फुडबैंक सरकारद्वारा किन बन्द गराए ?

Loading

Peoples News : काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणाले नेपाल तरुण दल ललितपुर क्षेत्र नं. १ ले सञ्चालन गरेको फुड बैंकमा प्रशासनले रोक लगाएकोमा आपत्ति जनाएका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले सरकारी तहबाट कुनै राहत नपाइरहेका बेला नागरिकस्तरबाटै भइरहेका राहत वितरणका कार्यक्रमलाई प्रोत्साहन गर्नुको साटो रोक लगाउन प्रशासनको निन्दनीय कार्य भएको बताए ।

‘कोही पनि भोकै नरहुन्’ भन्ने पवित्र मनसायले नेपाल तरुण दल क्षेत्र नं १ ललितपुरले स्थानीय तहसँगको समन्वयनमा भाद्र ९ गते देखि चापागाउँमा ‘फुड बैंक’ कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गर्दै राणाले ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने मानवीय अभिप्रायबाट सुरु गरिएको फुड बैंक सञ्चालनमा प्रशासनले रोक लगाएकोमा आक्रोश व्यक्त गरे ।

तरुण दलको पूर्व अध्यक्ष समेत रहेका राणाले भने, ‘यो कार्यक्रम ललितपुरमा मात्र सीमित नभएर देशभर चर्चामा आयो । सामाजिक दूरी कायम गर्दै नेपाल तरुण दलले सामाजिक सेवाभावले सुरु गरेको फुड बैंक कुनै राजनीति अभिप्रायबाट प्रेरित थिएन । तर प्रशासनले यसमा रोक लगाउन अत्यन्तै निन्दनीय मात्र होइन, मानवीय संवेदनाहीन कार्य हो । म सरकारको गैरजिम्मेवारपूर्ण कार्यप्रति खेद व्यक्त गर्दछु ।’

उनले सरकारी तहबाट सञ्चालित हुनुपर्ने कार्यक्रम नागरिकस्तरबाट स्वतफूर्तरुपमा सञ्चालन गर्दा राज्यले त्यसमा हौसला बढाउनुका साँटो अमूक राजनीतिक दलको प्रभावमा प्रशासन लगाएर पवित्र कार्यमा रोक लगाउनु कति न्यायोचित होला भन्दै प्रश्न गरे ।

नेपाल तरुण दल क्षेत्र नं. १ ललितपुरले सुरुवात गरेको फुड बैंकको अवधारणाको सिको गर्दै देशका विभिन्न जिल्लामा यही प्रकृतिको अभियान सुरु भइरहेका छन् ।

ललितपुरमा भने प्रशासनले बिना कुनै कारण फुड बैंक सञ्चालनमा रोक लगाएको उनको आरोप छ ।

कोरोना कहरका कारण समस्यामा परेका हरकोही नागरिकको सेवा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै नेता राणाले काँग्रेसका नेता कार्यकर्तालाई स्थानीय सरकारसँग समन्वय गर्दै राहत वितरणमा जुट्न निर्देशन दिए ।

उनले राजनीतिक आस्थाका आधारमा विभेद नगर्न पनि प्रशासनलाई चेतावनी दिएका छन् ।

Leave a Comment