![]()
पार्टीको झण्डा बोकेर नाराबाजी गर्दै पत्रकार तथा जिल्ला समन्वय समितिका एक कर्मचारी ।
PeoplesNews ; कोरोना भाइरसको विश्वव्यापी महामारी चलिरहेको समय छ । काठमाडौ लगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने निषेधाज्ञा नगरिएका जिल्लामा उच्च स्वास्थ्य सतर्कता अपनाउन र भिडभाड तथा कुनै सभा , सम्मेलन नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । तर कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको दोलखाको सदरमुकाम चरिकोटमा हिजो( भाद्र २०) अनौठो दृश्य देखियो । जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय वरिपरि नै नेपाली काङ्ग्रेससँग आवद्ध लगभग ४० नेता तथा कार्यकर्ताहरु चर्को नाराबाजी गरेर बृहत कार्यक्रम आयोजनामा गरिरहेका थिए । प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय निरीह बनेर शान्ति सुरक्षामा खलल पुग्यो भन्न समेत सकिरहेको थिएन । भिमेश्वर नगरपालिका क्षेत्र भित्र पर्ने सदरमुकाम चरिकोटमा सङ्क्रमण जोखिम न्यूनीकरण गर्नु तथा शान्ति सुरक्षा कायम गर्नु नगरपालिकाको पनि दायित्व हो ।
अर्को अनौठो कुरा त के थियो भने नेपाली काङ्ग्रेसको सो कार्यक्रममा झण्डा बोकेर चर्को नाराबाजी गरिरहेका थिए , मध्याह्न राष्ट्रिय दैनिकका दोलखा जिल्ला संवाददाता तथा जिल्ला समन्वय समितिका कर्मचारी राजन बस्नेत । सरकारी तलब भत्ता खाने बस्नेतको हर्कत अशोभनीय देखिन्थ्यो । सञ्चार माध्यम मार्फत निष्पक्ष पत्रकारिता गर्नुपर्ने बस्नेत एउटा पार्टिको झण्डा बोकेर एउटा पार्टिको झोले कार्यकर्ता बाहेक केहि बन्न नसकेको प्रष्ट देखिन्छ । जिल्ला समन्वय समिति मार्फत भिडभाड नगर्न सुझाव दिनुपर्नेमा उल्टै भिडको नाइके बनेर चर्को स्वरमा जिन्दावाद र मुर्दावादको नारा लगाउने पार्टी निकट कर्मचारी र पत्रकारले देशको गरिमामा आँच पुर्याउने काम नगर्लान भन्न सकिन्न । त्यसैले यस्ता व्यक्ति विरुद्ध कानुनी उपचार तथा हरेक तहमा निलम्बनको छिटो प्रबन्ध गरियोस् । शान्ति सुरक्षा कायम गर्न नसक्ने प्रहरी कार्यालय तथा प्रशासकको पनि निलम्बन छिटोभन्दा छिटो गरियोस् ।