुलो परेको थियो । त्यो घाँटीको दुलोमा प्रत्येक दिन सफा गर्नुपर्थ्यो । तर म त्यो सफा गरिदिन सक्ने भएकी थिइनँ, सानै थिएँ । त्यसपछि चेतना दिदी (बीपी कोइरालीकी छोरी, मेरी फुपू) अनि म भएर त्यो घरको पहिलो तलामा डिटोल-पानीले सफा गर्थ्यौँ । राष्ट्रिय मेलमिलापको नीति लिएर उहाँ नेपाल आएदेखि नै निकै गल्दै जानुभएको थियो सायद । दाहसंस्कारमा सहभागी हुन पाइनँ : सुशीला आमासँग म बनारसमा थिएँ । त्यसै बेला उहाँ बित्नुभएको खबर आयो । मलाई बनारसमै छाडेर सुशीला आमा नेपाल आउनुभयो । म कोसँग बनारसमा नै बसेँ मलाई अहिले सम्झना छैन । तर मैले बीपीको अन्तिम दर्शन गर्न पाइनँ ।

पछि सुशीला आमा बित्दा पनि म दाहसंस्कारमा सहभागी हुन पाइनँ । म जोसँग सबैभन्दा नजिक थिएँ (गला अवरुद्ध पार्दै) उहाँकै दाहसंस्कारमा सहभागी हुन सकिनँ । बीपीको अस्तु : बाबा बित्नुभएको करिब एक दशकपछि मैले बलीवुडमा करीअर बनाउने विचार गरेर मुम्बई जाने निर्णय गरेँ । त्यस बेला मैले आफूलाई धेरै आवश्यक पर्ने कुराहरू घरबाट लिएर गएकी थिएँ । तीमध्ये एउटा सानो चाँदीको डिब्बामा रातो कपडाले बेरेर राखेको वस्तु मेरा लागि निकै महत्त्वपूर्ण थियो । त्यो बाबाको अस्तु थियो। त्यो मलाई सुशीला आमाले दिनुभएको थियो । मुम्बई जाँदा पनि मैले बाबाको अस्तु लगेँ। अनि आफ्नो फ्ल्याटको एउटा कुनामा जतनसँग राखेँ । मैले वर्षौँसम्म पनि त्यो अस्तुलाई पूजा गर्थेँ। केही असहज अवस्था आयो कि म “बाबा, मलाई बाटो देखाइदिनूस्” भनेर निकै बेर अस्तुअगाडि हात जोडेर उभिन्थेँ । खासमा अरूले घरमा देवीदेवताको पूजा गरे झैँ म मेरा हजुरबाको अस्तुको पूजा गर्थेँ । यो सिलसिला मुम्बई गएपछि पनि पाँच-सात वर्षसम्म चल्यो ।

त्यसपछि चाहिँ एक दिन मैले मुम्बईमै समुद्र किनारामा लगेर विधिपूर्वक नै उहाँको अस्तु सेलाइदिएँ । सायद सानैदेखि बीपीलाई मैले भगवान्‌सरह मानेकाले पो हो कि? उहाँको यादले मात्र पनि मलाई सधैँ हौसला दिइरह्यो । तर उहाँ जीवित हुन्जेल एक भएको कोइराला परिवार उहाँको निधनपछि छुटीभिन्न भयो । पार्टीको अवस्था पनि त्यस्तै भयो। त्यो देखेर दु:ख लाग्छ । बीपीकी नातिनी : म पछिल्ला वर्षहरूमा नेपालका धेरै गाउँहरूमा जान थालेकी छु । विभिन्न गतिविधि र कामका लागि गाउँगाउँ जाँदा मलाई विशेषगरी ‘बुज्रुग’ मानिसहरूले बीपी कोइरालाकी नातिनी भनेर चिन्नुहुन्छ । नजिकै आएर शिरमा हात राखेर आशिष दिनुहुन्छ, माया गर्नुहुन्छ । कतिलाई लाग्दो हो- आफ्नै पहिचान बनाएको मान्छेलाई अर्काको नाउँबाट किन चिनिनू ? तर यो सबै ‘अहम्’को कुरा हो। मलाई त बीपी कोइरालाकी नातिनी भनेर कसैले चिन्दा निकै गर्व लाग्छ, बीपीको परिवारमा जन्मिएछु भनेर खुसी लाग्छ । मैले उहाँका कारण माया पाए जस्तो लाग्छ ।

एक्ला बृहस्पति : केही दिनअघि मैले बाबाको तस्बिर राखेर ‘म एक्लो बृहस्पति भएँ’ भनेर ट्वीट गरेकी थिएँ । त्यो बाबाकै भनाइ हो। उहाँले जीवनका अन्तिम समयमा यो कुरा लेख्नु भएको हो । उहाँले आफ्नो परिवार र नजिकका मान्छेका साथै पार्टीका साथीहरूले पनि आफ्नो कुरा बुझेनन् भनेर त्यसो भन्नुभएको रहेछ । त्यो बुझ्नका लागि मलाई निकै समय लाग्यो । अहिले आएर उहाँका कतिपय पुस्तकहरू पढ्दै गर्दा धेरै कुरा बुझ्दैछु । उहाँलाई जसले पनि आजको जस्तो दिन (जन्मजयन्ती) मा मात्र सम्झिन्छन् । तर के हामीले उहाँको नीति, मूल्य र मान्यतालाई पछ्याएका छौँ ? के नेपाली काङ्ग्रेसले पछ्याएको छ? नेताहरूले पछ्याएका छन्? यो मनन गर्नुपर्ने विषय हो । सक्रिय राजनीति गर्दिनँ होला’ : मेरो जन्म नै यस्तो परिवारमा भयो कि मैले चाहेर पनि राजनीतिबाट छुटकारा पाउन सक्दिनँ । हामीले खेलौनासँग रमाउने केटाकेटी उमेरमा नै राजनीतिका कुरा सुन्यौँ । हातमा खेलौना हुँदैनथ्यो तर घरमा राजनीतिक बहस हुन्थ्यो । त्यसैले गर्दा राजनीतिसँग सम्बन्धित विषयको प्रश्नले मलाई पक्कै पनि कहिल्यै छाड्दैन । तर सक्रिय राजनीतिमा जानेबारे मैले अहिले सोचेकी छैन। सायद म लाग्दिनँ पनि होला । बीपी कोइरालाबाट सिक्नुपर्ने कुरा : बीपीबाट अहिलेको पुस्ताले सिक्नुपर्ने कुरा धेरै छन् । सबैभन्दा पहिलो कुरा त ‘म नेपाली हुँ’ भन्ने सबैले ठान्नुपर्‍यो ।नेपाली हुनुमा सबैले गर्व गर्नुपर्‍यो। हामी आफू काम गर्दैनौँ तर अरूले गरेन भनेर मात्र दोष देखाउँछौँ । सरकारले गरेन भन्छौँ। त्यसो भन्ने भन्दा पनि ‘मैले देशलाई के दिएँ?’ भनेर सोच्नुपर्छ । आफू असल भए देश पनि बन्छ, समाज पनि बन्छ। Link

Leave a Comment