![]()
PeoplesNews : अमेरिकी राज्य विस्कन्सिनको केनोसा सहरमा फैलिएको हिंसात्मक प्रदर्शन नियन्त्रणका निम्ति थप सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । एक अश्वेत पुरुष जेकब ब्लेकलाई प्रहरीले आइतवार गोली हानी गम्भीर घाइते बनाइदिएपछि त्यहाँ लगातार हिंसात्मक प्रदर्शन भएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले केनोसामा तीन रातसम्मको अशान्तिपश्चात् शान्ति स्थापनाका लागि सङ्घीय अधिकारीहरू परिचालन गर्ने घोषणा गरेका हुन् । उनले “अमेरिकाका सडकमा लुटपाट, आगजनी, हिंसा र कानुनहीनता” नियन्त्रण गर्न त्यो गरिएको भन्दै ट्वीट गरेका छन् । पोर्ट्ल्यान्ड, मिनीयापलिस, मिनिसोटा र ओरगनजस्ता अन्य सहरमा पनि विरोधप्रदर्शनहरू भएका छन् । ती सहरमा गत मे महिनामा एक प्रहरीले जोर्ज फ्लोइड नामक एक निःशस्त्र अश्वेव पुरुको हत्या गरेपछि चर्को विरोध भएको थियो। त्यसपछि अश्वेत व्यक्तिहरूलाई भेदभाव भएको भन्दै अमेरिका र विश्वभरि ‘ब्ल्याक लाईभ्स म्याटर’ अभियान चल्यो।

केनोसा सहरमा मङ्गलवार राति भएको हिंसाका बेला गोली हानी दुई जनाको हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। ती १७ वर्षीय व्यक्ति छिमेकी इलिनोय राज्यका हुन् । आइतवार भएको घटनामा २९ वर्षीय जेकब ब्लेकलाई प्रहरीले उनका केटाकेटीअगाडि नै गाडीमा गोली हानिदिएका थिए । उनी अहिले अस्पतालमा उपचाररत छन्। तर उनले अब हिँडडुल गर्न नसक्ने बताइएको छ । विस्कन्सिन राज्यका महान्याधिवक्ताले ती व्यक्तिलाई गोली हान्ने प्रहरीको नाम सार्वजनिक गरेका छन् । उनका अनुसार ब्लेकको गाडीमा एउटा चक्कुबाहेक अन्य हतियार भेटिएको थिएन । ब्लेकमाथि आइतवार गोली प्रहार भएको केही घण्टापश्चात् केनोसाको प्रहरी मुख्यालयअगाडि सयौँ मानिसले विरोध प्रदर्शन गरे। प्रदर्शन जारी रहँदा गाडीहरूमा आगजनी भयो तथा सशस्त्र लुटपाटका विवरणहरू आए। लगत्तै रातभरि कर्फ्यू घोषणा गरियो।
प्रहरीले अश्रुग्यास तथा रबरका गोली प्रयोग गरेको प्रदर्शनकारीहरूको भनाइ छ । मङ्गलवार सयौँ प्रदर्शनकारीहरू सहरमा निस्किएका थिए। एउटा सानो समूहले पटाका तथा पानीका बोतल प्रहरीतर्फ फ्याँकेका थिए भने प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । विस्कन्सिन प्रहरी सङ्घले बीबीसीलाई बताएअनुसार त्यहाँ केही व्यक्ति तथा समूहले भिजिलान्ते व्यवहार गरेका छन् किनकि सुरक्षाकर्मीहरू धेरै ठाउँमा परिचालित हुनुपरेको छ । ……..